तुर्माखाँद र रहफबाट दैलेख जिल्ला पुग्न बीचमा कर्णाली नदी पार गर्नुपर्थ्यो। एकजना महिलालाई पंक्तिकारले गीत सुनाएँ र कस्तो लाग्यो भनी सोधें। प्रत्युत्तारमा ती महिलाले यी गीतहरू दुःखारी महिलाले गाउन्या गीत हुन्, जुन गीत पटांगिनीमा खेल्ने गर्छन्, वनमा गाउने गर्छन् भनेकी थिइन्।
देउडा वनगीत हुन्, देउडा छन्दोबद्ध गीत हुन्। साथै यत्रतत्र छरिएर रहेका अर्थपूर्ण गीत हुन्। मौसमअनुसार यी गीत जनजिब्रोमा आउँछन्। प्रकृतिसँग देउडा गीतको गहिरो सम्बन्ध रहेको हुन्छ। प्रकृति नेपालको सम्पदा हो। सुन्दर प्रकृति भएकाले नेपाल संस्कृतिमय भूमि बनेको हो। देशका सयौं संस्कृतिका सुन्दर बगैंचा यत्रतत्र छरिएको देख्न पाइन्छ। त्यसमध्येको एउटा संस्कृति देउडा पनि हो। मानवबीचमा मात्र नभएर प्रकृतिसँग देउडा गीतले नाता जोडेकाले देउडा लोकप्रिय बन्दै गएको हो।
देउडा गीतको अर्थ यस क्षेत्रका विद्वान्हरूले आफ्नै तर्कद्वारा गरेका छन्। पंक्तिकारले देउडा गीतको संकलन गर्दा जिल्लामा केही पुराना र पाका सर्जकसँग संगत गरेका कारण विविध मत समेटेको छु। बझाङ जिल्ला देउडा गीतको उर्वर भूमि हो। राजनीति र मानव अधिकारका क्षेत्रमा मात्र नभएर देउडा संस्कृतिका लागि यो जिल्लालाई परापूर्व कालदेखि देउडाको मुख्य भूमि हो भन्न सकिन्छ। बझाङमात्र होइन बाजुरा, अछाम, डोटी, बैतडी पनि देउडा गीतका कहिल्यै नरित्तिने भण्डारका रूपमा जनलोकको मत छ। बझाङ जिल्लामा पुराना खेलाडी, स्व.मानमल विष्ट, सुदूरपश्चिमका प्रसिद्ध कवि तथा गीतांगी मानबहादुर सिंह पहाडी, राजनीतिज्ञ स्व. वीरेन्द्रबहादुर सिंह, समाजसेवी मोतीराम खड्का, शिक्षासेवी स्व. मदनराज जोशी, स्व. महानन्द उपाध्याय, वैद्य, स्व. भिकारी सार्कीलगायतसँग पंक्तिकारले २०४० सालताका देउडा र भुवो संस्कृतिबारे सोधपुछ गरेको थिए।
देउडाबारे छलफल गर्दा उहाँहरू सबैको यसको अर्थ, घुमेर खेल खेल्ने चलन भन्ने रहेको थियो। यसको महत्त्वबारे करिब एकै मत पाइयो। तर विष्टले यो देव स्तुतिमा आधारित भएकाले देउडा, देवउक्ति, देवगाथा रहन गयो। त्यसैले देवताजन्य श्लोक पनि मान्न सकिन्छ भनेका थिए। वर्तमान अवस्थाका जिल्लाका नामुद खेलाडी भीमबहादुर धामी, देवराज जोशी, समाजसेवी भीमदल धामीलगायतका व्यक्तिले डेढी कदम चालेर खेलिने खेल र दोहोर्याएर गाइने गीत भएकाले दयौणा भन्नु नै उपयुक्त होला भन्ने विचार राखे। पंक्तिकारको आमा गंगामतीदेवी आफ्नो गायनको गुरुआमा पनि भएकाले देउडा गीतबारे प्रश्न गर्दा उनले दुःखी, दार्दीले गाउन्या गीत हुन्, सुखीले गाउन्या गीत भन्याका त कोटमा राजाका दरबारमा गौराका बखत लोग्न्या माइसले गाउन्या ‘धुद्दु’ गीत हुन् भनेका थिए।
