रवि लामिछानेको राहदानी विवाद सर्वोच्चमा : प्रवक्ता भन्छन् - रिट अध्ययनकै क्रममा
काठमाडौं : राहदानीको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको रिट सर्वोच्च अदालत पुगेको छ । अमेरिकी नागरिक रहेको अवस्थामा नेपालको राहदानी लिएको भन्दै नेपाली नागरिकको तर्फबाट युवराज सफल सर्वोच्च अदालत पुगेका हुन् ।
उनले सर्वोच्च अदालत र निर्वाचन आयोगको नाममा अन्तरिम आदेश माग गर्दै लामिछानेमाथि राहदानी मुद्दा चलाउन माग गरेका छन्। यसअघि प्रहरी र महान्यायाधिवक्ताको कार्यालयले राहदानी विषयमा लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो।
दायर गरेको रिटमा भनिएको छ,‘नागरिकता ऐन, २०६३ को दफा ११ र नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिमको प्रक्रिया पुरा गरी निस्सा पेश गरी रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका हुन् होइनन एकीन गर्न सोसँग सम्बन्धित सम्पूर्ण दस्तावेजहरू मिति तोकी विपक्षीहरूबाट पेश गर्न लगाइ दोहोरो छलफल नभएसम्म सर्वोच्च अदालतको मिति २०७९ माघ १३ को निर्णय प्रतिकूल हुने गरी कुनै पनि कार्य नगर्नु नगराउनु र निज लामिछानेलाई नेपाली नागरिकको रुपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनि सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरुका नाममा अन्तरिम आदेश जारि गरी पाउँ ।’
सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले लामिछानेविरुद्ध प्राप्त भएको रिट अध्ययनको क्रममा रहेको र अझै दर्ता नभएको बताए । पौडेलले अन्नपूर्णसँग भने,‘लामिछानेविरुद्ध रिट प्राप्त भएको छ । रिटमाथि अध्ययन भइरहेको छ । ’
यसअघि लामिछाने नागरिकता विवादमा मुछिएपछि उनको सांसद पद समेत गुमेको थियो।