उपचुनावको भिडन्तमा दलहरू

उपचुनावको भिडन्तमा दलहरू

बारा २ मा शक्ति प्रदर्शनको होड देखिएको छ। चितवन २ को उपचुनावलाई दलहरूले प्रतिष्ठाको लडाइँ बनाएका छन्। तनहुँ १ मा त्रिकोणात्मक रोचक कडा प्रतिस्पर्धा हुने विश्लेषक बताउँछन्।

बारा/चितवन/तनहुँ : राजनीतिक दलहरू यही वैशाख १० गते हुने उपचुनावको नतिजा आफ्नो पक्षमा पार्न जोडतोडका साथ लागिपरेका छन्। उम्मेदवार त मतदाता फकाउन लागेकै छन्, शीर्ष नेताहरू चुनावी अभियानमा जोडिएका छन्। जो आआफ्ना उम्मेदवारले जित हासिल गर्ने दाबी गरिरहेका छन्। 

बारा २ मा शक्ति प्रदर्शनको होड देखिएको छ। चितवन २ को उपचुनावलाई दलहरूले प्रतिष्ठाको लडाइँ बनाएका छन्। तनहुँ १ मा त्रिकोणात्मक रोचक कडा प्रतिस्पर्धा हुने विश्लेषक बताउँछन्। 

बारामा शक्ति प्रदर्शनको होड

बारा क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेको छ। वैशाख १० गतेको उपनिर्वाचनका लागि राजनीतिक दलहरूको शक्ति यही क्षेत्रमा देखिन्छ। चुनावको नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवार र नेताहरूको दौडधुपले माहोल तातेको छ। यो क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव सत्तारुढ दलबाट साझा उम्मेदवार बनेका छन्।

यसअघि जनमतका अध्यक्ष डा. सीके राउतसँग सप्तरीमा पराजित यादवलाई बारा २ मा पनि जित निकाल्न सहज देखिँदैन। यहाँ डा. राउत नै चुनौती बनेका छन्। उनले मंसिरको चुनावमा थोरै मतान्तरले पराजित शिवचन्द्र कुशवाहालाई चुनावी मैदानमा उतारेका छन्। आफ्ना पार्टीका उम्मेदवारको मनोनयन दर्तापछि डा. राउत बारामै बसिरहेका छन्। उनले सम्हालेको चुनावी कमान्डलाई उछिन्दै जित निकाल्न यादवलाई सकस देखिन्छ। आफ्नै उम्मेदवार कुशवाहाको जित सुनिश्चित रहेको दाबी डा. राउत गरिरहेका छन्। 

‘जसले आफ्नै चुनावी क्षेत्रमा केही गर्न सकेन। पराजित भएर अहिले बारा आएको छ। उसले यहाँ चुनाव जित्ने आधार नै छैन’, उनले भने, ‘धर्तीपुत्रले चुनाव जित्ने निश्चित छ।’

आफ्नो उम्मेदवारको प्रचारभन्दा पनि डा. राउतले आफू नै उम्मेदवार भए जसरी मत मागिरहेको यादवले बताए। ‘आफ्नो उम्मेदवारको सामाजिक छविका कारण राउतले आफू नै उम्मेदवार भए जसरी मत मागिरहेका छन्’, यादवले भने, ‘यो सबै जनता झुक्याउने फर्जी कुरा हो। फर्जी काम गर्न राउत बारामा पनि आएका छन्।’

राउतलाई यादवले परिचालित व्यक्तिको संज्ञा दिएका छन्। ‘उपेन्द्र यादव हार्छ भन्दै गरेको बोली राउतको होइन अरूको हो। मुख उहाँको तर भनाइ अरूको हो’, उनले भने, ‘राउतले त जागिर खाइरहनुभएको छ।’

