आहा, थारू संस्कृति

आहा, थारू संस्कृति

स्प्रिङ डेल एकेडेमी नेपालगन्जका कक्षा ११ का विद्यार्थीले २९ चैत्र २०७९ मा बर्दियाको ठाकुरद्वारामा १२ कक्षाका विद्यार्थीको बिदाइ कार्यक्रम आयोजना गरेका थिए। 

पर्यटकीय गन्तव्य ठाकुरद्वारामा आयोजना गरिएको कार्यक्रमको मुख्य आकर्षण थियो, थारू नाच। ठाकुरबाबा नगरपालिका–९ बेतहनीको प्राकृतिक तथा सांस्कृतिक बहुद्देश्यीय युवा क्लबका युवायुवतीले हुदङ्गवा, लाठी र छोक्रा नाच प्रस्तुत गरेका थिए। 

थारू भाषा पनि नबुझेका सहरी संस्कृतिमा हुर्केका स्प्रिङ डेलका विद्यार्थी थारू गीतमा निकै रमाएर नाचेका थिए। थारू नृत्यबाट विद्यार्थीले पुरानो वर्षको बिदाइ र नयाँ वर्ष २०८० लाई स्वागत गरेका थिए। प्राकृतिक तथा सांस्कृतिक बहुद्देश्यीय युवा क्लबकी अध्यक्ष सीतारानी थारू पाहुनालाई थारू गीत र नृत्यबाट स्वागत गर्न पाउँदा खुसी लाग्ने बताउँछिन्। 

‘ठाकुरद्वाराका होटलमा धेरै पाहुना आएको बेलामा होटलले हामीलाई बोलाउँछन्। हाम्रो थारू संस्कृति पनि जोगिने आम्दानी पनि हुने भएकाले हामी थारू नृत्य प्रस्तुत गर्छौं’, चौधरीले अनुभव सुनाइन्, ‘कहिलेकाहीँ त एकै रातमा तीन, चार वटा होटलमा पनि जानुपर्छ। भ्याइनभ्याइँ हुन्छ। हरेक दिन कुनै न कुनै होटलले डाकेकै हुन्छन्।’

नयाँ पुस्ता आधुनिक गीतसंगीतप्रति बढी आकर्षित भएकाले थारू गाउँघरमा थारूका गीत र नृत्य पहिले जस्तो हुन छोडेका छन्। पर्यटकीय क्षेत्रमा भने थारू संस्कृतिको जगेर्ना गर्न र त्यसबाट आम्दानीको स्रोत बढाउन थारू नृत्य प्रस्तुत गर्न थालिएको छ। 

यस्ता समूह ठाउँठाउँमा गठन भएका छन्। प्राकृतिक तथा सांस्कृतिक बहुद्देश्यीय युवा क्लबमा २५ जना आबद्ध छन्। ७ जना पुरुषबाहेक सबै महिला छन्। मादल बजाउनेबाहेक नाच्ने सबै किशोरी र महिला छन्। क्लबले स्कुले बालबालिकालाई पनि संस्कृति संरक्षणमा लगाएको छ। 

क्लबले एक रातमा एउटा होटलबाट पाउने पाँच हजार रुपैयाँको पारिश्रमिकलाई कलाकारलाई बाँड्दैन। समूहमा लगानी गर्छ। क्लबका अर्का सदस्य राधाकृष्ण चौधरीले भने, ‘अहिलेसम्म दुई पटक मात्र पैसा बाँडेका छौं। समूहमा पाँच लाख रुपैयाँ जति संकलन भएको छ। १० प्रतिशत ब्याजमा लगाउँछौं। अप्ठ्यारो परेको बेला यही पैसा काम लाग्छ।’

ठाकुरबाबा नगरपालिकाको वडा नं. ९ ठाकुरद्वाराको अर्को सम्पदा थारू संस्कृतिनामक समूहले पनि होटलहरूमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेको छ। यो समूहले एक रातको तीन हजार रुपैयाँ पारिश्रमिक लिन्छ। थारू जातिको हुदङ्गवा, छोक्रा, झुम्रा, मयूर नाच (मुग्रहवा) नाच प्रस्तुत गर्छ। 

