गाउँपालिकाको नाम सधैं अशुद्ध लेखेर पत्र आएपछि...

काठमाडौं : घ्याङलेख बागमती प्रदेशको सिन्धुली जिल्लामा रहेको एक गाउँपालिकाको नाम हो। तर, अहिले यसै नामले गाउँपालिकाका जनप्रतिनिधिलाई हैरान पारेको छ। कारण–गाउँपालिकालाई आउने पत्रमा शुद्ध नाम नै उल्लेख हुँदैन।
कहिले ध्याङलेख लेखेर आउँछ त कहिले ध्याङखेल। यति मात्रै होइन ध्याङलेख लेखेर पनि विभिन्न मन्त्रालय र कार्यालयको पत्र यहाँ पुग्ने गरेको छ। गाउँपालिका अध्यक्ष जगतबहादुर भोलन भन्छन्, ‘शुद्ध नामले पत्र कमै आउँछ। गाउँपालिकाको नाम नै बिग्रेला भन्ने चिन्ता भयो।’
अहिले यो समस्याको हल गर्न गाउँपालिकाले जिल्लाका सबै सरकारी र गैरसरकारी कार्यालयलाई मात्रै पत्र पठाएको छैन, प्रदेश र केन्द्रका मन्त्रालयलाई पनि ‘हाम्रो गाउँपालिकाको नाम शुद्ध लेखिदिनुहोला’ भन्दै पत्रचार गरेको छ।
‘नाम अशुद्ध निरन्तर दोहोरियो। यो नाम त गाउँपालिकाको पहिचान पनि हो। त्यसैले मन्त्रालयसहित जिल्लाका सबै सरकारी र गैरसरकारी कार्यालयलाई पत्रचार गरेर नाम शुद्ध लेखिदिनु भन्नुपरेको हो,’ गाउँपालिका अध्यक्ष भोलनले भने।
गलत नामले पत्र पठाउँदा कहिलेकाहीँ पत्र नै हराउने संभावना पनि हुने भएकाले पनि नाममा सचेत रहन भन्दै सबैतिर पत्रचार गर्नुपरेको बताउँछन् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्की। ‘हामीले सबै प्रदेश सरकार, केन्द्र सरकार, सरकार मातहतका कार्यालय, जिल्लाका गाउँपालिकासँग जोडिने कार्यालयलगायत सयौं कार्यालयलाई नाम सच्याइदिन भन्दै पत्रचार नै गरेका छौं। अब सुधार होला भन्ने अपेक्षा छ,’ प्रमुख प्रशासकीय अधिकृत कार्कीले भने। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्रचार गर्दै सबैलाई बोदार्थको पत्र पठाएको जानकारी दिए।
यो गाउँपालिकाको नाम तामाङ भाषाबाट राखिएको हो।
तामाङ भाषामा ‘घ्याङ’ भनेको देवी देवता बस्ने ठाउँ र ‘लेख’ ले उच्च भूभाग भन्ने जनाउँछ। उच्च भूभागमा तामाङ समुदायको इष्टदेवता रहने विश्वास गरिन्छ।
२०७३ साल फागुन २७ गतेबाट यो गाउँपालिका स्थापना भएर काम हुँदै आएको छ। साविकका अमले, बस्तीपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गाविसहरूलाई मिलाएर घ्याङलेख गाउँपालिका गठन भएको थियो। यो गाउँपालिकामा ५ वटा वडा छन्।
प्रतिक्रिया दिनुहोस !
