प्रतिनिधिसभा बैठक बस्दै : टीआरसी विधेयक अघि बढाउन विशेष समिति बनाइँदै
काठमाडौं : संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन विशेष समिति गठन गरिने संभावित कार्यसूचीमा उल्लेख छ।
कार्यसूचीअनुसार बैठकमा ईश्वरी देवी न्यौपानेले प्रतिनिधिसभा नियमावली,२०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनी सदस्यहरू नामावली सहितको प्रस्ताव पेश गर्ने र प्रस्तावको सांसद रघुजी पन्तले समर्थन गर्नेछन्।
यस्तै बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाई समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ।
प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले 'संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक,२०७९ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसपछि सोही विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थक प्रस्तुत गरिने संभावित कार्यसूची छ।
अन्तमा प्रधानमन्त्री प्रचण्डले 'संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक,२०७९ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।