तीन देश जोड्ने कोसी करिडोर
दक्षिणी छिमेकी भारतको जोगवनीदेखि उत्तर छिमेकी चीनको किमाथांकालाई जोड्छ, कोसी करिडोरले। दुवैतिरका शक्तिशाली देशलाई जोड्ने यो सडक सञ्चालनमा आएपछि कोसी प्रदेशकै मुहार फेरिने यहाँका बासिन्दाको आशा छ।
उत्तर खण्डतर्फ संखुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथांकासम्म सडक निर्माणको काम धमाधम भइरहेको छ। दक्षिण खण्डतर्फ जोगवनीदेखि विराटनगर, इटहरी, तरहरा हुँदै चारकोसे झाँडी छिचोल्दै धरानको तिनकुनेसम्म सडक निर्माण भएको छ।
कोसी करिडोर सडकअन्तर्गत विराटनगरको रानीदेखि संखुवासभाको किमाथांकासम्म ३ सय ४० किलोमिटर सडक छ। खाँदबारीको लभिङहिलदेखि किमाथांकासम्मको दूरी १ सय ६२ किलामिटर रहेको छ।
धरानदेखि धनकुटा हुँदै खाँदबारीसम्मको खण्डको सडक विस्तारको काम भएको छैन। यहाँ पहिल्यै कोसी राजमार्ग रहेको छ। कोसी राजमार्ग दुई लेनको छ। तर, सडकका लागि लगत राख्ने काम भइसकेको छ।
खाँदबारीदेखि किमाथांकासम्म विभिन्न ८ वटा प्याकेजमा धमाधम काम भइरहेको उत्तर–दक्षिण (कोसी) सडक योजना, खाँदबारीका सिनियर डिभिजन इन्जिनियर सविन कोइरालाले बताए। कालोपत्र, सडक ढलान, ग्राभेल र सडक पुल निर्माणको काम भइरहेको छ। पहिलो प्याकेजअन्र्तगत खाँदबारीको लभिङहिलदेखि थामेशेर्खुसम्मको १४ किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ।
यो प्याकेजको ठेक्का २०७८ असारमा लागेको हो। सडकको ठेक्का शर्माशिव शक्ति जेभि कम्पनीले पाएको छ। करिब ४० करोड रुपैयाँमा ठेक्का लागेको यसको म्याद आगामी वर्ष २०८१ को असार मसान्तसम्म छ। कालोपत्र गर्न अहिले संरचना निर्माणको काम भइरहेको छ।
त्यस्तै, सोही कम्पनीअन्तर्गत दोस्रो प्याकेजको रूपमा रहेको थामेशेर्खुदेखि कप्तानेसम्मको सडक कालोपत्र हुँदैछ। करिब ४५ करोडको ठेक्का हो। गत असारमा ठेक्का लागेको यसको म्याद २०८१ असार मसान्तसम्म छ। यो सडक खण्डको दूरी १४ किलोमिटर हो। काम धमाधम भइरहेको छ। लभिङहिलदेखि कप्तानेसम्मको दूरी २८ किलोमिटर हो।
त्यस्तै, तेस्रो प्याकेजअन्तर्गत कप्तानेदेखि नुमसम्मको ११ किलोमिटर सडकखण्डमा पनि कालोपत्रको काम भइरहेको छ। यस खण्डको ठेक्का पनि शर्मा शिवशक्ति जेभि कम्पनीले नै पाएको छ। यो प्याकेजको लागत पनि ४५ करोड रहेको उत्तर–दक्षिण कोसी सडक योजनाले जनाएको छ। यसको म्याद गतअसारदेखि आगामी वर्षको असार मसान्तसम्म छ।
चौथो प्याकेजअन्तर्गत नुमदेखि फाक्सिन्डा दोभानसम्मको १० किलोमिटर सडकखण्ड पनि कालोपत्र हुँदैछ। यो प्याकेज ३९ किलोमिटरदेखि ४९ किलोमिटरसम्मको हो। करिब ५० करोड लागत रहेको यो प्याकेजको ठेक्का विवश निर्माण सेवाले पाएको छ। २०७८ चैतमा ठेक्का लागेको यसको म्याद आगामी वर्ष २०८१ चैतसम्म रहेको छ।
पाँचौं प्याकेजअन्तर्गत फाक्सिन्डादेखि ३ किलोमिटरको ठेक्का छ। यो ५० किलोमिटरदेखि ५३ किलोमिटरसम्म रहेको छ। यो प्याकेजअन्तर्गत ठेक्काको लागत ८ करोड हो। यो प्याकेजमा सडक उकालो छ। यहाँ कालोपत्रको सट्टा ढलान हुनेछ। अरुण–वरुण निर्माण सेवाले निर्माणको ठेक्का पाएको छ। गत २०७९ फागुन १० गते ठेक्का लागेको हो। यसको एक वर्षको म्याद छ।
