गहिरो साहित्य बोकेको देउडा निकै मेहनत र प्रेमपूर्वक आइपुगेको छ, राजधानी र पूर्वका बस्तीहरूमा।
बाजो राम्रो बिनायाको स्वर राम्रो चर्खाको
संस्कृतिविद् सत्यमोहन जोशीले ‘कर्णालीको लोकगीत र लोकसंस्कृति’बारे एक सभामा भनेका थिए– ‘नेपाली लोकसंगीतमा यदि देउडा गीतलाई हटाउने हो भने लोकगीत अपूरो रहन्छ।’ देउडा गीतमा यति साहित्य छ, जो कोहीले बुझ्न पनि कठिन हुन्छ। जोशीले जुम्लामा बसेर अनुसन्धान गर्दै निचोडमा बोलेका अनुभवी विचार हुन् यी। बुझ्न कठिन हुन्छ नै देउडा गीतमा अटाएका शब्द, गीतको भावार्थ र दिन खोजेको सन्देश। अबको बदलिँदो परिवेशमा केवल सेती, महाकाली, कर्णाली र भेरी अञ्चलका जिल्लामा मात्र सीमित राखिनु हुन्न, यी गीतहरू र देउडा साहित्य।
भोलिका पुस्ताले नेपाली माटोबाट जन्मिएका यी गीतहरू ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, ओखलढुंगालगायत पूर्वाञ्चलका रमणीय जिल्लाका लोकसंस्कृति पारखीले बुझ्नु, मनन् गर्नु र गाउन सक्नु पनि जरुरी भइसकेको देखिन्छ। त्यतिमात्र होइन, राजधानी र छेउछाउका नवपिँढीले हातमा गितार बोक्दै लामोलामो कपाल पालेर ठाउँठाउँमा पप र्यापगीत गाइरहेको देखिन्छ। यी गीतका साथै युवाले काली कर्णालीतिरका गीत गाउन र संगीत भर्न जरुरी छ। पाठ्यक्रममा पनि यी विषय अटाउनुपर्छ। विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा सीमित रूपमा भए पनि लोकसंगीतअन्तर्गत देउडा गीत समावेश गरेको खण्डमा संरक्षण र प्रचार हुने थियो।
माथिको मुखडाको गीतले लोकसाहित्यको गहिरो अर्थ दिएको छ। गीतका साथै भाषाको विस्तार गरेको पाइन्छ। बिनायो बाजा लोकसंगीतमा प्रयोग हुन्छ, जुन लोकप्रिय छ। चर्खाको स्वर मसिनो आउँछ तर मीठो छ। यतिसम्मको अर्थ जो कोहीले बुझ्छ। तर दोस्रो हरफमा उल्लेखित फूलबारीको अर्थ गहिरो छ, जुन विषय जिन्दगी र प्रेमसँग जोडिएको छ। धेक्नु (देख्नु) र पहिरनुमा अन्तर छ। बगैंचामा फूलिरहेका बास्नादार सयौं फूलले देश सिँगार्ने काम गर्छ। देश जिन्दगी हो, सजाउने र नष्ट गर्ने काम मालीको हातमा हुन्छ। जुन कुरा देशको अहिलेको राजनीतिक, आर्थिक एवं सामाजिक अवस्थासँग पनि दाँज्न सकिन्छ। बहुअर्थ बोकेका हुन्छन् यी गीतहरूले, अमरकोषमा वर्णित संस्कृतका शब्दहरूले झैं।
युवामा देउडा साहित्य
पृथक् भूगोलमा फरकफरक लोकसाहित्य जन्मेझैं महाकाली नदीदेखिको भूगोल कर्णाली नदीको छेउछाउसम्म आइपुग्दा देउडा गीतका बान्कीले सौन्दर्यता प्रस्फुटन राम्रैसँग गरेको देखिन्छ। पहाडी र लेकाली शृंखलाको भूमिमा देउडा गीतका मौलिक शब्दहरू एकपछि अर्काे गरी जन्मिरहन्छन्। शब्दको कोमल भाव अटाएकाले यी गीतहरू समाजमा जीवन्त भइरहन्छन्। वसन्त ऋतुमा पालुवा पलाएझैं नवयुवक युवती (छो¥याट्टा, छो¥याट्टी) बाट नयाँ गीत र शब्द अनि भाका पनि पलाउँछन्। पहाडी जनजीवनको साहित्य यसैमा लुकेको हुँदो रहेछ। यही मौलिक साहित्यमै युवकयुवती गीतमार्फत प्रेम साटासाट गर्ने गर्छन्–
चट्क्याइलो चटनी होइजाउ मास्र्याको
भात् होइजाउ
मन् पण्याको माया होइजाउ जुनेली
रात् होइजाउ।
केटाको कल्पनाको अनुभूति पोखिएको छ यो गीतमा। कुनैबेला दार्चुलादेखि जुम्लासम्म मास्र्या चामल प्रशस्तै पाइन्थ्यो। लहलहाउँदा धानका फाँटहरू देखेर हाम्रा किसान पितापुर्खाहरू परिश्रमको पाखुरीमा पसिना थोपाहरू झरेको अनुभूति गर्थे। मास्र्या चामल स्वास्थ्यका लागि उपयुक्त सम्झन्थे। अहिले मास्र्या धान सीमित ठाउँहरूमा मात्र फलाएको पाइन्छ। बिउबिजनका कारणले मास्र्याधान लोप हुने अवस्थामा पुगेको छ। मन परेको भोजन गर्न नपाइने भयो। मन परेको माया पाउनु र जुनेली रात पाउनु पनि भाग्यको खेला हो भन्छन् लोकगायकले। आफूले कल्पना गरेको कुरा नपाउँदाको पीडा बोलेको छ गीतले–
कसी छियाँ कसी भयाँ एक्फेर भेटिझा
कि घाटी रेटेर लैझा कि तिर्खा मेटिझा।
केटीले आफ्नो जिन्दगीको पीडा सुनाउँदै विगत र वर्तमानलाई सम्झेर आफूसँग भेट्ने अनुरोध गर्छिन्। निर्मल गंगा बगेको देखिन्छ यो गीतमा। टाढा बसेर कल्पना गरेर मात्र पुग्दैन, बरु नजिक आएर प्रेमको जलधारा पिएर जाऊ, मलाई अब जिउनुको अर्थ रहेन, बरु घाँटी रेटेर लैजाऊ भन्ने पीडाबोधको अर्थ बोकेको देखिन्छ। संसार मायामा बाँचेको छ। माया भन्नु समाज हो, सिंगो भूगोल पनि हो। मानिसबिनाको भूगोलको अर्थ रहन्न।
भूगोलभित्रका मानिसले काम नपाएर बिदेसिनु परेको अव्यक्त पीडा पनि बोलेको छ गीतले। भारत भूमिमा बसेर जिन्दगी बिताउनु परेका दर्दनाक कथा पनि अदृश्यरूपमा पोखिएको पाइन्छ यो गीतमा। युगौंदेखि यी गीतले नेपाली समाजका करुणा सुनाउँदै आएका छन्। तर उपाय छैन, भोको पेटले राष्ट्रियताको सारंगी बजाएर कतिले सुन्छन् र ? भन्ने अहम् प्रश्न खडा गरेको देखिन्छ– युवामाझ माथिको गीतले।
गाई आमा तेल्याका लेक भैंसी आमा रोल
कसैखी हक् लाग्न्या होकी साई सुनौली कोल ?