हुन पनि देउडा गीतका ठाडी भाका गाउन्या कलाकारको गीत र स्वर सुन्दा नरुने, मानिस को होला र ? २०४७ सालमा उग्रतारा मेला डडेल्धुरामा देउडा गीतका क्यासेट बिक्री गर्न र गीतका भाका संकलन गर्न गएको बेला धेरै व्यक्तित्वसँग भेट र छलफल भयो। जसमध्ये विष्णुप्रसाद जोशी, खेमराज भट्ट, दीर्घराज भट्ट, प्रितबहादुर विष्टसँग देउडा गीतबारे चर्चा गर्दा यी गीत सबै वनगीत हुन्, तपाईंले क्यासेटमा भरेर घरगीत बनाउनु भयो, सुदूरपश्चिमको ऐना देखाउनुभयो भन्नु भएको थियो। बैतडीको पाटनमा शिक्षासेवी प्रितबहादुर विष्ट, समाजसेवी प्रेमबहादुर चन्द, नरबहादुर चन्दसँग भेट हुँदा देउडाको मूल अर्थ घुमेर खेल्नु हो, एकान्तमा गीत दोहोर्याएर गाउनु नै हो, जुन कुरा आधुनिक शैलीले तपाईंबाट क्यासेटमार्फत घरघरमा सुनिराखेका छौं भन्नुभयो।
२०४५ फागुनमा डोटी, सिलगढी हुँदै अछामको मंगलसेन पैदलयात्रा गरेको थिएँ। मंगलसेनमा साथी झंकर विष्टका साथ कमलबजार, तुर्बाखाद रहक पुगेको थिएँ। ठाउँठाउँमा देउडा गीत सुनाउँदै मनोरञ्जन दिलाउँदै गएको याद छ। कमलबजारमा बासबस्दा एकजना वृद्ध मानिसले यी गीत देउडा पनि हुन्, न्याउल्या भाक्क्या पनि हुन् भनेका थिए। राजनीतिकर्मी रामबहादुर विष्टले गीत गाउन अनुरोध गर्नुभयो। मानिसहरू एकैछिनमा ओइरिए।
उहाँले मनोरञ्जनको प्रमुख साधन भन्नु नै देउडा र न्याउल्या गीत हुन्, जसलाई बचाउनु जरुरी छ भन्नुभयो। तुर्माखाँद र रहफबाट दैलेख जिल्ला पुग्न बीचमा कर्णाली नदी पार गर्नुपथ्र्याे। एकजना महिलालाई पंक्तिकारले गीत सुनाए र कस्तो लाग्यो भनी सोधें। प्रत्युत्तरमा ती महिलाले यी गीतहरू दुःखारी महिलाले गाउन्या गीत हुन्, जुन गीत पटांगिनीमा खेल्ने गर्छन्, वनमा गाउने गर्छन् भनेकी थिइन्।
यसैगरी दैलेख खड्काबाडाका गोविन्द खड्का नामका वृद्धले यी गीत मनका लहर हुन्, सुखीले मन पराउँदैनन्, दुःखीले मन पराउँछन् भनेको पनि हिजोजस्तै लाग्छ। २०४८ असारमा अछामको साँफेबगर, बयालापाटामा क्यासेटको भारी बोकेर नेपालगन्जबाट जहाजमा पुगेको थिएँ। सयौं नरनारीबीच राति अबेरसम्म देउडा गीत सुनाउँदा जीवनीमा कहिल्यै नमिलेको माया र सद्भाव पाएँ। देउडा गीतबारे जिज्ञासा राख्दा स्व. मकरबहादुर स्वार, शिक्षासेवी स्व. मथुराप्रसाद रेग्मी र समाजसेवी ध्वजबहादुर कुँवरको मत एउटै रह्यो। उहाँहरूले यी गीत वनगीत हुन्, डेढी पाइला चालेर खेल्ने गर्छन्। नलेखी उत्तर प्रतिउत्तर दिने चलन छ। कालीकर्णालीका साझा लोकसम्पत्ति हुन् भन्नुभयो। समाजसेवी कुँवरले त यी गीतहरू अब वनगीत मात्र रहेनन्, बजारका गीत बने, यसको मूलधर्म भनेकै डेढी कदममा खेल्न सक्नु हो।
देउडा गीतलाई जुरुक्कै उचाल्ने तपाईं, देउडा गीतको जनक नै हो भनी उहाँले आशीर्वाद दिनुभयो। २०४७ कात्तिकमा बझाङबाट बाजुराको मानाकोट हुँदै जुगाडाको बाटो भएर सदरमुकाम मार्तडी पुगेको थिएँ, देउडा गीति क्यासेटको भारी बोकेर। ती ठाउँहरूमा पनि गीत निकै गाएँ। मार्तडीमा छोर्याट्टा छोप्याट्टीबीच खेल सुरु भयो। हारजित पनि भयो। छोर्याट्टीका अगाडि मेरो केही लागेन, गीत गाउनमा छुरा रहिछिन् ती केटी। एक प्रसंगमा ती केटीले क्यासेटका भाका सुन्दै भनेकी थिइन्, ‘यी त हाम्रा गीत हुन्।’
