लोकमार्ग क्षेत्रमा रोकिएन दोहन

जाजरकोट : मध्यपहाडी लोकमार्गमा ठेकेदार कम्पनीले कालोपत्रे गर्ने नाममा खोला र चुरे क्षेत्रको दोहन गरेको छ। जाजरकोट खण्डको कुदुदेखि गिमा हुँदै थलहसम्मको कालोपत्रेको जिम्मा पाएको सिंह एन्ड ब्रदर्स कम्पनीले पहाड दोहन गरेको हो।
निर्माण कम्पनीले रातदिन मेसिन प्रयोग गरेर पहाड दोहन गरी ढुंगा, गिट्टी, निकासी गर्दा समेत सरोकारवाला निकायहरू मौन छन्। भेरी नगरपालिका– ९ र ११ जगतीपुरमा हरेक दिन एक्साभेटर, जेसीबी र टिप्परको लाइन लाग्ने गरेका छन्। ती सबैबाट अवैध रूपमा प्राकृतिक स्रोतको दोहन गरिन्छ। सडक कालोपत्रेको जिम्मा पाएको कम्पनीका प्रतिनिधि विश्वास उप्रेतीले आफूखुसी पहाड दोहन गरेको स्थानीय मानबहादुर नेपालीले बताए।
ठेकेदारले कुनै कानुनी प्रक्रिया नअपनाई आफू खुसी पहाड दोहन गरेका हुन््। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार सम्बन्धित स्थानीय निकायले ठेक्का लगाएर मात्रै वन क्षेत्रभित्रका लागि वन कार्यालयसँग समन्वय गरी ढुंगा, गिट्टी, निकासी गर्नुपर्ने कानुनी प्रावधान छ। तर लोकमार्ग निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनबिनै पहाड नै दोहन गर्दै आएका हुन्।
विकासका नाममा ठेकेदारले प्राकृतिक स्रोतको दोहन गरेको स्थानीयको आरोप छ। ठेकेदारले भेरी नगरपालिका– ९ को बर्मइखम्ब (खोटेसल्ली भिर) भन्ने स्थानमा दोहन गरेका छन्। ठेकेदारले करिब एक सय मिटरको पहाड नै सखाप पारेको वडाध्यक्ष हीरालाल शर्माले बताए। २०७४ फागुन २६ गते वडा कार्यालयमा स्थानीय बर्मइखम्बादेखि सरेखेल्ने डाँडासम्मको सात सय मिटर बाटो बनाउने सर्तमा ठेकेदारले तत्कालीन वडाध्यक्ष ध्रुवप्रसाद पौडेलसँग सहमति गरेका थिए।
त्यसबेला स्थानीयलाई बाटो, फिल्ड र माई भगवतीको मन्दिर निर्माण गर्ने सर्त थियो। तर हालसम्म ठेकेदारले पहाड दोहन गरिरहे पनि सर्तअनुसारको काम नभएको वडासदस्य मोती नेपालीले बताइन्। अवैध उत्खननले गाउँबस्तीका साथै खेतीयोग्य जमिनसमेत जोखिममा परेको अर्का स्थानीयवासीको भनाइ छ। जथाभावी मेसिन प्रयोगले वन विनाश हुनुको साथै वर्षायाममा गाउँ नै पहिरोको जोखिममा परेको उनले सुनाए। गुराँस सामुदायिक वन समितिसँग मिलेमतो गरी ठेकेदार उप्रेतीले एउटा पहाड नै दोहन गरेका छन्। वन समितिलाई खानेपानी मोटर दिने ठेकेदारले सर्त गरे पनि हालसम्म पनि उपलब्ध गराएका छैनन्।
नगर प्रमुख चन्द्रप्रकाश घर्तीले भने तत्काल स्थलगत अनुगमन गरेर गल्ती देखिए कारबाही गर्ने बताएका छन्। प्राकृतिक स्रोत दोहनको विषयमा तत्काल स्थलगत अनुगमन गर्ने उनको भनाइ छ।
यस्तै, डिभिजन वन कार्यालयले पनि आफूखुसी वन अतिक्रमण गर्नेलाई कारबाही गर्ने जनाएको छ। प्रमाणका आधारमा कारबाही गर्ने वन अधिकृत राधाकृष्ण दासले बताए। वन ऐन, २०७६ र वन नियमावली, २०८९ मा भएको व्यवस्थाअनुसार प्रक्रिया नपुर्याएको खण्डमा तत्काल आवश्यक कारबाही
प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
