
काठमाडौं : प्रहरीले मिटरब्याज पीडितमाथि सोमबार गरेको दमनको विरोधमा बृहत् नागरिक आन्दोलनले शान्तिवाटिदेखि संसद् भवन बानेश्वरसम्म मार्च पास गरेको छ। सोमबार मिटरब्याज पीडतमाथि शान्तिवाटीमा प्रहरी दमन गर्दा ४३ जना घाइते भएका थिए। पीडितहरूको टाउको र हात भाँचेको थियो।
प्रहरीले गरेको अनावश्यक, निर्मम र अमानवीय दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मार्च पास गरिएको हो।
दमनका दौरान प्रहरीले शान्तिवाटिकाको पर्खालभित्र थुनेर अश्रुग्याँस र पानीको फोहोराले प्रहार गर्दै पीडितमाथि लाठी बर्साएको थियो। शान्तिपूर्ण ढंगले विरोध प्रदर्शनका निम्ति शान्तिवाटिकाबाट निस्कन लागेका महिलाहरूलाई लछारपछार गरेर, किसान-मजदुरलाई टाउकोमा ताकेर प्रहरीले लठ्ठी प्रहार गरेको थियो।
शान्तिवाटिकाबाट समातिएका पीडितहरूलाई प्रहरीले महेन्द्र पुलिस क्लबभित्र लगेर थप कुटपिट गरेको थियो। 'नागरिकलाई सुरक्षा दिनुपर्ने भूमिकामा रहेको प्रहरीले शान्तिवाटिकामा भएको किसानका भान्छामा क्षति पनि पुर्यायो। यो घटना गम्भीर मानव-अधिकारको हनन् हो। यसरी मानव-अधिकार उलंघन गर्ने दोषीहरूको छानबिन गरी कारबाही गर्न जोड्दार माग गर्दछौं,' बृह्त नागरिक आन्दोलनले विज्ञप्ति निकाल्दै भनेको छ, ‘एकातिर मिटरब्याजजस्तो अत्याचारी र अलोकतान्त्रिक व्यवस्थाको चरम शोषण र आतंकमा मजदुर किसानहरू छन्। अर्कोतिर उनीहरूको न्यायको संघर्षमाथि नै निर्मम दमनमा उत्रेर सरकारले मानव-अधिकार र लोकतन्त्रिक मान्यताको ठाडो उलंघन गरेको छ।’
त्यस्तो गम्भीर विषयमा राजनीतिक दल, जिम्मेवार संघसंस्था र विभिन्न आयोगहरूलगायतले देखाइरहेको उदासीनता समेत उदेकलाग्दो रहेको जनाएको छ।
तस्बिर : अभिषेक महर्जन
प्रतिक्रिया दिनुहोस !