छैटौं प्याकेज ५३ देखि ८० किलोमिटरसम्मको सडक छ। यस खण्डमा ग्राभेलको काम भएको छ। २०७६ सालमा ठेक्का लागेको हो। यसको म्याद आगामी असार मसान्तसम्मको हो। यो प्याकेजको काम अहिलेसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको योजनाका सीडीई कोइरालाले बताए।
आशिष स्वामी नारायण जेभिले यसको ठेक्का पाएको थियो। सातौं प्याकेजअन्तर्गत वरुण नदीमा पक्की पुल निर्माणको काम भइरहेको छ। पुल निर्माणको ठेक्का दिवस एसएच जेभीले १४ करोड रुपैयाँमा पाएको हो। सडकखण्डअन्तर्गत खाँदबारीको लभिङहिलदेखि ८० किलोमिटरको अन्तिम बिन्दुमा रहेको वरुण नदीमा पक्की पुल निर्माण भइरहेको हो। गत वर्ष २०७९ वैशाखमा ठेक्का लागेको यो पुल निर्माणको अन्तिम म्याद २०८१ वैशाखसम्म छ।
आठौं प्याकेजअन्तर्गत १ सय ३४ किलो मिटरको सुरुवाति बिन्दुदेखि बाटो सोलिङको काम भइरहेको छ। यो प्याकेजमा जोशी निर्माण कम्पनीले ४ करोड रुपैयाँमा ठेक्का पाएको छ। यो क्षेत्रमा पानी धेरै जमेको कारण बाटोमा ढुंगाको सोलिङ गरिएको हो। यहाँ सवारी साधनको रूपमा ट्र्याक्टरहरू बढी मात्रामा गुड्ने गर्छन्। २०७९ असारमा ठेक्का लागेको हो।
यसको म्याद २०८० भदौसम्म छ। सडकको चौडाइ १० मिटर छ। यो सडक खण्ड लभिङहिलदेखि वरुण पुल रहेको अन्तिम बिन्दुसम्मको ८० किलोमिटर हो। त्यहाँदेखि माथिल्लो खण्डमा ४ देखि ५ मिटरसम्मको मात्रै रहेको छ। माथिल्लो खण्डमा सडकको ट्रयाक मात्रै खुलेको छ।
किमाथांकासम्म पुग्ने अन्तिम १० किलोमिटर सडक खण्डको ट्र्याक खुलाउने कामको जिम्मा नेपाली सेनाले लिएको छ। सीडीई कोइरालाका अनुसार नेपाली सेनाले २०७७ सालदेखि कामको जिम्मा लिएको हो। सेनाले २०८० सालभित्र काम सक्ने लक्ष्य निर्धारण गरेको थियो। तर, भौगोलिक विकटता, दुर्गम क्षेत्र भएको कारण सेनाले सोचेअनुरूप काम गर्न सकेको छैन।
उक्त क्षेत्रमा ढुंगाको कडा चट्टान छ। उक्त चट्टान विस्फोट गरी फुटाउनुपर्छ। जसका कारण बाटो विस्तारमा समस्या छ। नेपाली सेनाले १० किलोमिटरमध्ये हालसम्म ३ किलोमिटर मात्रै ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ।
कोसी कोरिडोर भारत र चिनलाई जोड्ने छोटो व्यापारिक मार्ग हो। दुई देशलाई जोड्ने सडक भए पनि यसको सबैभन्दा बढी फाइदा नेपालको पूर्वी क्षेत्रलाई हुन सक्छ। यसले देशमा आर्थिक समृद्धि छाउने सक्ने निजी व्यवसायीहरू बताउँछन्।
धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई कोसी कोरिडोर सडक कोसी प्रदेशका लागि गेम चेन्जर हुने बताउँछन्। कोसी प्रदेश कृषि, पर्यटन र व्यापारिक हिसावले उपयुक्त छ। तर, कसरी उपयोग गर्न सकिन्छ भनेर सरकार र उद्योग व्यवसायीले रणनीतिक योजना बनाउनु पर्ने उनको भनाइ छ।
कोरिडोरलाई आयातका लागिभन्दा निर्यात गर्ने मार्ग बनाउनुपर्ने घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए। उनी भन्छन्, ‘समृद्धिको धेरै आशा पलाएको छ तर सरकारले छिटो निर्माण सम्पन्न गर्नुपर्छ।’