बाजे-नाती उमेरका बीच डोको बुन्ने प्रतियोगिता
ताप्लेजुङ : चैतको महिना । ह्वात्तै बढेको दिउँसोको गर्मी । सदरमुकाम नजिकको खाली जग्गामा मान्छेको गोलो घेरा छ । घेराभित्र पाल ओछ्याइएको छ । पालमाथि १५ देखि ७६ वर्षका वृद्ध टुक्रुक्क बसेका छन् । सबैको दायाँ बायाँ चोया छ । अनि घरेलु हतियार (खुकुरी र कर्त) । छेउमा पानीको बोतल । गोलो घेरामा उभिएर हेर्नेहरुको चर्को हल्ला ।
निर्णायक खड्ग लावुङले चारैतिर हेर्दै भने,‘रेडि !’ सहभागीले पनि भने,‘हामी पनि रेडि !’ लगत्तै निर्णायकले सिटी फुके । अनि सुरु भयो,डोको बुन्ने प्रतियोगीता । प्रतियोगीतामा थिए,१४ वर्षीय बालक दीपक लाबुङ । फुङलिङ नगरपालिका–९ का लाबुङ एसईई परिक्षाअन्तर्गत विज्ञान विषयको परिक्षा दिएर प्रतिस्पर्धा गर्न आएका हुन् । अघिल्लो वर्ष पनि उनको सहभागीता थियो । कुराकानी गर्दै उनले भने,‘परिक्षा दिएर सिँधै यहाँ आए । आयोजकले नै खानाको व्यवस्था गर्यो ।’ आफ्ना लागि हार र जित भन्दा पनि सिपको जित भएको उनले बताए ।
सँगै थिए,७६ वर्षीय राम वहादुर सुनुवार पनि । फुङलिङ नगरपालिका–३ का सुनुवार उमेरमा डोको डालो बुन्न खप्पिस थिए । बुढ्यौली उमेरमा पनि उनको जाँगर लोभलाग्दो थियो । सेतै फुलेका कपाल । चाउरिएका गाला । चोयाले लागेर शिरको ढाको टोपी छड्के परेको थियो । उनलाई चेते गर्मीको कति पनि मतलब छैन् । उनले भने,‘खोला किनार नजिक घर भएकाले त्यति गर्मी महसुस भएको छैन । ३ घण्टा हिडेर यहाँसम्म आए ।’ उनले स्थानिय रेडियोबाट डोको बुन्ने प्रतियोगीता थाहा पाएको सुनाए । गर्मीमा चोया छिटो सुक्छ । उनले तिर्खा मेटाउन र चोया भिजाउन त्यही पानी प्रयोग गर्थे । पानी आयोजकले नै व्यवस्था गरेको हो ।
डोको बुनेर मात्र हुँदैन । मापदण्डअनुसार भए नभएको चेकजाँच हुन्छ । त्यही भएर डोकोको मुख र पिँधको लम्बाई र चौडाई निर्धारण गरेको थियो । निर्णायक लाबुङले भने,‘तोकेको समयभित्र सकेर मात्र हुँदैन् । नियमअनुसार तयार गर्नुपर्छ ।’ प्रतियोगीतामा फुङलिङ नगरपालिकाका धन वहादुर गुरुङ प्रथम भए । उनले नगद १० हजार प्राप्त गरे । फुङलिङकै लक्ष्मण गुरुङ दोश्रो र सिदिङमा गाउँपालिका महेलेका काली वहादुर गुरुङ तृतीय बने । दोश्रो र तेश्रोले क्रमश पाँच हजार र दुई हजार रुपैयाँ प्राप्त गरे । सहभागीलाई जनही ५ सयका दरले सान्तवना पुरस्कार प्रदान गरे ।
गाउँघरमा घाँस दाउरा र पधेँरोबाट पानी भरिएको गाग्री बोक्न डोको प्रयोग हुन्छ । त्यहीभएर किसानको दैनिकी डोकोसँग जोडिएको छ । तर डोको बुन्ने सिप नयाँ पुस्तामा पुस्तान्तरण हुन सकेको छैन् । मौलिक सिपको संरक्षण र डोकोको महत्व दर्शाउन प्रतियोगीता आयोजना गरिएको हो । नेपाल घरेलु तथा साना उद्योगका महासचिव हर्कराज गुरुङका अनुसार व्यवहारिक शिक्षाका लागि डोको बुन्ने प्रतियोगीता गरिएको हो । गुरुङले भने,‘डोको कसरी बन्छ । यसको महत्व के हो ? कम्तीमा सुनेर होइन,हेरेर बुझ्न संम्भव बन्यो ।’ गाउँघरमा पाइने निगालो,मालिङगो,बास र पर्याङको चोयाबाट डोको,डालो,थुन्से लगायत घरायसी सामान तयार हुन्छ । यो निकै बलियो हुन्छ । प्लास्टिकबाट बनेको सामाग्रीले वातावरण प्रदूषण गर्छ ।
वातावरणमा कुनै असर नगर्ने र सस्तो मूल्यमा पाइन्छ । तर डोको बुन्ने सिप नहुनु र युवा पुस्ताले झन्झट मान्ने गरेकाले भविष्यमा डोकोको भविष्य नै संकटमा छ । त्यही भएर उद्यमी उत्पादन गर्न महत्वपूर्ण हुने आशा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमूख युवराज घोरसाईले बताए । उनले भने,‘मेला र महोत्वस उद्यम र उद्यमीको जमघट गर्ने थलो हो । रचनात्मक हुन सके स्थानिय उत्पादनबाट आम्दानी गर्न गाह्रो छैन् ।’ प्रदेश सांसद खगेनसिंह हाङगामले डोको बुन्ने प्रतियोगीता उद्यम गर्नेका लागि अध्यन गर्ने थलो भएको बताए । सांसद हाङगामले भविष्यमा स्थानिय,प्रदेश र संघिय सरकारले उद्यमी उत्पादन गर्ने रचनात्मक कार्यक्रमका लागि लगानी गर्न कन्जुस्याँई गर्न नहुने खाँचो औल्याए ।