पालिकाबाटै कृषि मिटर
जनकपुरधाम : चन्द्रगर गाउँपालिकाका किसानले स्थानीय तहबाटै सिँचाइका लागि कृषि मिटर पाउन थालेका छन्। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले किसानलाई कार्यालयबाटै सिँचाइमा सुविधा दिन कृषि मिटर दिन थालेको हो।
नेपाल विद्युत् प्राधिकरण कार्यालय धाउनुपर्ने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकामै कृषि मिटर वितरण भएपछि किसान खुसी भएका छन्। किसानको उब्जनी बढाउन र सिँचाइमा सुविधा दिन विद्युत् महसुल गाउँपालिकाले नै तिरिदिने भएपछि मिटर लिनेको संख्या पनि बढेको छ। विद्युत् मिटरका लागि किसानले सदरमुकाम मलंगवासम्म धाउँदा समय, पैसा खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्थालाई मध्यनगर गरेर पालिकाले उक्त सेवाको उपलब्ध गराएको हो।
गाउँपालिकाले मलंगवा वितरण केन्द्रको समन्वयमा किसानलाई कृषि मिटर वितरण सुरु गरेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए। वितरण केन्द्र मलंगवाका प्रमुख उमेश यादवले पहिलो पटक विद्युत् चुहावट मुक्त गर्न अभियान थालेकोले विद्युत्प्राधिकरणको कर्मचारी गाउँपालिकाको कार्यालयमा आएर मिटर वितरण गरिएको जानकारी दिए।
कृषि मिटर जडान गर्न मिटर आवेदन फारम पेस गर्ने, स्वीकृत, मिटर खर्च भौचर, मिटर दस्तुर बुझ्ने, मिटरको लगत कायमलगायत सबै चरणको काम गाउँपालिकामा भइसकेकोले अब प्राधिकरणले किसानको खेतमा कृषि मिटर जडान गर्ने प्रमुख यादवले बताए।
प्रतिक्रिया दिनुहोस !