ईभी नै विकल्प बनिसकेको अवस्था छैन
विद्युतीय सवारीसाधन (ईभी) तर्फ उपभोक्ताको बढ्दो आकर्षण छ। तर पूर्वाधारको अपर्याप्तता, कर नीति र समग्र आर्थिक सुस्तताका कारण व्यवसायीहरू ‘पर्ख र हेर’को अवस्थामा छन्। यही बीचमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले साउन २६ देखि ३१ सम्म ५५ भन्दा बढी ब्रान्डहरूको सहभागितामा अहिलेसम्मकै ठूलो ‘नेपाल मोबिलिटी एक्स्पो’ आयोजना गर्दैछ।
चाडपर्वको पूर्वसन्ध्यामा हुन गइरहेको यो एक्स्पोले सुस्त बनेको अटोमोबाइल बजारमा कस्तो तरंग ल्याउला ? ईभी र इन्धन गाडीको सन्तुलन, पूर्वाधारका चुनौती, एसेम्ब्ली प्लान्टको सम्भावना र सरकारको नीतिगत व्यवस्थाहरूका विषयमा केन्द्रित रहेर नाइमाकी अध्यक्ष रितु सिंह वैद्यसँग अन्नपूर्णका लागि संजीप घिमिरेले गरेको कुराकानीको सम्पादित अंशः
नाइमाले आयोजना गर्न लागेको ‘मोबिलिटी एक्स्पो’लाई एकदमै ठूलो प्रदर्शनीका रूपमा व्याख्या गरिँदै छ। यसलाई ठूलो र खास भन्ने कारण के हो ?
यो एक्स्पो धेरै दृष्टिकोणले ठूलो छ। यसपटक एक्स्पोमा ५५ वटाभन्दा बढी ब्रान्डहरूको सहभागिता रहनेछ। मेरो विचारमा, नेपालमा अहिलेसम्म भएका अटो शोहरूमध्ये यति धेरै ब्रान्डहरूको उपस्थिति पहिले कहिल्यै भएको थिएन। अघिल्लो संस्करणको तुलनामा पनि यस पटकको एक्स्पो निकै ठूलो र परिष्कृत हुँदै छ।
त्यसो भए यसको मुख्य आकर्षण ब्रान्डहरूको उपस्थितिमात्र हो वा थप पनि केही छ ?
मुख्य कुरा त अटो शोको मूल उद्देश्य नै अवलोकनकर्ताले एकै छानामुनि धेरै ब्रान्ड र मोडलहरू हेर्न पाउनु नै हो। ५५ वटा ब्रान्डहरू एकै ठाउँमा हेर्न र रोज्न पाउनु नै यसको मुख्य आकर्षण हो। यसबाहेक उपभोक्ताको सहभागिताका हिसाबले पनि यो भव्य हुनेछ। अघिल्लो संस्करणमा झन्डै एक लाख दर्शकले अवलोकन गर्नुभएको थियो, यसपटक त्यो संख्या अझ बढ्ने अपेक्षा छ।
व्यापारिक दृष्टिकोणले हेर्दा पनि ५५ वटा ब्रान्डका उच्च मूल्यका गाडी तथा अटोमोबाइलजन्य वस्तुहरूको कारोबार हुने भएकाले यो निकै ठूलो प्रदर्शनी हो। व्यवस्थापकीय पक्षबाट पनि यसलाई व्यवस्थित र आकर्षक पाउनु हुनेछ।
यस पटकको एक्स्पोमा कति रकमबराबरको कारोबार होला भन्ने अनुमान छ ?