मधेस केन्द्रित दलका दुई शीर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउने दाउमा एमाले देखिन्छ। एमालेले पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई चुनावी मैदानमा उतारेको छ। बाराको भूमिमा राजनीतिक जीवन बिताएका पौडेल पनि चुनाव जित्नेमा आफू ढुक्क रहेको बताउँछन्। ‘जनताको साथ एमालेले प्राप्त गरिरहेको छ। काम गर्ने पार्टी कुन हो भनेर जनताले बुझेका छन्’, पौडेलले भने, ‘त्यसैले पनि एमालेको जित सुनिश्चित देखेको छु।’

एमालेको चुनावी अभियानमा शीर्ष तहका नेता सहभागी भइरहेका छन्। त्यसबाहेक बारा १ बाट निर्वाचित पोलिटब्युरो सदस्य अच्युत मैनाली र बारा ३ बाट निर्वाचित पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह पौडेल प्रचारमा सक्रिय छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेश खरेल र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली पनि सक्रियताका साथ लागेका छन्। चुनाव जित्ने तर विकास नगर्ने परिपाटीको अन्त्य गर्न आफू उम्मेदवार भएको खरेलको भनाइ छ। आफ्नो एजेन्डा लिएर घरदैलोमा पुग्दा मतदाता निकै उत्साहित भएको उनले सुनाए। भने, ‘प्रहरी संगठनमा रहँदा मधेसलाई आफूले बुझेको र मधेसका जनताले बुझेका कारण मेरो जित सुनिश्चित छ।’

प्रभु साह नेतृत्वको आमजनता पार्टीका ज्ञवालीले चुनावको नतिजा आफ्नो पक्षमा आउने दाबी गरे। जनतामाझ आफूले एजेन्डा प्रस्तुत गरिरहेको र मतदाताबाट राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाइ छ। ‘घरदैलो अभियानभन्दा पनि सभा गरेर आफ्नो एजेन्डा राखिरहेको छु। चुनाव जित्ने रणनीतिसहित अघि बढिरहेको छु’, उनले भने।

ज्ञवालीले मंसिरमा स्वतन्त्र उम्मेदवार भई ७ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए। उनको चुनावी अभियानमा अध्यक्ष साह सक्रिय भएर लागेका छन्।

चितवन २ मा प्रतिष्ठाको लडाइँ 

चितवन क्षेत्र नम्बर २ मा रास्वपाले मंसिरको निर्वाचनमा अन्य दलको कार्यकर्ताको मतसमेत पाएको थियो। उपनिर्वाचनमा रास्वपा अध्यक्ष रवि लामिछाने जित दोहोर्‍याउन लागिपरेका छन्। कांग्रेस र एमाले पार्टीको लय फर्काएर प्रतिष्ठा जोगाउने कसरतमा छन्। कांग्रेसले निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ र एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई चुनावी मैदानमा उतारेका छन्। 

लामिछानेका समर्थक यसपटक मतान्तर बढ्ने दाबी गर्छन्। लामिछाने आफू घेराबन्दीमा परेको भन्दै मतदाता फकाउन व्यस्त छन्। तर, उनको पहिलेजस्तो माहोल देखिएको छैन। चर्चासँगै आलोचना पनि उत्तिकै छ। नागरिकता प्रकरण र राहदानी विवादले आलोचित लामिछाने घरदैलोको क्रममा प्रश्नहरूको सामना गर्दै स्पष्टीकरण दिन बाध्य छन्। 

‘व्यक्तिलाई भोट हाल्ने होइन, अभियानलाई भोट हाल्ने हो’, लामिछानेले चुनावी सभामा भने, ‘म चितवनबाट हुर्किएको बिरुवा हुँ। यहीबाट मलजल गरेर हुर्किएको हुँ। यो पटक पनि जनताको माया पाउँछु।’

कांग्रेस र एमाले आफ्नो लयमा फर्किंन प्रयासरत छन्। कांग्रेस उम्मेदवार श्रेष्ठ पार्टीभित्रको असन्तुष्ट पक्षलाई मिलाउँदै अघि बढेका छन्। असन्तुष्ट कार्यकर्तालाई फकाउने रणनीतिमा उनी सक्रिय छन्। केन्द्रीय सदस्य रहँदै बागी उठेर कारबाहीमा परेका दिनेश कोइराला, पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेल श्रेष्ठलाई जिताउन लागिपरेका छन्। पूर्वजिल्ला सभापति विकास कोइराला कारबाही फिर्ता भएपछि मैदानमा खटिएका छन्। 

