जाजरकोटमा लम्पी स्किनको महामारी

जाजरकोट : जाजरकोटमा जिल्लाभर लम्पी स्किन रोगको प्रकोप फैलिएको छ। प्रकोपबाट जिल्लाभरमा दुई सातायता २ सय २७ वटा पशुचौपाया मरेका छन्। पशुचौपायामा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा गिर्खा देखा पर्ने, उच्च ज्वरो आउने, कचेरा लाग्ने, सिगान बग्ने तथा मुखबाट फिज धेरै निकाल्ने र अन्तमा मृत्यु हुने गरेको छ।
खेती भित्र्याउने र लगाउने बेला पशु बिरामी परेपछि स्थानीय किसान चिन्तित छन्। सरकारी निकायबाट रोग नियन्त्रणका लागि प्रभावकारी कदम नचालिएको उनीहरूको गुनासो छ। सातवटै पालिकाको पशु स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार जिल्लाभर ७ हजार २ सय २८ वटा पशुचौपाया संक्रमति छन्।
जसमध्ये जुनीचाँदे गाउँपालिकामा ६३ वटा पशुचौपाया मरेका छन्। गाउँपालिकाका पशु शाखा प्रमुख लालबहादुर विकले दिएको जानकारीअनुसार जुनीचाँदेमा हाल २ हजार २ सय पशुचौपाया संक्रमित भएका छन्। भेरी नगरपालिकामा ६० वटा पशुचौपायाको मृत्यु भएको छ। रोगबाट १ सय ८० वटा पशुचौपायामा संक्रमण फैलिएको पशु शाखा प्रमुख रत्नबहादुर डाँगीले जानकारी दिए।
लम्पी स्किन रोगको प्रकोपबाट बारेकोट गाउँपालिमा ११ वटा पशुचौपाया मरेका छन्। रोगबाट एउटा भैंसी र १० वटा गोरुको ज्यान गएको पशु सेवा शाखा बारेकोटका भीमबहादुर चलाउनेले जानकारी दिए। त्यहाँ १ सय २१ गाई गोरु र ६ वटा भैंसी संक्रमित छन्। त्यस्तै प्रकोपबाट शिवालय गाउँपालिकामा २० वटा पशुचौपाया मरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाठाले बताए। त्यहाँ यति संख्यामा पशुमा संक्रमण भएको भन्ने एकिन तथ्यांक छैन। वडा नम्बर ४ र ५ मा धेरै प्रकोप फैलिएको छ।
नलगाड नगरपालिकामा ९ वटा पशुचौपाया मरेका पशु शाखा प्रमुख भेषजंग शाहले जानकारी दिए। छेडागाड नगरपालिकामा ५९ वटा पशुचौपाया मरेका छन्। नगरपालिका पशु स्वास्थ्य प्राविधिक बासुदेव खत्रीका अनुसार पालिकाभर ४ हजार २ सय ३७ वटा पशुचौपाया संक्रमित छन्। संक्रमितमध्ये ६ सय १५ वटा पशुचौपायामा सुधार आएको छ भने ३ हजार ३७ वटाको उपचार जारी छ। कुशे गाउँपालिकामा यो रोगको संक्रमण फैलिएको छ। त्यहाँ रोगबाट ५ वटा गोरु मरेको गाउँपालिका पशु शाखामा कार्यरत तुलबहादुर डाँगीले बताए। त्यहाँ ८० वटा गाईगोरु र १० वटा भैंसी संक्रमित भएका छन्।
खेतीपाती गर्ने समय नजिकिँदै गर्दा पशुचौपाया लम्पी स्किन रोगबाट मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन्। यो रोग सुरुमा भेरी नगरपालिकामा देखिएको थियो। भेरीबाट सुरु भएको रोग जिल्लाका सातवटै स्थानीय तहमा महामारीका रूपमा फैलिरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका प्रमुख कलमबहादुर महताराले बताए। रोगको प्रकोप बढ्दै गएकाले यसको नियन्त्रण गर्न विभिन्न पालिकाका प्राविधिकहरू परिचालन गरिएको छ।
यो रोग लागेपछि पशुचौपायामा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा गिर्खा देखा पर्ने, उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्ने तथा मुखबाट फिज धेरै निकाल्ने, बाँझोपन हुने र गर्भ तुहिने पशु चिकित्सक रत्नबहादुर डाँगीले बताए।
गाउँ–गाउँमा पशु प्राविधिक परिचालन
लम्पी स्किन रोगको प्रकोप फैलिएपछि गाउँगाउँमा पशुचिकित्सक र पशु प्राविधिकहरू खटाइएको छ। महामारीकै रूपमा फैलिएको रोगलाई नियन्त्रण गर्न गाउँ–गाउँमा पशु चिकित्सक परिचालन गरिएको हो। पशु चिकित्सकहरूले धेरै प्रभावित क्षेत्रमा पुगेर संक्रमित पशुचौपायाको उपचार गर्न थालेका छन्। संक्रमणबाट पशुचौपायालाई बचाउन स्थानीय पालिकाहरूले गाउँ–गाउँमा शिविर नै राखेका छन्।
जसमध्ये बारेकोट गाउँपालिकाले हालसम्म ६० हजारको औषधि खरिद गरी परिचालन गरेको छ। त्यहाँ थप औषधि आइतबार व्यवस्थापन गरिएको छ।शिवालय गाउँपालिकाले सबै वडामा पशु प्राविधिक परिचालन गरेको पालिकाले जनाएको छ। ९ वटै पशु प्राविधिकहरू खटाइएको छ।
नलगाड नगरपालिका र छेडागाड नगरपालिकाले औषधिसहित पशु प्राविधिहरू खटाएको छ। तर, जुनीचाँदे गाउँपालिकाले प्राविधिक परिचालन गरे पनि औषधि गरेको छैन। कसरी रोग नियन्त्रण गर्ने भनेर बैठक तथा छलफल नै चल्न सकेको छैन। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहँुदा कार्यपालिका बैठक नै बस्न नसकेको स्रोतले जानकारी दिएको छ। भेरी नगरपालिकाले सबै वडामा औषधिसहित प्राविधिक परिचालन गरेको नगर प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