बाज (केटा)ले सुवा (केटी)लाई गरेको प्रश्न पढ्दा सरल छ, बुझ्न सजिलो छ, तर अर्थ गम्भीर छ। महाभारत शृंखलामा पर्ने तेल्याको लेकको इतिहास डँडेलधुरासँग जोडिएको छ, जहाँ परापूर्वककालमा हटारुहरू बास बस्ने गथ्र्ये। हरियो जंगलमा चरनका कारण गाईबस्तु पाल्ने गरिन्थ्यो, जसरी भैंसीआमा रोल (अग्लो ठाउँको नाम)मा चराउने गरिन्छ। सुनौलीकोल (सबै लक्षणले युक्त सुन्दर केटी) माथि कुनैले आँखा लगाएका छन् या कसैले जारी (कुनै बेला जारी बुझ्ने प्रथा पनि थियो) बुझेका त छैनन् ? प्रश्न गरिरहेछ।
कोइ नाइप हक दाबी अन्न्या जनमान्या डर
बाजलाई जिन्दगी दिउँला पढ मेरा भर।
सुवाले आफ्नो जिन्दगीबारे कसैको हकदाबी नभएको (प्रेम प्रस्ताव नराखेको) र जारी प्रथा पनि लागू नभएको पवित्रकेटी हुँ भन्दै सरल अर्थमा बाजलाई प्रत्युत्तर दिएको गीत हो माथिको। नेपाली गीति साहित्यको सुरुआती पंक्ति जुनसुकै ठाउँहरूमा पनि केटा पक्षबाट सुरु गरेको पाइन्छ। पुरुषप्रधान समाज भएर सायद यस्तो परम्परा बसेको पनि हुन सक्छ। सालैजो भाका र केही सोरठी भाकामा चर्चित गायिका बिमाकुमारी दुराले गीतको सुरुआती आफैंबाट गरेर छोप्ने क्रममा अरू केटा कलाकार पछाडि आएका देखिन्छन्। जुन नौलो प्रयोग मान्न सकिन्छ। प्रसिद्ध गायक खड्क गर्बुजाले पनि सालैजोमा यही प्रयोग र शैली सुरु गरेकाले उनका गीत अझ लोकप्रिय बने।
हरिदेवी कोइरालाको ‘पाइनँ खबर’को बेजोड प्रस्तुतिले उनको गायकीपनलाई श्रोताले माथिल्लो कोटीमा दाँजे। देउडा गीतमा पनि कारुणिक गीतको दोहोरीपनमा केटीको सुरुआती गीत गाउँदा अझ मार्मिक सुनिने गरिन्छ। सुदूरपश्चिममा कारुणिक गीतहरूको नौलो शैली दीपा धामी, डिक्रादेवी वादी र स्व. हरिशचन्द्र कडायतले प्रयोग गरे। ठाडी भाकाका यी गीत लोकप्रिय रहे। कारुणिक गीत र ठाडी भाकाबारे क्रमिक रूपमा उल्लेख गरिनेछ।
नलेखिएका र संकलन पनि नगरिएका साहित्यिक गीतहरू
सुदूरपश्चिमको भाषा, लोकगीत एवं लोकसाहित्यका बारे अनुसन्धान गरिएको छैन। पंक्तिकारले निकै मिहेनतका साथ व्यक्तिगत रूपमा देउडा गीत र संगीतलाई राष्ट्रिय स्तरमा परिचित गराउन आधा जिन्दगी खर्चेको इतिहास जनसमक्ष ताजा छ। अरू कलाकारले पनि सुने, भोगेका आधारमा व्यक्तिगत तवरले केही मौलिक गीत संकलन गरी गाएका छन्, जुन प्रशंसनीय कार्य हो।
निजी खर्चमा जे जति कर्महरू लोकसाहित्यबारे लेखिए, गीतहरू रेकर्ड गरिए। गोष्ठी र छलफल गरिए यसबारे खुलेर प्रशंसा गर्नैपर्छ। राज्यबाट साहित्य र संगीत, लोकगीत र लोकसंगीतबारे व्यापक छलफल विचार र अन्तरसंवाद हुनुपर्ने हो सो कार्य भएको देखिँदैन। राज्यको संरचना बदलिएको ६ वर्ष र संविधान देशमा जारी भएको ८ वर्ष पूरा भइसक्यो। केवल राजनीतिक चक्रमा देश घुमिराखेको देखिन्छ। देशको वास्तविक पहिचान बोकेको मेची महाकालीको संस्कृतिले विकसित बन्ने मौका पाएको छैन।