एक्स्पोमा ठ्याक्कै यति नै कारोबार हुन्छ भनेर अग्रिम अनुमान गर्न निकै गाह्रो हुन्छ। धेरैजसो ग्राहकहरूले एक्स्पोमा आएर विभिन्न ब्रान्डका गाडीहरूमा बुकिङ त गर्नुहुन्छ, तर पछिमात्रै निर्णय लिनुहुन्छ। त्यसैले यकिन तथ्यांक अहिल्यै भन्न नसकिए पनि नेपाली सांस्कृतिक परिप्रेक्ष्यमा दसैं—तिहारको यो समय नयाँ गाडी तथा घर खरिद गर्ने र नयाँ कामको थालनी गर्ने सबैभन्दा उपयुक्त अवसर हो। यही अनुकूल समयलाई ध्यानमा राखेर हामीले एक्स्पो आयोजना गरेकाले व्यापार निकै राम्रो हुनेमा हामी आशावादी छौं।
एक्स्पोको तयारी कहाँसम्म पुगेको छ नि ?
तयारी एकदमै तीव्र गतिमा भइरहेको छ। ‘खल्ती’ एपमार्फत दुई हप्ताअघि नै टिकट बिक्री सुरु भइसकेको छ। नेपाल पुलिस क्लबमा पार्किङ तथा लर्निङ सेसनको व्यवस्था मिलाएका छौं। भृकुटीमण्डपमा स्टल निर्माणको काम अन्तिम चरणमा छ।
१५ देखि २० वटा फुड एन्ड बेवरेज ब्रान्डहरूसँग सहकार्य भइसकेको छ। यसका साथै, अटोमोबाइल, ग्राहक, समाज र अर्थतन्त्रसँग जोडिएका सान्दर्भिक विषयमा छलफल गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रख्यात वक्ताहरूलाई ल्याएर ‘लर्निङ सेसन’ आयोजना गर्दैछौं।
- दूरदराज र विकट क्षेत्रहरूमा शतप्रतिशत चार्जिङ पूर्वाधार नबनेसम्म विद्युतीय सवारी सँगसँगै पेट्रोल÷डिजेल र हाइब्रिड गाडीहरूको सान्दर्भिकता उत्तिाकै रहनेछ।
- गाडीको संख्या तीव्र रूपमा बढे पनि सडक पूर्वाधार उही रहेकाले समयमै ओभरपास र सडक विस्तार नगरिए काठमाडौंले पनि बैंकक वा हङकङ जस्तै भयानक ट्राफिक जामको सामना गर्नुपर्नेछ।
- नेपालमा यात्रुवाहक कारको कुल वार्षिक बजार करिब १५ हजार मात्रै भएकाले र सहायक उद्योगको कमीले गर्दा तत्कालै ठूलो परिमाणमा एसेम्ब्ली प्लान्ट स्थापना गर्नु लागतका हिसाबले चुनौतीपूर्ण छ।
अघिल्लो र यसपालिको एक्सपोबीचको के फरक पाउन सकिन्छ ?
ब्रान्डहरू धेरै बढेका छन्। लास्ट टाइम जहाँ ग्याप देखियो, त्यसलाई प्लग–इन गरेका छौं। ६ दिनका लागि पुलिस क्लबमा पार्किङको व्यवस्था मिलाएका छौं, जहाँ दुई–तीन सय गाडी र मोटरसाइकल पार्किङ गर्न सकिन्छ। ५५ वटा ब्रान्ड, ४० वटा न्यु लन्चेजले अवलोकनकर्तालाई सन्तोष मिल्नेछ। हरेक ब्रान्डले आफ्नै स्किम, अफर र बेस्ट डिलहरू लिएर आउँछन्। कफी सप र खानाको राम्रो व्यवस्था मिलाइएको छ।
पछिल्लो समय विद्युतीय सवारीप्रति आकर्षण निकै बढेको छ। इन्धन (पेट्रोल÷डिजेल) गाडी बिक्रेताहरूका लागि के यो चुनौती बनेको हो ?
