सात वर्षमा पनि बनेन तटबन्ध
टीकापुर : राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कर्णाली नदीमा तटबन्ध गर्ने ठेक्का लिएको एक निर्माण कम्पनीले सम्झौताको सात वर्ष सकिँदासमेत काम सम्पन्न गरेन। आयोजनाबाट टीकापुर नगरपालिका–७ सत्तीस्थित कर्णाली तटबन्ध गर्ने गरी ठेक्का लिएको हाइग्रिभा सिद्धि शाही प्रकाश जेभीले सात वर्षमा समेत काम गरेको छैन।
आयोजनाले पटकपटक सूचना प्रकाशित गर्यो। २०७७ असार १५ गतेको अन्नपूर्ण पोस्ट्मा उक्त समाचार प्रकाशित भयो। स्थानीयबाट व्यापक जनगुनासो आउँदासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त आयोजनाबारे चासो दिएन।
निर्माण कम्पनीले सत्तीस्थित कर्णाली नदीमा १ हजार २ सय मिटर, मोहना नदीमा ७ वटा आउटलेट निर्माण गर्ने र कर्णाली नदीको सत्ती पुलदेखि मोहना घाटसम्मको ९ किलोमिटर तटबन्धमा ग्राभेल गर्ने गरी ठेक्का लिएको थियो। निर्माण कम्पनीले १४ करोड रुपैयाँमा २०७५ असार मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७२ चैत्र १६ गते आयोजनासँग सम्झौता गरेको थियो।
निर्माणकार्यको सुरुवात गरेर आयोजनाबाट ४ करोड ७५ लाख रुपैयाँ भुक्तानी लिएको कम्पनी सम्पर्कविहीन बनेको थियो। आयोजनाले निर्माण कम्पनीलाई २०७५ जेठ ८ गते, असोज १९ गते र माघ १० गते गरी तटबन्ध निर्माण गर्न पत्राचार गरेको थियो। पटकपटक ताकेता गर्दासमेत निर्माण कम्पनी सम्पर्कमा नआएपछि आयोजनाले निर्माण कार्य सुचारु नगरे कारबाही गर्ने भन्दै सातदिने सूचना प्रकाशित गरेको थियो।
आयोजनाका अनुसार निर्माण कम्पनीले सत्तीमा ६ सय ८५ मिटरमात्रै तटबन्ध गरेको छ। त्यस्तै, ७ वटा आउटलेट निर्माण गर्नुपर्नेमा २ वटामात्रै सम्पन्न गरेको छ भने ९ किलोमिटर ग्राभेल गर्ने कार्यको सुरुवातसमेत गर्न सकेको छैन।
पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउन स्थानीयले संघर्ष समिति नै गठन गरेका थिए। टीकापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दीर्घ ठकुल्लाले आयोजना, प्रमुख जिल्ला अधिकारीलगायतलाई पटकपटक ध्यानाकर्षण गराउँदासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान नगएको बताए।
‘कयौंपटक यो विषयमा समाचार प्रकाशित भएका छन्। सीडीओदेखि आयोजना र मन्त्रालयसम्म हामीले संघर्ष समिति नै गठन गरेर ध्यानाकर्षण गराउँदासमेत काम सम्पन्न हुन सकेको छैन। के कारणले हो यसमा अख्तियारको ध्यान पुगेन।’
अध्यक्ष ठकुल्लाले निर्माण कम्पनीका कारण नेपालकै एकमात्र बेतबाँस पाइन सत्ती कर्णाली सामुदायिक वनको झन्डै १५ बिघा बढी क्षेत्रफल नदीले कटान गरेको छ।
समयमा तटबन्ध निर्माण नहुँदा टीकापुर नगरपालिका वडा नं. ६, ७, ८ र ९ का अधिकांश ठाउँमा नदीले कटान गर्दै आएको छ। नदी कटानबाट ती वडाका वनगाउँ, फाँटा, अरुणाफाँटावासी जोखिममा रहेका छन् भने सत्तीघाटमा निर्माण भएको कर्णाली पुलसमेत जोखिममा परेको स्थानीय श्यामलाल चौधरीले बताए।
‘हामीलाई यो कम्पनीले डुबाएको छ। ठेक्का सम्झौता गरेको छ, काम गर्दैन, आयोजनाले अर्कोलाई अझै तटबन्ध गराउन सकेको छैन’, चौधरीले भने, ‘आयोजनाले कालोसूचीमा राखेर कारबाही अगाडि बढाएको भए पनि तटबन्ध भएको छैन।’
आयोजना प्रमुख केदार श्रेष्ठले निर्माण कम्पनीले काम नगरेपछि कालोसूचीमा राखेर ठेक्का तोडिएको बताए। ‘आयोजनाले पटकपटक ताकेता गर्दासमेत काम गरेन, आयोजनाको सिफारिसमा उक्त कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ’, आयोजना प्रमुख श्रेष्ठले भने, ‘सार्वजनिक खरिद ऐनअनुसार उसको धरौटी जफत गरिएको छ, बाँकी कामको मूल्यांकन गरेर ठेक्का निकाल्ने तयारीमा छौं।
यसमा आयोजनाले आफ्नो कारबाही अगाडि बढाएको छ।’ ठेक्का सम्झौता तोडिएकाले अख्तियार आकर्षित हुन आवश्यक नभएको श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !