घण्टी बज्यो, बजिरहला ?
नागरिकले यसपटक नयाँ शक्तिलाई विकल्पको रूपमा लिएका होइनन् । नयाँले जितेको भन्दा पनि पुरानाले हारेका हुन् ।
पुराना दलमाथि खतराको घण्टी बजेको तर्क गर्न थालिएको छ। नेताहरूले बानी नफेर्दा नागरिकले मत फेर्न थालेको देखिन्छ।
पछिल्लो समय राजनीतिक दललक्षित ‘सक्किने कि सच्चिने’ भन्ने बहसको बगावत नै उर्लिएको छ। गएको उपनिर्वाचन परिणामपछि राजनीतिमा नयाँ तरंग सिर्जना भयो। विशेष गरी रास्ट्रिय स्वतन्त्र पार्टीको अद्भूतपूर्व विजयलाई लिएर यस्तो चर्चा-परिचर्चा हुँदैछ। रास्वपाले जितेका दुवै ठाउँमा पहिलेभन्दा मत उल्लेख्य बढाए। अन्य दलको मत पहिलेभन्दा पनि घट्दो देखियो। पुराना दलमाथि खतराको घण्टी बजेको तर्क गर्न थालिएको छ। नेताहरूले बानी नफेर्दा नागरिकले मत फेर्न थालेको देखिन्छ।
तर, यसरी राजनीतिक शक्तिको समीकरणमा निरन्तरको फेरबदल भने स्वाभाविक प्रक्रिया हो। पहिलो पटकमात्र यस्तो प्रवृत्ति देखिएको होइन। २०६४ सालको निर्वाचनमा माओवादीले अप्रत्यासित सफलता हात पार्यो। दोस्रो निर्वाचनमा जाँदा उसको हैसियत धेरै कमजोर भयो। १० वर्षको लगानीमा बनेको पार्टी १० वर्षमै अस्तित्वको लगभग संकटमा आयो। त्यसपछि नेपाली कांग्रेस, एमाले अनि फेरि कांग्रेस क्रमशः राजनीतिको प्रधान शक्तिका रूपमा खडा भए। मधेस राजनीतिमा पनि यस्तै परिदृश्य सबैलाई जगजाहेर नै छ।
अमेरिकामा पनि एक डेमोक्र्याट राष्ट्रपति भएपछि अर्को व्यक्ति रिपब्लिकबाट आएको देखिन्छ। लगातार दोस्रो व्यक्ति एकै दलबाट निर्वाचित भएको देखिँदैन। उही व्यक्ति अर्को कार्यकालका लागि निर्वाचित भएका चाहिँ छन्। विश्वका अधिक देशमा नयाँ दलहरू खुलेका छन् र सुरुआतमै राम्रो राजनीतिक हैसियत प्राप्त गरेका छन्। पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान क्रिकेटको अनुभवसँगै राजनीतिमा आए र एकाएक सफलता कमाए। युक्रेनका बक्सिङ खेलाडी भित्ली क्लक्स अनि लाइबेरियाका फुटबल टिम प्रमुख जर्ज वोयको राजनीतिक पदार्पणसमेत राम्रै भयो। राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ र सुरुआती राजनीतिक छलाङ राजनीतिको अद्वितीय र अस्वाभाविक चरित्र भने हैन। अनि अब यही दलका कारण अन्य सबै दलको भविष्य सखाप हुन्छ भन्ने तर्क अलि छिटो र उत्तेजनात्मक अभिव्यक्तिमात्र नहोला भन्न पनि सकिँदैन।
नागरिकले अहिले पनि यो शक्तिलाई विकल्पका रूपमा लिएका भने होइनन्। केवल निराशा व्यक्त गरेका हुन्। नयाँले जितेको भन्दा पनि पुरानाले हारेका हुन्। पुराना दललाई विस्थापित गरेका हैनन् केवल सतर्क गराएका हुन्। लोकप्रिय मतका आधारमा पनि चौथो स्थानमात्र प्राप्त छ। यदि आशातीत सुधार तथा रूपान्तरण भएमा अभैm पनि नागरिकको अनुबन्धता पुरानै दलहरूमा रहने स्पस्ट छ। उनीहरूको संगठन र जनसम्पर्क बलियो छ। भावना तथा आत्मीयतासमेत तुलनात्मक हिसाबले प्रगाढ छ। यो निर्वाचन परिणामसँगै अन्य सबै दललाई पनि नयाँ बाध्यताचाहिँ आइपरेको छ। अब चुनावमा लोकप्रिय र विज्ञ अनि काबिल प्रत्याशी प्रस्तुत गर्न दबाब बढेको छ। हरेक दल शुद्धीकरणको बाटोमा लाग्नेछन्।