ईभीको प्रयोग बढ्नु एकदमै सकारात्मक र स्वागतयोग्य कुरा हो। हाम्रो जलविद्युत् उत्पादन बढी भएर बिजुली सरप्लस भइरहेको अवस्थामा यसलाई आन्तरिक उद्योग र यातायातमा खपत गर्नु राष्ट्रिय हितमै छ।
तर, विकट र दूरदराजका क्षेत्रसम्म विद्युतीय गाडीका लागि पर्याप्त पूर्वाधार खासगरी चार्जिंग स्टेसन तयार नभएसम्म हाइब्रिड गाडीहरूको सान्दर्भिकता उत्तिकै रहन्छ। मनाङ, डोल्पा वा रोल्पाजस्ता क्षेत्रमा जहाँ तत्काल चार्जिङ स्टेसन पुग्न सक्दैन, त्यहाँ ग्राहकलाई समस्या नहोस् भन्नका लागि पनि तीनवटै प्रविधिलाई सँगै लैजानुपर्छ। चीनजस्तो ठूलो देशमा पनि ईभीसँगै पुनः हाइब्रिड गाडीहरूतर्फ ध्यान दिन थालिएको छ। त्यसैले शतप्रतिशत ईभी–मैत्री पूर्वाधार नबनुञ्जेलसम्म सबै विकल्पहरू आवश्यक पर्छन्।

रितु सिंह वैद्य, अध्यक्ष, नाइमा तथा प्रबन्ध निर्देशक, टोयोटा (यूटीएस)
आगामी पाँच वर्षमा नेपालको अटोमोबाइल क्षेत्रलाई कस्तो देख्न चाहनुहुन्छ ?
नेपालमा ईभी किन्ने दर निकै राम्रो छ। तर, मेरो चिन्ता के हो भने ईभी यति धेरै आइसक्दा पनि हाम्रो वायु प्रदूषणको स्तर अझै उच्च छ। किनभने, औद्योगिक क्षेत्र र सार्वजनिक यातायातमा अझै पनि अत्यधिक प्रदूषण फाल्ने पुराना डिजेल÷पेट्रोल गाडीहरू चलिरहेका छन्।
सार्वजनिक यातायात, ठूला ट्रक र २५–३० वर्ष पुराना मर्मतसम्भार नभएका गाडीहरूलाई विस्थापित नगरेसम्म वातावरणीय सुधार हुन सक्दैन। त्यसैले आगामी पाँच वर्षमा निजी गाडीमा मात्र होइन, सार्वजनिक र व्यावसायिक सवारी क्षेत्रमा पनि व्यापक सुधार र आधुनिकीकरण आवश्यक छ।
नेपालमै सवारीसाधन उत्पादन वा असेम्बल गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
नेपालको यात्रुवाहक कारको कुल बजार वार्षिक १५ हजार जतिको मात्रै हो। यही सानो बजारमा ५५ भन्दा बढी ब्रान्डहरू प्रतिस्पर्धामा छन्। यदि एउटा ब्रान्डको गाडी वर्षमा दुई–तीन सय वटामात्रै बिक्री हुन्छ भने, त्यसको एसेम्ब्ली प्लान्ट लगाउनु ‘स्केल अफ इकोनोमी’ का हिसाबले व्यावहारिक नै हुँदैन। विदेशी कम्पनीलाई दिनुपर्ने प्रविधि रोयल्टी र अन्य खर्च धान्न गाह्रो हुन्छ।
असेम्बल उद्योगलाई सफल बनाउन पछाडि सहयोग गर्ने सहायक उद्योगहरू जस्तै– प्लास्टिक मोल्डिङ, वायर हार्नेस आदिलाई पनि सरकारले प्रोत्साहन र सहुलियत दिनुपर्छ। दुई ठूला छिमेकी देशहरू (भारत र चीन) को बीचमा रहेर सानो परिमाणमा असेम्बल गर्दा लागत प्रतिस्पर्धात्मक बनाउन निकै चुनौतीपूर्ण हुन्छ।
काठमाडौंमा अत्यधिक ट्राफिक जाम हुनुमा गाडीको संख्या बढेर हो कि पूर्वाधार नपुगेर ?
निजी क्षेत्रले गाडी बेचिरहेको छ र उपभोक्ताले किनिरहेका छन्, किनभने ईभीले गर्दा गाडी केही सस्तो र पहुँचयोग्य बनेको छ। तर, बाटो भने उही र त्यति नै छ !
