खानेपानी आएपछि फेरियो नेपाने गाउँको मुहार

खानेपानी आएपछि फेरियो नेपाने गाउँको मुहार

सिन्धुपाल्चोक : गाउँको नाम नै नेपाने। गाउँमा खानेपानीको हाहाकार भएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-७ को एउटा गाउँको नाम नै नेपाने रहन पुग्यो।

आफूले थाहा पाएदेखि नै गाउँमा खानेपानीको निकै समस्या देखेका सो ठाउँका कृषक दुर्गाप्रसाद नेपालले कतैबाट पानीको जोहो हुन नसकेपछि थुप्रै पटक बसाई सर्ने योजना पनि बनाए। 

‘बाटो हिँड्ने बटुवाले पानी माग्दा समेत दिन नसकेपछि गाउँलाई नै नपानी भन्न थालियो, पछि गाउँको नाम नेपाने रह्यो’, उनले गाउँको नाम रहन गएको इतिहास कोट्याउँदै भने-‘खानेपानीको जोहो गर्न ३/४ घण्टा हिँडेर कुवा, खोल्सामा पुग्नु पर्थ्यो। मैले थुप्रैपटक पानीकै कारण गाउँ छोड्न पनि खोजें। बाउबाजेको थातथलो भनेर छोड्न सकिनँ।’

उनीजस्तै नेपाने गाउँका १ सय २१ घर परिवारको समस्या उस्तै थियो। खानेपानीको समस्याको कारण कति त गाउँबाटै पलायन पनि भए। २०७२ को भूकम्प पछि पानी ल्याउने कुवा समेत सुक्यो। त्यसपछि गाउँमा खानेपानीको हाहाकार नै मच्चियो। कृषकहरूले पशुपालन समेत गर्न छाडे।

पानीको चरम समस्या भएपछि गाउँका सबै एकजुट भएर पल्लो गाउँ पिपलडाँडामा खानेपानीको मुहान किने। सरकारी र गैरसरकारी संस्थासँग अनुनय गरेर पानी संकलन गर्ने ट्यांकी बनाए। ट्यांकी बनाउन युएनडीपी, मेलम्ची खानेपानीले सहयोग गर्‍यो। त्यसपछि पुग्दो नभएपनि गाउँमा पानी आयो।

गाउँमा पानीको जोहो भएपनि व्यवस्थित हुन सकेको थिएन। आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रममा चौतारा साँगाचोकगढी नगपालिकाले एक घर, एक धाराको नीति ल्याएपछि खानेपानीको चरम समस्या झेलिरहेका नेपानेवासीले केही राहत महसुस गरे। 

अहिले नेपानेवासीको प्रत्येक घरमा अहिले खानेपानीको धारो छ। एक घर, एक धाराको एक विशेष कार्यक्रमबीच नगरप्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गरे। 

खानेपानी नहुँदा गाउँ नै छोड्ने योजना बनाएका कृषक दुर्गाप्रसाद नेपाल अहिले बिहान बेलुकी तरकारी बारीमा व्यस्त देखिन्छन्। 

उनको बारीमा अहिले काउली, गोलभेडा, साग, लसुन, प्याज लटरम्म फलिरहेको छ। उनी बारीमा उत्पादित तरकारीलाई चौतारा बजारमा लगेर बिक्री गर्छन्। उनले पशुपालन पनि थालेका छन्।

‘अहिले घर घरमा पानी आउँछ, बढी भएको पानी तरकारी खेतीमा प्रयोग गर्ने गरेको छु’, एक घर, एक धारा उद्घाटन कार्यक्रममा भेटिएका नेपालले खुसी हुँदै भने-‘तरकारी बेचेर घर खर्च चल्छ, अहिले त भैंसी र बाख्रा पनि पालेको छु।’ गाउँका सबै कृषकले आफ्नो करेसाबारीमा अहिले तरकारी उत्पादन गरिरहेको उनले सुनाए।

नेपाने खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका कृषक धननाथ अर्याल एक वर्षअघिसम्म खण्डहर देखिने गाउँ पानीकै कारण हरियाली बनेको बताउँछन्। ‘एक वर्ष अघिसम्म पानी खानै मुस्किल थियो, तर अहिले हरेक घरमा करेसाबारी छ, गाउँनै हरियाली बनेको छ’, उनी भन्छन्-‘पानीकै कारण यहाँका कृषकको आम्दानी समेत बढेको छ।’ 

पानी घर घरमा पुगेपनि अझैं पुग्दो मात्रामा नभएको अर्याल बताउँछन्। ‘एउटा ट्यांकीबाट आएको पानीले खान मात्रै पुग्छ, अब एउटा मुहानको जोहो गरेर पानी थप्ने हो भने पर्याप्त हुने थियो,’ उनले भने। 

अब गाउँका किसानहरूलाई उत्पादनमा जोडेर आत्मनिर्भर बनाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने उनले बताए।

एक घर, एक धारा उद्घाटन कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले गाउँका कृषक पानीका कारण खुसी भएको देख्दा नगरले जनमुखी काम गरिरहेको महसुस गरेको बताए। ‘तपाईहरूले पानीकै कारण पाएको दुःख सुन्दा मेरो आँखा रसाए’, भावुक बन्दै सापकोटाले भने-‘अब तपाईहरू ढुक्क हुनुस् पानीकै कारण कोहि कसैले गाउँ छोड्नु पर्दैन। आवश्यक परेको पानीको मुहान जोहो गर्न स्थानीय सरकार तत्पर छ।’

नगरप्रमुख सापकोटाले अब पानी घर घरमा आइसकेका कारण कृषकहरूले त्यसलाई भरपूर उपयोग गर्नुपर्नेमा जोड दिए। ‘तपाईहरूलाई थाहा छ, पानी नहुँदाको समस्या के हो,’ सापकोटाले भने-‘अब भएको पानीको सदुपयोग गर्नुस्। कृषि उत्पादनमा लाग्नुस्, रोजगारको सिर्जना गरी आम्दानी बढाउनुस्। तपाईंहरूलाई सहयोग गर्न सदैव नगरपालिका तयार छ।’ 

उनले सिंगो नगरपालिकालाई नै खानेपानी मुक्त नगर बनाउन जुटिरहेको जानकारी दिए। सोहि गाउँका वडा अध्यक्ष डम्बरबहादुर तामाङले नगरपालिकाले दिएको ८ लाख रूपैंया र स्थानीय श्रमदान मार्फत १ सय २१ वटा धारो निर्माण गरिएको जानकारी दिए। 

‘यो गाउँले खानेपानीको लागि भोग्दै आएको समस्यालाई छुटकारा दिलाउनु मेरो ४२ वर्षदेखिको सपना थियो, त्यो आज पूरा भएको छ’, वडा अध्यक्ष तामाङले भने-‘अब यो गाउँले पानीको समस्या भोग्नु पर्दैन।’ 

उनले गाउँमा एक घर एक धारा भए पछि गाउँको नाम नेपाने परिवर्तन गरी ‘पानी गाउँ’ राख्नुपर्ने धारणा व्यक्त गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.