अहिलेसम्म पूर्णराजनीतिक पृष्ठभूमिका समान खालका प्रत्याशीबीच मात्र प्रतिस्पर्धा हुने गथ्र्यो। अब सबै दलले खोजीखोजी योग्य र विश्वासिला व्यक्तिको प्रतिस्पर्धा गराउनेछन्। पोलिटिकल मेरिटोक्रेसीको अभ्यास सुरुआत हुनेछ। कवि भूपि शेरचनले लेखेका छन्– ‘हामीले कर्तव्य बिर्से इतिहासले धिक्कार्ला।’ यदि नेताहरूले कर्तव्य बिर्सिए त केही भन्न सकिन्न। अहिलेका सबै दलका सबै अध्यक्षको सायद यही नै अन्तिम कार्यकाल हो। उनीहरूलाई अब पार्टी रहे वा नरहे पनि फरक पर्दैन। तर, त्यही दलका आगामी अपेक्षित र सम्भावित नेतृत्वले अब पार्टीभित्र शुद्धीकरणको सघन अभ्यासचाहिँ गर्नेछन्। यस्तो बाध्यता उनीहरूलाई त जीवन र मरणको सवाल बन्नेछ।
यही दलले पनि पाँच वर्षको कालान्तरमा यस्तै आकर्षण र विश्वास कायम राख्नेमा निकै शंका छ। विस्तारै उसका कार्यसम्पादन र अरू कमजोरीका कारण कमजोर हँुदै जानेछ। सरकारमा जान जुन खालको आशक्ति थियो, त्यसको समेत कडा आलोचना भएकै हो। कुनै नीति र सिद्घान्तभन्दा पनि व्यक्ति केन्द्रित हँुदै गएकोमा यसका आमशुभेच्छुक चिन्तित छन्।
नैतिक विचलन अनि आर्थिक अपचलनमा फस्दै जाने सम्भावना नकार्न सकिँदैन। पूर्वसभासद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरण सुरुआतमात्र हुनसक्छ। अहिलको राजनीति इटरनल (स्थायी स्वभावको) भन्दा पनि इफेमेरल (क्षणिक उत्तेजना) अथवा भाइरल नेचरको हुन्छ। छिट्टै आउने र छिट्टै हराउने गर्छ। दिगो तथा आधार तहसम्म नपुग्दै सेलाएर जान्छ। साझा विवेकशील पनि यस्तै उत्साहको साथ आएको थियो तर यसपटक गुमनाम रह्यो।
अहिले नै रास्वपालाई सरकारमा स्वागत गर्न तत्पर भएको अफर पठाउनु यसैको सुरुआत हो। सरकारमा लैजाने र केही काम गर्न नसक्ने गरी कमजोर कार्यसम्पादनको अवस्था बनाएर आम आकर्षण घटाउने अस्त्र सबैभन्दा बलियो हुन्छ। सम्भवतः आगामी निर्वाचनसम्ममा अन्य दुईदेखि पाँचसम्म यस्तै प्रकृति र स्वभावका नयाँ दल खुल्नेछन्। जसले आमनागरिकलाई दुविधा बढाउने, रास्वपालाई प्रतिस्पर्धी बढाउने अनि पुरानालाई फाइदा बढाउने भूमिका निभाउने छ। आगामी निर्वाचनको समयसम्ममा विदेशमा बस्नेले समेत मताधिकार प्रयोग गर्न सक्नेछन्। ‘राइट टू रिजेक्ट’ पनि लागू हुनेछ।
एक अथवा दुई राम्रो मानिस निर्वाचित भएरमात्र देश बन्दैन। अधिक राम्रा मानिसको समूह नै आउनुपर्छ, ‘मेघा लन्च’को स्थिति बन्नुपर्छ। नयाँ दलले पनि त्यो स्तरमा बृहत् अभियानको अद्भूदय गर्ने सोच र सामाथ्र्य राख्न सकिरहेको छैन। चितवनबाट रवि लामिछाने र हरि ढकाल, तनहुँबाट डा. स्वर्णिम वाग्ले अनि ललितपुरबाट डा. तोसिमा कार्कीबाहेक अन्य निर्वाचित एकदमै थोरै मतान्तरले मात्र विजयी भएका हुन्। प्रत्यक्ष निर्वाचनमा सीमितमात्र आकर्षण थियो।
यसरी, अहिले बजिरहेको घण्टीमाथि आफैंभित्र र बाहिर दुवैतिरबाट अनेकन चुनौती छन्। अहिले राम्रै गरी बजेको त हो। यसको मतलव अब अरू सबैको समय सकियो भन्ने निष्र्कषमा भने पुगिहाल्नु त्यति जायज हँुदैन। सबै सुध्रन पनि सक्छन्, घण्टी पनि बिग्रन सक्छ। आशा गरौं, सबै सुध्रिउन् अथवा कम्तीमा घण्टीचाहिँ नब्रिगियोस्।