२६ जना रहेको समूहका संयोजक विष्णु थारू त दिनभरि आफ्नो घरको काम गरेर आराम गर्ने बेला ओभर टाइमको रूपमा होटलमा गीत नृत्य प्रस्तुत गरिरहेको बताउँछन्। ‘हाम्रो थारू संस्कृति पनि जोगिएको छ। सुत्ने समयमा काम पनि पाएका छौं। दाम पनि पाउँछौं’, थारू भन्छन्, ‘हामीले गरेको देखेर बच्चाबच्चीले हाम्रो संस्कृति सिक्छन्।’ 

ठाकुरद्वाराका होटलले स्थानीय कला संस्कृति प्रस्तुत गर्न थारू नाच पाहुनालाई प्रस्तुत गर्ने गरेका छन्। जसका कारण थारू बाहुल्य क्षेत्रमा पनि लोपोन्मुख अवस्थामा थारू नाचको संरक्षण हुन थालेको छ। थारू संस्कृतिको संरक्षण र संवर्द्धनसँगै स्थानीयले आम्दानीको स्रोत बनाउन थालेका छन्। 

ठाकुरद्वाराको बबई रिसोर्टका प्रबन्ध निर्देशक धर्मराज घिमिरे दिनभरि पर्यटकीय क्षेत्रमा घुमेका पर्यटकहरूले राति रमाइलो गर्न सांस्कृतिक कार्यक्रम खोज्ने भएकाले थारू नृत्य प्रस्तुत गर्ने गरेको बताउँछन्। 

‘रिसोर्टमा धेरै पाहुना आउँदा हामीले आफैं पनि कल्चरल ग्रुपलाई बोलाउँछौं। कति पाहुनाले कल्चरल प्रोग्राम के छ भनेर पनि डिमान्ड गर्छन्’, प्रबन्ध निर्देशक घिमिरेले प्रस्ट पारे, ‘प्रत्येक शुक्रबार हामीले अनिवार्य कल्चरल प्रोग्रामको रूपमा थारू नृत्य राख्ने गरेका छौं। अरू बारमा भने पाहुनाको माग र चापमा भर पर्छ।’

थारू संस्कृतिलाई देशभर होमस्टेले पनि बढावा दिइरहेका छन्। होमस्टे महासंघका केन्द्रीय महासचिव कृष्णलाल चौधरी होमस्टेमा थारू कला, संस्कृति र परिकारहरू राखेर संरक्षण र संवर्द्धन भइरहेको बताउँछन्। देशका विभिन्न स्थानका पर्यटकीय क्षेत्रमा थारू गीत र नृत्य प्रस्तुत भइरहेको छ। चौधरीका अनुसार देशका ६८ जिल्लाका सात हजार घरमा १५ सय होमस्टे छन्। 

बर्दियामा १२, कैलालीमा ८, बाँके र कञ्चनपुरमा तीनतीन गरी देशभरका थारू बाहुल्य क्षेत्रमा एक सयको हाराहारीमा थारू होमेस्टे छन्। चौधरी भन्छन्, ‘थारू कला संस्कृतिको संरक्षण र संवद्र्धनका लागि होमेस्टेले काम गरेका छन्। होटल तथा रिसोर्टले पनि थारू कला र संस्कृतिलाई प्राथमिकतामा दिएका छन्।’

बाँकेको बैजनाथ गाउँपालिकाको पर्यटकीय क्षेत्र गाभर भ्यालीको च्यामा क्षेत्रमा थारू भिलेज ग्राम बनाउन थालिएको छ। जहाँ थारू जातिका परम्परागत परिकार (ढिकीमा कुटेको चामल, जाँतोमा पिसेको पिठो, कोलमा पेलेको तेल)लाई प्याकेजिङ गरेर बिक्री गर्ने र त्यहाँ पुग्ने पर्यटकले परम्परागत परिकार पकाएर खाने व्यवस्था गरिँदैछ। 

‘थारूको पुरानो संस्कृति संरक्षण गर्न थारूका रैथाने खाना, परिकार, भेषभूषा, खपडाको परम्परागत घरसहित थारू भिलेज ग्राम बन्दैछ। होमस्टेकै रूपमा बन्छ। सुरुमा एक तिहाइ घरमा थारू ग्राम होमस्टेकै रूपमा बन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.