बझाङबाट २०४३ सालमा खप्तड राष्ट्रिय निकुञ्ज हुँदै डोटी आउने क्रममा बझाङ छान्ना दारु गाउँका गीतांगी जयबहादुर खड्का र डोटीमा प्रसिद्ध कवि भालचन्द्र भण्डारीसँग भेट भएको थियो। कवि भण्डारीद्वारा संकलित गीत ‘ओ हजारी वदाम फूल’ रेडियो नेपालमा रेकर्ड गरें। निकै लोकप्रिय रह्यो सो गीत। देउडा क्षेत्रका विज्ञ उहाँहरूले पनि ‘देउडा गीत भन्नुनै खेलका गीत हुन्, वनमा गाउँदा वनगीत, घरमा गाउँदा घर गीत र रेडियोमा रेकर्ड गर्दा राष्ट्रका साझा गीत हुन्। ती गीतको संरक्षणको पहिलो हकदार पनि तपार्इं हुनुहुन्छ। देउडा गीतका दुईवटा चरण हुने भएकाले सवाल जवाफमा यी गीत जोडागीत पनि हुन्’ भनेका थिए।
जुम्लाका महाशंकर देवकोटा, शिवचन्द्र खत्री, कालीकोटका मोतीराज बम, हुम्लाका कालीबहादुर शाही, जाजरकोटका गोरखबहादुर सिंह, स्व. शेरबहादुर अधिकारी, बझाङका शिक्षासेवी मुरलीधर अवस्थी, स्व. परिमल स्नेही, प्रसिद्ध गायक नरेन्द्रराज रेग्मी र भोजराज भट्टको देउडा गीतसम्बन्धीको परिभाषा पनि मिल्दोजुल्दो पाइन्छ। माथि उल्लेखित सबै सर्जक र विद्वान् व्यक्तिको सुझावको निचोडमा पुग्दा देउडा, दयौणा र डेउणा गीत वनगीत हुन्, सार्वजनिक सम्पत्ति हुन्, कहिल्यै न रित्तिने लोकसंगीतका भण्डार हुन्। यी नामबाहेक अन्य विज्ञका नाम पनि पंक्तिकारसँग सुरक्षित छन्। पाठकमाझ आउनेछन्। जसले प्रत्यक्ष र परोक्ष रूपमा देउडा संस्कृतिको श्रीवृद्धिका लागि विगतदेखि वर्तमानसम्म योगदान दिँदै आएका छन्।
देउडा गीतको विकासक्रम र वर्तमान अवस्था
पञ्चायतकालमा देउडा गीतबाहेक अन्य गीतको रेडियो नेपालमा एकछत्र राज थियो। सेती, महाकाली, कर्णाली र भेरी अञ्चलका १/२ सर्जकबाहेक अरूको उपस्थिति रेडियो नेपालमा थिएन। महाशंकर देवकोटा र परिमल स्नेहीको उपस्थितिले देउडा सर्जक खुसी मनाउथ्यौं। २०३४ साल कात्तिक १४ गते यो पंक्तिकारको रेडियो नेपालको फूलबारी कार्यक्रमको उपस्थितिले देउडा गीतमा दरिलो पाइला टेक्यो निरन्तरको संघर्ष र देउडा प्रतिको गहिरो अभिरुचिले गर्दा। २०४३ फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा रेडियो नेपालद्वारा आयोजित देशव्यापी लोकगीत सम्मेलनमा प्रथम पुरस्कार प्राप्त गरेपछि पंक्तिकारलाई रेडियोका श्रोताले चिनेका थिए।