‘जनताका लागि यही भूमिमा पसिना बगाएको छु। सडक तताएको छु। दुःखमा पहाड उक्लिएको मान्छे हुँ। त्यसैले पार्टीको विश्वास लिएर अघि बढेको यात्रामा म विजयी हुनेछु’, कांग्रेस उम्मेदवार श्रेष्ठले भने, ‘यही भूमिमा हुर्किएको मान्छे हुँ। त्यसैले सबैको विश्वास ममाथि छ।’ 
आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानेलाई जिताउन एमाले नेताहरू लागेका छन्। ‘एमाले पुरानो लयमा फर्किएको छ। हामी निर्वाचन जित्ने लक्ष्यमा छौं’, न्यौपानेले भने , ‘अघिल्लो पटक नियन्त्रणबाहिर रहेका मत फर्काउन हामी लागेका छांै।’ 

तनहुँमा त्रिकोणात्मक रोचक प्रतिस्पर्धा 

गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्लेबीच त्रिकोणात्मक भिडन्त हुने आकलन चलिरहेको छ। यी तीनै उम्मेदवार यस क्षेत्रका लागि नयाँ अनुहार भएकाले पनि उपनिर्वाचन झनै रोचक बनेको छ।

यो क्षेत्रमा २०४८ सालयता (२०७४ बाहेक) हरेक निर्वाचनमा कांग्रेसले जित हासिल गरेको छ। भट्टराईले उपनिर्वाचनमा पौडेलको उत्तराधिकारीका रूपमा आफूलाई उभ्याएका छन्। उनलाई पौडेलको साख जोगाउनुपर्ने चुनौती छ। एमालेको मजबुत संगठन र कांग्रेस छाडेर रास्वपाबाट उठेका अर्थविद् वाग्लेले मत काट्न सक्ने भएकाले कांग्रेस जित्नेमा ढुक्क हुन सकेको छैन। 

कांग्रेसले भट्टराईको पक्षमा प्रचारका लागि दिनहुँझै केन्द्रीय नेताहरू उतारिरहेको छ। उम्मेदवारी दर्ता गर्न पार्टीले महामन्त्री गगनकुमार थापालाई पठाएको थियो। त्यसयता उपसभापति धनराज गुरुङ, नेताहरू प्रकाशमान सिंह, डा.शेखर कोइराला, डा.मीनेन्द्र रिजाल, प्रदीप पौडेललगायत तनहुँ आएर भट्टराईको पक्षमा मत मागेका छन्। बुधबार डुम्रेमा हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तनहुँ आउने कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताए। 

गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई माओवादी, एकीकृत समाजवादी र जसपाको साथ छ। एकीकृत समाजवादीले भट्टराईलाई जिताउन भन्दै पूर्वमन्त्री एवं सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’लाई आइतबारदेखि फिल्डमा खटाएको छ।

आफू लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै विकास निर्माणमा जोडिएको हुनाले मतदाताको राम्रो साथ र समर्थन पाउने भट्टराईले बताए। गत मंसिरको निर्वाचनमा पौडेलले ल्याएको मतभन्दा धेरै मतान्तरले जित्ने दाबी उनी गर्छन्। ‘यही जन्मे, हुर्कें र यही क्षेत्रको विकासका लागि काम गरिरहेको छु। म निर्वाचित भएँ भने यस क्षेत्रको विकास पनि हुन्छ’, उनले भने, ‘हिजोजस्तै लोकतन्त्र संकटमा पर्‍यो भने लोकतन्त्रको संरक्षणमा यो मान्छे लाग्छ भन्ने जनतामा विश्वास छ। सबै भेगका जनताको अपार सद्भाव छ। हाम्रो जित सुनिश्चित छ। पहिलेको भन्दा ज्यादा मतान्तरले जित्छु।’ 

