घरमाथि ट्याक्टर खस्दा सुतिरहेका युवकको मृत्यु
बागलुङ : बागलुङमा मंगलबार राति घरमाथि ट्याक्टर खस्दा सुतिरहेका युवकको मृत्यु भएको छ । बागलुङको बडिगाड गाउँपालिका–२ खर्बाङदेखि गलकोट नगरपालिका–३ हटिया बजार आउँदै गरेको ध १ त ५०९ नम्बरको ट्याक्टर गलकोट नगरपालिका–११ मनेवाफाटमा सडकदेखि तल रहेको घरमाथि पल्टिदा सुतिरहेका पूर्वी नवलपरासीका २३ वर्षीय दिपेश सलामीको च्यापिएर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख मिनबहादुर खड्काले जानकारी दिए ।
ट्रफिक प्रहरी कार्यालय बागलुङका प्रमुख खड्काले स्थानीय होम बहादुर सिङ्जालीको घरमा सुतिरहेका सलामीको घटनास्थलमै मृत्यु भएको बताए । मृत्तक सलामी मामाघर आएका थिए । दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रमुख खड्काले बताए ।
उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।