फूलबारीको अर्थ गहिरो छ, जुन विषय जिन्दगी र प्रेमसँग जोडिएको छ। धेक्नु (देख्नु) र पहिरनुमा अन्तर छ। बगैंचामा फुलिरहेका बास्नादार सयौं फूलले देश सिँगार्ने काम गर्छ। देश जिन्दगी हो, सजाउने र नष्ट गर्ने काम मालीको हातमा हुन्छ।
संस्कृतिमा बेजोड धनी, आत्मीयता गाँस्नमा सिपालु तर सोझो सामाजिक परिवेशमा रमाएका ६ र ७ प्रदेशको विकास नभएको देख्दा दुःख लाग्छ। यहाँ नलेखिएका लोकगाथाहरू, नसुनिएका साहित्य र नगाएका गीतहरू स्याउल्या (ठूलो डोको) भरी छन्। भारी बोक्नेको कमी छैन, आँसुकविहरूको कमी छैन। दुःखका साथ भन्नै पर्छ यो माटो र भकारीभित्र महाकवि देवकोटा र स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्य हराएका छन्।
समय सन्दर्भका गीत, घटनाक्रमका गीत, इतिहास बोक्ने गीतहरू यो माटोमा धेरै छन्। जुन देखिएका छन्। उदाहरणका लागि बझाङमा २०२३ सालमा भोकमरी भयो। केही मानिसको भोकमरीको कारणले अकालमा मृत्युसमेत भयो। मानिसले पेट पाले। त्यसबेला महिलाले हातमा लगाउने चाँदीका बाला, कानमा लगाउने मुन्द्रासमेत बिक्री गरेर दार्चुलाबाट मकै खरिद गरेको इतिहासका साक्षी छन् त्यसबेलाका युवा र प्रौढ।
भूमिसुधार योजना तत्कालीन सरकारले देशभर २०२१ सालमा लागू गरे पनि बझाङ, बाजुरा, बैतडी र दार्चुलामा २०२३ सालमा लागू गरिएको थियो। त्यही बेला महाभूकम्प पनि आएर जनधनको ठूलै नोक्सानी गरेको थियो। अमेरिकाको चामल जहाजमा बोकेर बझाङलगायतका भोकमरी जिल्लामा तत्कालीन सरकारले जनतालाई बचाएको ऐतिहासिक गीत अहिले पनि सान्दर्भिक छ–
भोक् ऐलै भूकम्प ऐलै भूमिसुधार ऐलै
अम्रिकाको बेसाअरी खाया छ्याकी कैल्यैं ?
देउडा लोकसाहित्यकारले समाजलाई सोधेको गतिलो प्रश्न हो यो गीत। भनिन्छ, गरिबहरूमा उज्यालो साहित्य र गीत हुन्छ, तर धनीहरूमा घर र सम्पत्तिमात्र हुन्छ। गीत गाउनेहरू दुखारी हुन्छन्, यिनीहरूको संगत पनि त्यति गर्नु हुँदैन, छोरी पनि दिनु हुँदैन, यिनीहरू पेट पाल्न सक्दैनन्। यस्तै जनकहानीलाई झुटो सावित गरिदिएको छ, पंक्तिकारद्वारा सुदूरपश्चिम र कर्णाली प्रदेशमा गरेको सांस्कृतिक क्रान्तिले। ४५ वर्षदेखिको देउडा संस्कृतिको लगानीले अहिले बामे सरेको देखिन्छ देशभर।
अन्तमा–
दाजु दैलेख् सुविदार भाइ कुल्लीका मेट
सम्झी रयै सुनाखणी हुँदै रयै भेट।
दाजु–भाइबीचको तुलनात्मक आर्थिक अवस्थालाई उजागर गरेको उक्त गीत ऐतिहासिक मात्र नभएर धेरै साहित्यिक पनि छ। भारतको गल्लीमा गएर कुल्ली काम गर्ने भाइ र दैलेखको सुबिदार पदमा रहेर प्रतिष्ठा कमाउने दाइबीच एकरूपता देखिँदैन। आफन्तजनलाई देउडा साहित्यकारले सुनाखरीको उपमा दिएर टाढा नहुनु, सम्झेर भेट गर्दै जानु भन्ने सुखद् रैवार (खबर) दिन खोजेको छ यो गीतले। गहिरो साहित्य बोकेको देउडा निकै मेहनत र प्रेमपूर्वक आइपुगेको छ, राजधानी र पूर्वका बस्तीहरूमा। यसको जगेर्ना गर्नु साहित्यप्रेमीको कर्तव्य भएको छ।