उनले आफ्नो जितको मुख्य आधार महिला, युवा, विद्यार्थी र लोकतन्त्रप्रेमी सबै भएको बताए। ‘म खानेपानीको अभियन्ता हुँ। गाउँ–गाउँमा खानेपानीको अभियान लगेर टाढा–टाढाका कुवाबाट पानी बोक्ने बाध्यतामा रहनुभएका महिला दिदीबहिनीहरूको थाप्लोबाट नाम्लो हटाएको छु’, उनले भने, ‘मैले नेवि संघको नेतृत्व गरंँ, तरुण दलको महासचिव भएर काम गरंँे, युवा विद्यार्थी मेरै समूहमा पर्नुहुन्छ भने भ्रष्टाचारको विरोधी अभियानहरू चलाएको मान्छु हुँ म। त्यसैले पनि भ्रष्टाचारका विरोधी मेरै पक्षमा हुनुहुन्छ।’ 

चुनावी प्रचारको माहोल हेर्दा रास्वपाका डा. वाग्लेको पक्षमा पनि कम जनमत देखिँदैन। पुराना दलबाट वाक्क युवा उनको पक्षमा खुलेका देखिन्छन्। कांग्रेसका असन्तुष्ट पक्ष र युवा तथा महिला समूह वाग्लेप्रति आकर्षित देखिन्छन्। रास्वपाका प्रत्येक सभाहरूमा बाक्लो भीड देखिने गरेको छ। सामाजिक सञ्जालमा वाग्ले छाएका छन्। 

  •     चुनावी नतिजा आफ्नो पक्षमा पार्न जोडतोडका साथ लागिपरेका छन् दलहरू 
  •     बारा २ मा शक्ति प्रदर्शनको होड 
  •     चितवन २ मा प्रतिष्ठाको लडाइँ 
  •     तनहुँ १ मा त्रिकोणात्मक रोचक कडा प्रतिस्पर्धा 

एमालेको पकेट मत दायाँ–बायाँ नभएको अवस्थामा कांग्रेसको मत काटे पनि डा. वाग्लेलाई चुनाव जित्न भने गाह्रो देखिन्छ। वाग्लेलाई विवेकशील साँझा पार्टी र हाम्रो नेपालीले समर्थन गरेका छन्। चुनावी अभियानको क्रममा एमाले र कांग्रेसका उम्मेदवार भने वाग्लेमाथि आक्रामक रूपमा प्रस्तुत भइरहेका देखिन्छन्।

जनताको विश्वास र भरोसाले आफूले चुनाव जित्ने डा.वाग्लेले बताए। भने, ‘चुनावी माहोल निकै राम्रो छ। मतदाताको घरदैलोमा गइरहेको छु। मेरा निश्चित कार्य सूचीहरू जनतालाई बताइराखेको छु। उहाँहरूको विश्वास भरोसाले नै मैले चुनाव जित्छु। यति, उतिले जित्छु अहिल्यै नभनौं।’
स्थानीय मुद्दामा सहकार्य गर्ने र राष्ट्रिय विधायकका रूपमा मुलुककै भविष्य कोर्ने प्रतिबद्धता उनले जनाए। ‘यहाँका जनताले मलाई शानदार मतका साथ जिताएर पठाउनु हुनेछ। ताकी तनहुँलाई न्याय गर्न सकुँ। देशमा केही योगदान गर्न सक्छु।’ 

मतका आधारमा एमाले पनि त्यति कमजोर छैन। आफ्नो मत जोगाउँदै कांग्रेसप्रति असन्तुष्ट मतदाता र गोविन्दराज जोशी समूहको मत तान्न सके एमाले बलियो बन्ने देखिन्छ। सर्वेन्द्र खनाललाई मतदाताको विश्वास दिलाएर आफ्नो पक्षमा मत तान्न कठिन भएकोे छ। तापनि भट्टराई र वाग्लेको कडा प्रतिस्पर्धा हुँदै गर्दा मत बाँडिएको खण्डमा एमाले फाइदा उठाउने दाउमा छ।

