उत्तरी गोरखाको नाम्रुङ र चुम्लिङमा खाद्य व्यवस्थाको बिक्री केन्द्र राखिने

उत्तरी गोरखाको नाम्रुङ र चुम्लिङमा खाद्य व्यवस्थाको बिक्री केन्द्र राखिने
गोरखास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय ।तस्बिर : शिव उप्रेती
सुन्नुहोस्

गोरखा : उत्तरी गोरखाको नाम्रुङ र चुम्लिङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्रीकेन्द्र सञ्चालन गर्ने निर्णय भएको छ । गत बैशाख ३ गते आपूर्ति मन्त्रालय र कम्पनीको बोर्ड बैठकले चुमनुब्री गाउँपालिका वडा नं.१,२,४ र ५ का बासिन्दाका लागि वडा नं. ४ को नाम्रुङमा र वडा नं. ६ र ७ का बासिन्दाका लागि वडा नं. ६ चुम्लिङका लागि बिक्रीकेन्द्र राख्ने निर्णय गरेको हो ।

सडक सञ्जालले नछोएका दुर्गमबस्तीका बासिन्दालाई खाद्यान्नको समस्या हुन नदिनका लागि दुई ठाउँमा बिक्रीकेन्द्र सञ्चाल नगर्ने निर्णय गरेको कम्पनीको शाखा कार्यालय गोरखाका प्रमुख मुनिलाल कुशवाहले जानकारी दिए ।

‘निर्णय बैशाख ३ गते भए पनि हामीलाई सोमबार मात्र परिपत्र आयो,'कुशवाहले भने,‘कम्पनीको गोरखा शाखाले जिल्ला स्तरीय विपत व्यवस्थापन समितिसँग सिफारिस लिई बारम्बार पहल गरिरहेका थियौं । हामीले त डिपोका लागि पहल गरेका थियौं तर विक्री केन्द्र भनेर स्वीकृति भएछ ।’ 

ती दुबै डिपोमा पाँच–पाँचसय क्वीण्टल चामल पठाउने तयारी गरिरहेको उनले बताए । ‘बर्खा सुरु हुनअघि नै पाँच–पाँचसय क्वीण्टल चामल सम्बन्धित बिक्री केन्द्रमा पुर्‍याउँछौं,'शवाहले भने, ‘हाम्रा ठेकेदार जान्छन् । जनप्रतिनिधिसित मिलेर चामल बेच्छन् र पैसा कम्पनीलाई बुझाउँछन् ।’ 

हाल यी दुवै केन्द्रमा सोनामन्सुली चामल प्रतिबोरा(३० किलो) १८ सय र जिरा मसिनो चामल प्रतिबोरा(२५ किलो)को २२ सय रुपैयाँमा बिक्री गरिने उनले बताए । गोरखामा सिर्दिबासको फिलिम र धार्चेको माछाखोलामा खाद्य डिपो छन् । 

माछाखोलाका लागि पाँचसय क्वीण्टल र सिर्दिबासका लागि यो वर्षका लागि ३५ सय क्वीण्टल चामल ढुवानी गर्न ठेक्का लागि सकेको छ । ठेक्का भएकामध्य सिर्दिबासका लागि २७ सय क्वीण्टल ढुवानी भइसकेको छ । माछाखोला डिपोमा भने चामल बिक्री नभएका कारण नओसारिएको कुशवाहले बताए । त्यहाका लागि ६५ क्वीण्टल मात्र पठाएको र त्यो पनि बिक्री नभएको उनको भनाइ छ ।

आफूहरुले डिपो माग गरेको तर सरकारले बिक्रीकेन्द्र मात्र दिएको भन्दै वडा अध्यक्षहरूले गुनासो गरेका छन् । ‘गोदाम होस्, त्यहाँ कम्पनीका कर्मचारी होउन् । यो दिनमा बाँड्ने भएनेपछि कम्पनीका कर्मचारी जाउन्, बेचुन् । हामीले यस्तो खालको संरचना माग गरेका थियौं,' वडा नं. ६ का अध्यक्ष सरोज लामा भन्छन्,‘तर अहिले भनेसुने अनुसार हामीले कुन घरलाई कति चामल चाहिएको छ भनेर तथ्यांक संकलन गर्ने, पैसा पनि उठाउने र कार्यालयलाई बुझाएपछि मात्र चामल पठाउने रे । यस्तो त हामीले माग गरेको होइन । यस विषयमा कार्यालयले हामीसित सरसल्लाह पनि गरेको छैन ।’ 

गाउँलेहरूसित पैसा उठाएर कम्पनीलाई बुझाउने काम वडा कार्यालयले गर्न नसक्ने उनको भनाइ छ । आफ्नो वडाको वडा कार्यालय गपमा रहेको र केन्द्र पनि गपमा पर्ने हुँदा खाद्यको इकाइ गपमा राख्नुपर्छ भन्ने आफूहरूको माग नसुनी एकातर्फी निर्णय गरेको भन्दै वडा नं. ४ का वडाअध्यक्ष पेमा ग्याल्बो लामाले गुनासो गरेका छन् । 

कम्पनीका गोरखा कार्यालय प्रमुख कुशवाहले भने यो प्रारम्भिक चरण भएकाले केही कठिनाइ आए पनि आपसी समन्वयमा समाधान गर्दै जाने विश्वास व्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.