महानगरको डम्पिङ्ग साइडले सिङ्गो बस्ती नै दुर्गन्धित

विराटनगर : विराटनगर महानगरपालिकाले अव्यवस्थित तरिकाले फोहर विसर्जन गर्दा ब्रहमपुरा बस्ती नै प्रभावित बनेको छ।
विराटनगरलाई सुन्दर सफा र हराभरा बनाउने नीति बनाएको महानगरको बेवास्ताले डम्पिङ्ग साइडको वरपरका बासिन्दासँगै विद्यालयमा अध्ययन गर्ने बालबालिकामा पनि नराम्रो असर परेको छ।
महानगरले फोहर फालेको ठाउँमा दैनिक रुपमा आगो लगाउँदा गाउँ नै धुँवाले अन्धकारमय बन्ने गरेको स्थानीय बताउँछन्। 'फोहरमा आगो लगाउँदा हावा चल्नसाथ गाउँ नै अन्धकार हुन्छ', स्थानीय संदीप चौधरीले भने, ‘महानगरले वास्तै गर्देन धुँवाले श्वासप्रक्रियामा समेत असर पुग्ने गरेको छ।'
फोहर जलाएको गन्धले खान बस्नै नसकिने अवस्था आएको उनले बताए। अर्को स्थानीय अनिल चौधरीले जनप्रतिनिधिले डम्पिङ्ग साइडलाई व्यवस्थित गर्न आलटाल गरिरहेको बताए। 'मानवीय संवेदनशिलतालाई जनप्रतिनिधिहरुले किन ख्याल गरिरहेका छैनन्?' उनले प्रश्न गर्दै थप भने, ‘ जनताको सेवक होईनन् र ? '
महानगरको रवैया देखेर पीडित स्थानीय आक्रोशित बनेका छन्। डम्पिङ्ग साइडको प्रदुषणबाट निस्कने दुर्गन्धको पीडा खेपेर बस्न नसकिने अवस्थाको सिर्जना भएको स्थानीय फुलीया देवी कामतले बताइन्।
विरानगरले भाडामा लिएको जग्गामा फोहर विर्सजन गर्ने गरेको छ। विराटनगरबाट सुनसरी जोडने मुख्य मार्गकै छेउ अर्थात विराटनगर-६ केशलीया खोलामा डम्पिङ्ग साईड अवस्थित छ। त्यही डम्पिङ्ग साईडको पश्चिमतर्फ सुनसरी जिल्लाको बर्जु गाउँपालिकाको रामपुर चौक छ।
त्यहाँको फोहरको दुर्गन्धले विराटनगर र रामपुरबासीलाई समस्या थपेको छ। १९ वटा वडा रहेको महानगरमा दैनिक ८० देखि सय मेट्रिक टनसम्म फोहर संकलन हुने गरेको छ। दैनिक ४० देखि ५० टयाक्टर फोहर फ्याकिने गरेको छ।
विराटनगरको फोहर विर्सजन गर्न महानगरले नेपाल फूलवारी, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल र सगरमाथा मल्टि सर्भिस प्रालिलाई ५ वर्षको ठेक्का दिएको बताइएको छ ।
डम्पिङ्ग साईडको विकल्पै नदिइ महानगरले ठेक्का लगाएपछि निजी क्षेत्रले व्यक्तिको जग्गा भाडामा लिएर सोही स्थानमा फोहर विर्सजन गर्दै आएका छन्। फोहर विर्सजन गरिन्छ तर त्यहाँ दुर्गन्ध हटाउने औषधीसम्म नछरिने संदीप चौधरीले बताए।
ब्रहमपुरा स्थित श्रीधरणीधर निमाविका प्रधानाध्यापक खोमप्रसाद निरौलाले फोहरको गन्ध र धुँवाले विधार्थीमा असर परेको बताए।
महानगरको सरसफाई शाखाका प्रमुख पुनम दाहालले व्यवस्थित डम्पिङ्ग साइड निर्माण नभएसम्म यो समस्या रहिरहने बताएकी छन्। विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले बैठक बसेर तत्काल समस्याको समाधान गर्न महानगर लागेको बताए। स्थानीयको समस्या पीडादायक भएकाले त्यहाँका गन्ध र धुँवा नियन्त्रण गर्ने उपाय महानगरले खोज्न लागेको बताए।
प्रतिक्रिया दिनुहोस !
