मिटरब्याज पीडितमाथि प्रहरीले बल प्रयोग गरेकोमा मानवअधिकार आयोगको ध्यानाकर्षण

मिटरब्याज पीडितमाथि प्रहरीले बल प्रयोग गरेकोमा मानवअधिकार आयोगको ध्यानाकर्षण
सुन्नुहोस्

काठमाडौं : मिटरब्याज पीडितमाथि प्रहरीले बल प्रयोग गरेकोमा राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

आयोगले मंगलबार विज्ञप्ति जारी गरेर न्यायको माग राखी विगत केही दिनदेखि काठमाडौंको शान्ति वाटिकामा धर्नामा बसेका मिटरब्याज पीडितहरूमाथि प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरी घाइते बनाएको एवं धरपकड गरिएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको हो। 

घटनाको आयोगले स्थलगत अनुगमन गरेको छ। मिटरब्याज पीडितहरू प्रधानमन्त्रीलाई भेट्ने तयारीका साथ शान्ति वाटिकाबाट निस्केको अवस्थामा प्रहरीबाट रोक लागाइएको र सोही क्रममा झडप भएको आयोगको अनुगमनबाट पाइएको छ। 

सो क्रममा धर्नामा रहेका व्यक्तिहरूलाई प्रहरीले अत्यधिक बल प्रयोग गर्दै धरपकड गरेको पीडितहरूले प्रयोग गरिरहेको खाना पकाउने ग्याँस, खाद्यान्नलगायतका सामग्रीहरू जबर्जस्ती गरी लगिएको, धर्नामा रहेका प्रदर्शनकारी र वृद्धवृद्धाहरूलाई समेत नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबको भवन परिसरमा लगी कुटपिट गरिएको आयोगको अनुगमनबाट पाइएको छ। 

प्रहरीको कुटपिटबाट घाइते भई काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत व्यक्तिहरू, अस्पताल प्रशासन तथा महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएका व्यक्तिहरूलाई समेत आयोगको अनुगमन टोलीले भेटेर जानकारी लिएको छ। 

घाइतेहरूमध्ये अधिकांशलाई टाउकोमा चोट लागेको र ट्रमा सेन्टरमा उपचाररत तीन जना गम्भीर घाइते भएको आयोगको अनुगमनको क्रममा पाइएको आयोगले जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ, 'उल्लिखित घटनाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा १९, नेपालको संविधानको धारा १७ एवम् नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा १९ मा उल्लेखित नागरिकको मर्यादित रुपमा विचार राख्ने र शान्तिपूर्ण गतिविधि गर्ने स्वतन्त्रताको गम्भीर उल्लंघन भएको छ। नागरिकहरूका यी अधिकारहरूको सुनिश्चितता गर्नु राज्यको दायित्व हुन्छ।'

'अतः नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचारहरू राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीहरूमाथि अत्यधिक बल प्रयोग नगर्न, घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवादमार्फत समस्याको समाधान गर्न आयोग नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ। साथै विरोध र प्रदर्शन गर्दा मर्यादित र शान्तिपूर्ण रुपमा गर्न धर्नामा बसेकाहरूलाई समेत आयोग अनुरोध गर्दछ', विज्ञप्तिमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.