जनतालाई यो गठबन्धन मन नपरेको र वैचारिक स्पष्टता नभएकाले आफू स्पष्ट दृष्टिकोणले अगाडि बढेको र जित सुनिश्चित रहेको एमाले उम्मेदवार खनाल बताउँछन्। ‘कांग्रेसले धेरै वर्षसम्म झुटा आश्वासन बाँडे, बाटोघाटोसमेत व्यवस्थित नभएको अवस्था छ। यी सबै कुरा जनताले बुझ्नुहुन्छ। जनतामा धेरै असन्तुष्टिहरू छन्। विवेकी मतदाता हुनुहुन्छ। न्याय गर्नुहुन्छ भन्ने लाग्छ’, उनले भने, ‘कुन दल कहाँ छ, कसले कसलाई भोट हाल्ने, कसलाई जिताउने, कुन चाहिँको वैचारिक स्पष्टताका साथ अगाडि बढ्ने, कल्ले राखेको घोषणापत्र लिएर अगाडि बढ्ने हो भन्ने अन्योलता छ। म स्पष्ट दृष्टिकोण लिएर पार्टीको घोषणा पत्रलाई पूर्णरूपमा कार्यान्वयन गर्ने दृढताका साथ अगाडि बढेको छु। त्यसैले पनि विवेकी मतदाताले अमूल्य मत दिएर मलाई जिताउनु हुनेछ भन्नेमा ढुक्क छु।’

खनालको प्रचार एवं चुनावी अभियानका लागि एमालेले महेश बस्नेतको नेतृत्वमा एक बुथमा सय युवा परिचालन गर्ने जनाएको छ। 

उपनिर्वाचनमा भट्टराई, खनाल र डा. वाग्लेबीच कडा प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषक कमल मोहन वाग्ले बताउँछन्। ‘चुनाव जित्ने आधार बेस हो। कांग्रेस उम्मेदवार गोविन्दजी यो क्षेत्रमै जन्मेर, हुर्केर, भिजेर यही क्षेत्रको विकासमा निरन्तर लाग्नु भएको शालिन व्यक्ति हुनुहुन्छ। एमालेका सर्वेन्द्र खनाल जी पनि लामो समय प्रहरी सेवामा रहेर उच्च पदमा पुगेर सामाजिक क्षेत्रमा लागेको अनुभवी व्यक्ति हुनुहुन्छ।

रास्वपाका स्वर्णिम वाग्ले पनि योजना आयोगको उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ’, उनी भन्छन्, ‘यी तीनै जना उम्मेदवार आआफ्नो ठाउँ र क्षेत्रमा अब्बल हुनुहुन्छ। विगतको निर्वाचनलाई मूल्यांकन गर्दा कांग्रेस बलिलो अवस्थामा छ, एमालेको आफ्नै मत छ भने रास्वपाप्रति युवा तथा महिलाको लहर र आकर्षण छ। त्यसैले यही अवस्था रह््यो भने कडा प्रतिस्पर्धा हुने मेरो विश्लेषण छ।’ 

उनका अनुसार कांग्रेस र एमाले यो जिल्लाको लागि स्थापित पार्टी भएकाले उनीहरूको आफ्नै किसिमको संगठन, कार्यकर्ता र भोट बैंक छ। रास्वपाको यहाँ भोट बैंक छैन। ‘सांगठनिक रूपमा कांग्रेस र एमाले बलियो भए पनि असन्तुष्ट पक्षको मत स्वर्णिमले तान्ने सम्भावनालाई नकार्न सकिन्न’, उनले भने, ‘गोविन्द र स्वर्णिमजीको प्रतिस्पर्धा हुँदाको अवस्थामा बीचबाट सर्वेन्द्रजी निवाचित भएर आउन सक्ने सम्भावना पनि उत्तिकै छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.