दाउराले हानेर दिदीको हत्या
दोलखा : दोलखाको मेलुङ गाउँपालिका-१, पवटी पिपलबोटमा भाइले आफ्नै दिदीको हत्या गरेका छन्। ३२ वर्षीया कल्पना भुजेललाई उनको भाइ रामभरतले दाउराले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
शुक्रबार साँझ कल्पनाको हत्या भए पनि प्रहरीले शनिबार मात्र जानकारी पाएको हो। बोली नआउने र कान पनि नसुन्ने रामभरतले उत्तिसको दाउराले हानेर हत्या गरेको दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए।
रामभरतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको उनले बताए। पोष्टमार्टमपछि आफन्तले शव बुझिसकेको प्रहरीले जनाएको छ।
त्यसैगरी दोलखाको विगु गाउँपालिकामा विषादी फल खाँदा एक जेष्ठ नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ। विगु–६ आलम्पुका ७३ वर्षीय नरबहादुर थामीको बनतरुल जस्तो देखिने फल खाँदा मृत्यु भएको प्रहरी निरीक्षक सिग्देलले जानका दिए।
शुक्रबार फल खाएपछि नरबहादुरले बान्ता गर्न थालेका थिए। श्रीमतीले उपचारका लागि दोलखाको धुलिखेल अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।