२०३५/३६ सालको विद्यार्थी आन्दोलनमा सडकमा देउडा गीत गाउँदै हिँडें। २०३७ वैशाख २० गते सम्पन्न जनमत संग्रहका लागि नीलो रंगको प्रचार गर्दै डडेल्धुरा, डोटी आदि धेरै जिल्लामा हालका कांग्रेस सभापति शेरबहादुर देउवासँग गीत गाएँ। लगभग पाँच वर्षसम्म रेडियो नेपालको फूलबारीनामक कार्यक्रममा देउडा गीतहरू गाउँदै आएको थिएँ। २०३८ सालपछि त राष्ट्रिय प्रसारणमा देउडाका विविध भाका गाउँदै आएँ। तत्कालीन रेडियो नेपालका केही व्यक्तिबाट नमीठो व्यवहार खपें। स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्य, गणेश परियार, मदन परियार, सुन्दर श्रेष्ठ, युक्त गुरुङ, राम थापा, रत्न बेहोसी, चन्द्रकला शाह, मधुबाबु थापा, दामोदर अधिकारी, बासुदेव मुनाल आदिबाट राम्रो सद्भाव पाएँ। यसबाट देउडा गीतले रेडियो नेपालबाट मौलाउने मौका पायो।
यसैले २०३२/०३३ सालदेखि २०४१/०४२ सालसम्मको कालखण्डलाई देउडा गीतसंगीतको प्रारम्भिक चरणको युग भन्न मन पराउँछु। त्यसबेला एक्लो थिएँ, देउडा गीत गाउनेभन्दा फरक नपर्ला। २०४०–२०६० कालखण्डमा नेपाली लोकसंगीतका साथै देउडा लोकसंगीतले पनि राम्ररी फस्टाउने मौका पायो। त्यसबेला रेडियो नेपालमा पंक्तिकारले देउडा क्षेत्रका सदाबहार गीतहरू रेकर्ड गर्ने मौका पाएँ। कालजयी यी गीतले अन्य वर्णप्रिय गीत पनि जन्मायो। २०४६ को जनआन्दोलनमा रेडियो नेपालमा रेकर्ड गरेका गीत नै सडकमा र कारागारभित्र सुनाउँदै आएँ। बुझे पनि नबुझे पनि सबैबाट समर्थन पाएको थिएँ आन्दोलनभर।
२०४६ को जनक्रान्ति सफल भएपछि म्युजिक नेपालजस्ता निजी संस्थामा देउडा गीतका २२ गीति क्यासेट उत्पादन गरी सुदूरपश्चिमको भूमिमा आफैंले पुर्याएका थिए।
धनगढीदेखि बझाङ, बाजुरा, जुम्ला जस्ता जिल्लामा देउडा गीतका गीति क्यासेट बिक्री वितरण गरें। हजारौंले काम पाए, व्यापारीको करोडौंको सामान बिक्री भयो। पंक्तिकार, रेग्मी र भट्टका देउडा गीतका क्यासेट सुनेर लाखौं श्रोताले गीतसंगीतको अपनत्व बोध गरे। एकछत्र राज हुन पुग्यो, देउडा गीति क्यासेटको। २०४९ सालपछि धेरै सर्जक जन्मायो सुदूरपश्चिमले। अनगिन्ती देउडाका गीति क्यासेट बजारमा देखा परे। त्यसैले २०४० सालदेखि २०६० सालसम्मको समयावधिलाई देउडा गीत संगीतको स्वर्णिम युग मान्न सकिन्छ। गीति क्यासेटपछि प्रविधिले व्यापक फड्को मारेर सिडीको जमाना आयो। २०६५ सालसम्म उत्पादन गरिएका देउडा गीतका साथै अन्य संगीत कम्पनीका लाखौं गीति क्यासेट अर्थहीन भए।
समय बदलियो। मोबाइल र युट्युबमय भए गीतहरू। सुन्नुभन्दा हेर्नमा मनोरञ्जन भेटियो। पहिलेका गीतहरूमा जीवन बोकेको हुन्थ्यो। समाज हाँसेको आभास मिल्थ्यो, स्वदेशी संस्कृतिको मौलिकपन मनैदेखि झंकृत हुन्थ्यो। अहिले त्यस्तो छैन, विदेशी संस्कृतिको राज छ। अरूका गीतमा कतिपयले कमाउधन्दाको काम पाएका छन्। श्रोता र दर्शक बढेको भनेर मक्ख परेका छन्। कतिपय स्रष्टाले पनि आफूले जमानामा गाएका गीत सुन्न नपाउँदा पीडाबोध गरेका पनि हुन सक्छन्। यो प्रविधिलाई के भन्ने ? युगको भाग भन्ने कि छिटो–छिटो गरिने व्यापार भन्ने ? प्रश्न सबैका अगाडि छ।
रुढा पण्या जनसुक्यै गैलीमूलका पानी।
डिढ्पुण्या भिट्भैग्यै मान्दो मेरो गैलोबानी।।