क्रिप्टोकरेन्सीमा लगानी गरे व्यक्ति र मुलुक खतरामा
विभिन्न मुलुकले क्रिप्टोकरेन्सीसम्बन्धी फरक–फरक कानुनी तथा नीतिगत व्यवस्था अंगीकार गरेका छन्। बेलायतको केन्द्रीय बैंक, बैंक अफ इङ्ल्यान्डले क्रिप्टोकरेन्सीलाई निजी रूपमा जारी गरिएको डिजिटल सम्पत्तिको रूपमा परिभाषित गरेको छ।
काठमाडौं : पछिल्लो समय सरकारले गैरकानुनी भनिएको क्रिप्टोकरेन्सीमा लगानी गरे व्यक्तिसँगै मुलुक नै खतरामा पर्ने निचोड निकालिएको छ। नेपाल राष्ट्र बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन तथा अभ्यासलाई आधार मानी गरेको ‘क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण’ अध्ययनले नेपालका लागि यो उच्च जोखिमयुक्त भएको निचोड निकालेको हो।
केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार क्रिप्टोकरेन्सीबाट समग्र आर्थिक असन्तुलन हुनेलगायतका दर्जन जोखिम देखिएको छ। यतिमात्रै होइन सर्वसाधारणले यस्तो मुद्रामा लगानी गर्दा मुलुकको वित्तीय स्थायित्व नहुने, मौद्रिक नीति कार्यान्वयन नहुने, विदेशी विनिमय सञ्चितिमा नकारात्मक असर पर्न सक्ने जोखिम रहनेछ। सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानीमा जोखिम, वित्तीय ग्राहक संरक्षणसम्बन्धी जोखिम, लगानीको असुरक्षा हुनेसम्बन्धी जोखिम रहने औंल्याइएको छ। त्यसैगरी, ठगी तथा कर छलीसम्बन्धी जोखिम, अन्तर्राष्ट्रिय संघसंस्थासँगको सहकार्यविरुद्ध हुने सम्बन्धी जोखिम र वित्तीय मध्यस्थता नहुनेसम्बन्धी जोखिम रहने औंल्याइएको छ। यस्ता जोखिम रहने हुँदा राष्ट्र बैंकले विगतदेखि लगाउँदै आएको प्रतिबन्ध कायमै राख्न उचित रहेको ठहर गरेको हो।
‘यसर्थ क्रिप्टोकरेन्सी कारोबारबाट देशलाई मात्र नभई यसमा संलग्न व्यक्ति÷लगानीकर्तालाई समेत जोखिम रहने हुन्छ। क्रिप्टोकरेन्सीमा कुनै पनि सुरक्षण नहुने, वित्तीय मध्यस्थकर्ता नहुने तथा सट्टेबाजी प्रयोजनबाहेक अन्य कुनै पनि उपयोगिता नहुने र केही निश्चित समूह मिली स्वार्थका लागि मात्र जारी÷प्रयोग हुने गर्दछ,’ प्रतिवेदनमा उल्लेख छ।
नेपालले २०७४ साउन २९ गतेदेखि नै क्रिप्टोकरेन्सीलाई गैरकानुनी भन्दै लगानी नगर्न सजग गर्दै आएको छ। क्रिप्टोकरेन्सीमा लगानी हुँदा विदेशमा लगानी भई पुँजी पलायन हुन जानेछ। विदेशी विनिमय ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउँदै आएको हो।
यसैक्रममा राष्ट्र बैंक, विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल अनुसन्धानको क्रममा संयुक्त राष्ट्रसंघले पनि नेपालजस्तो विकासोन्मुख मुलुकका लागि क्रिप्टोकारोबार खतरा भएको निचोड निकालेको बताए। ‘यसैले यस्ता अन्तर्राष्ट्रिय प्रतिवेदनले पनि नेपालजस्तो मुलुक समयमै सचेत भएर ब्यान्ड गर्न सुझाव दिएको पाइयो।,’ कार्यकारी निर्देशक पौडेलले अन्नपूर्णसँग भने।
उनका अनुसार केन्द्रीय बैंकले आन्तरिक पद्धतिबाट प्रतिवेदन तयार गरिएको हो। विभिन्न देशले गरेका अभ्यास र राष्ट्रियदेखि आईएमएफ, विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाले गरेका विश्लेषण, भर्चुअल मुद्रामा कसरी कारोबारमा गरिरहेका छन् भन्ने अनुभवलाई अध्ययन गरेर प्रतिवेदन तयार पारेको उनले जनाए। यससँगै, नेपालीले क्रिप्टो गरेको अवस्थाबारे नेपाल प्रहरी, राजस्व अनुसन्धान विभागलगायतले अनुसन्धान गरिरहेको समेत उनले जानकारी दिए।