यदि यही गतिमा गाडीमात्रै थपिँदै जाने र सडक पूर्वाधार नबढ्ने हो भने, केही समयपछि हामी पनि बैंकक वा हङकङजस्तै दुई किलोमिटर पार गर्न चार घण्टा जाममा बस्नुपर्ने अवस्थामा पुग्छौं। यो ठूलो औद्योगिक र आर्थिक क्षति हो। ट्राफिक व्यवस्थापनमा निजी क्षेत्रले प्रहरीलाई सघाउन सक्छ, तर भौतिक पूर्वाधार बनाउने काम शतप्रतिशत सरकारकै हो।
सरकारको कर नीति र अटोमोबाइल नीतिको मूल्यांकन नाइमाले कसरी गरेको छ ?
सरकारले ईभीको पिक पावरको मापदण्ड हटाएर मूल्यका आधारमा कर निर्धारण गर्ने निर्णय गर्यो, त्यसको हामी समर्थन गर्छौँ। किनभने पिक पावर मापन आफैंमा विवादित थियो। अहिलेको मूल्यमा आधारित स्ल्याब दरप्रति व्यवसायीहरूको धेरै ठूलो आपत्ति छैन। तर, एउटा स्ल्याबबाट अर्को स्ल्याबमा प्रवेश गर्दा हुने करको दररेटमा केही व्यावहारिक सुधार भने आवश्यक छ। आगामी नीतिहरूमा सरकारले व्यावसायिक सवारीसाधन र सार्वजनिक यातायातलाई व्यवस्थित र आधुनिक बनाउनेतर्फ बढी ध्यान दिनुपर्छ।
सरकारले सरकारी कर्मचारीहरूलाई गाडी खरिदमा सहुलियत ऋण दिने कुरा ल्याएको छ, यसबाट यहाँहरू कत्तिको उत्साहित हुनुहुन्छ ?
हामी एकदमै उत्साहित छौं। अहिले हाम्रो बैंकिङ क्षेत्रमा पर्याप्त तरलता छ। यस्तो अवस्थामा सरकारले आफ्नै कर्मचारीलाई सवारीसाधन खरिदका लागि सहुलियत दिने नीति ल्याउनु स्वागतयोग्य छ। यसले एकातिर कर्मचारीहरूलाई सुविधा पुग्छ भने अर्कोतिर सुस्त रहेको अटोमोबाइल उद्योगलाई चलायमान बनाउन ठूलो प्रोत्साहन मिल्छ।
नाइमाले एक्स्पोबाहेक वर्षभरि अन्य के–कस्ता कामहरू गर्छ ?
नाइमा केवल अटो शो आयोजना गर्ने संस्थामात्र होइन। हामी वर्षैभरि नीतिगत पैरवी, उपभोक्ता शिक्षा, उद्योगी तथा प्राविधिकहरूको क्षमता अभिवृद्धि र सरकारी निकायहरूसँगको समन्वय लगायतका काम गर्छौं। यसपटक एक्स्पोमा ठाउँको अभावले धेरैलाई स्टल दिन सकिएन। त्यसैले, हामी यसै वर्ष व्यावसायिक सवारीसाधनका लागि छुट्टै एक्स्पो आयोजना गर्दै छौँ। आगामी दिनमा दसैंको समयमा प्यासेन्जर कार र अर्को उपयुक्त समयमा व्यावसायिक सवारीको छुट्टाछुट्टै एक्स्पो हुनेछ।
अन्त्यमा, एक्स्पोको पर्खाइमा रहेका अवलोकनकर्ता तथा ग्राहकहरूलाई के भन्न चाहनुहुन्छ ?
साउन २६ देखि ३१ सम्म भृकुटीमण्डपमा आयोजना हुन गइरहेको मोबिलिटी एक्स्पोमा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछु। ५५ भन्दा बढी ब्रान्डहरू, ४० भन्दा बढी नयाँ गाडीको लन्च, विशेष छुट तथा अफरहरू, उत्कृष्ट टेस्ट ड्राइभको अवसर र विभिन्न स्वादका खानाका परिकारहरूसहित यो एक्स्पो यहाँहरूका लागि उत्कृष्ट अनुभव हुनेछ।
प्रतिक्रिया दिनुहोस !