क्रिप्टोकरेन्सी र मुद्रासँगको अन्तरसम्बन्ध
क्रिप्टोकरेन्सीका समर्थकले यसलाई मुद्राको रूपमा लिने गरेका छन्। तर, प्रचलित मौद्रिक व्यवस्थामा जस्तो क्रिप्टोकरेन्सी जारी गर्ने कुनै सार्वभौम मुलुक हुँदैन। प्रचलित मौद्रिकमा ‘इन्ट्रिनसिक भ्यालु’ भएको धातु हुने गरेको छ। तर, क्रिप्टोकरेन्सी कुनै निश्चित निजी समूहले मात्र मुद्राको रूपमा स्वीकार गरेको अदृश्य वस्तु हो। क्रिप्टोकरेन्सीको मूल्यमा अधिक उतारचढाव हुने भएकोले सोलाई विनिमयको माध्यमको रूपमा लिन सकिने अवस्था रहेको देखिँदैन। यसको मूल्यमा भएको उतारचढावको कारणले प्रतिफल दिए पनि यसले ‘स्टोर अफ भ्यालु’को रूपमा समेत कार्य गर्न सक्ने देखिँदैन।
क्रिप्टो र वित्तीय सम्पत्तिसँगको सम्बन्ध
वित्तीय सम्पत्तिको रूपमा योग्य हुन त्यस्तो वस्तुमा नगद प्रवाह हुन सक्ने गुण÷विशेषता हुनुपर्ने र अन्य कुनै व्यक्तिको दायित्व हुनुपर्छ। क्रिप्टोकरेन्सी प्रयोग÷जारी गर्ने व्यक्ति÷समूहले यसलाई वित्तीय सम्पत्ति भन्ने गरे पनि वित्तीय सम्पत्तिको रूपमा स्वीकार हुन सक्ने देखिँदैन।
धातुसँगको सम्बन्ध
क्रिप्टोकरेन्सीलाई सुन–चाँदीजस्तो बहुमूल्य धातु भन्ने गरे पनि धातुको रूपमा स्वीकार हुन सक्ने देखिँदैन। सुन–चाँदीको आपूर्ति सीमित भएजस्तै गरी क्रिप्टोकरेन्सीको निष्कासन संख्या तोकिएता पनि एकभन्दा धेरै प्रकारका क्रिप्टोकरेन्सी प्रचलनमा भएको र नयाँ–नयाँ क्रिप्टोकरेन्सी जारी हुने गरेको हुँदा स्वतः बहुमूल्य धातुको जस्तो परिमाणको सीमा पालना नहुने हुन्छ।
विद्युतीय सम्पत्तिसँगको सम्बन्ध
क्रिप्टोकरेन्सीलाई विद्युतीय सम्पत्ति भन्ने गरिन्छ। तर पनि क्रिप्टोकरेन्सीको कुनै पनि अन्तर्निहित प्रयोग हुँदैन। क्रिप्टोकरेन्सी विद्युतीय कोडमा आधारित भए पनि सोको कुनै व्यावहारिक प्रयोग नभई विशुद्ध सट्टेबाजी प्रकृतिको रहेको देखिन्छ।
विश्वभर प्रचलनमा ३२ हजार क्रिप्टोकरेन्सी
राष्ट्र बैंकको प्रतिवेदनअनुसार विश्वमा हाल करिब २३ हजार क्रिप्टोकरेन्सी प्रचलनमा छन्। उक्त क्रिप्टोकरेन्सीमध्ये सर्वप्रथम विटक्वाइननामक क्रिप्टोकरेन्सी सन् २००९ देखि प्रचलनमा रहेको हो। क्रिप्टोकरेन्सीको कुल बजार पुँजीकरणमा विटक्वाइनको हिस्सा मात्रै ४२ प्रतिशत छ। विद्युतीय माध्यमबाट हुने भुक्तानीको हकमा भने भुक्तानी दिने पक्ष (खातावाला) को हिसाब राख्ने बैंक–वित्तीय संस्थाले त्यस्तो भुक्तानीको यकिन (रकम मौज्दात भए÷नभएको, भुक्तानी आदेश रीतपूर्वक भए÷नभएको आदि) गर्दछ। क्रिप्टोकरेन्सीको हकमा त्यस्तो यकिन गर्ने कार्य वित्तीय मध्यस्थता बिना ‘ब्लकचेइन’ प्रविधिको प्रयोगबाट हुने गर्दछ।
विशेष गरेर माइनिङ र खरिद गरी दुई स्रोतबाट क्रिप्टोकरेन्सी प्राप्त गर्न सकिन्छ। माइनिङ भन्नाले कुनै क्रिप्टोकरेन्सीको नेटवर्कमा कारोबारको हिसाबकिताब राख्ने कार्यलाई जनाउँछ। हाल विश्वमा करिब
४ सय ५० क्रिप्टोकरेन्सी एक्सचेन्जेज रहेका छन्।
कुन देशमा कस्तो कानुन
विभिन्न मुलुकले क्रिप्टोकरेन्सीसम्बन्धी फरक–फरक कानुनी तथा नीतिगत व्यवस्था अंगीकार गरेका छन्। बेलायतको केन्द्रीय बैंक, बैंक अफ इङ्ल्यान्डले क्रिप्टोकरेन्सीलाई निजी रूपमा जारी गरिएको डिजिटल सम्पत्तिको रूपमा परिभाषित गरेको छ।