गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन
हेटौंडा : बागमती प्रदेशमा गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा समारोह समिति गठन गरिएको छ।
मंगलबार मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन समिति गठन गरेको हो।
समितिमा बागमती प्रदेशका सभामुख भुवन पाठक, उपसभामुख अप्सरा चापागाईं, बागमती प्रदेशका मन्त्रीहरू विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरू सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैँडा सदस्य सचिव रहेका छन्।
बैठकले जेठ १४ गते हेटौंडा उपमहानगर क्षेत्रको सरसफाइ, तथा सरकारी कार्यालय तथा सार्वजनिक क्षेत्रहरूमा नेपालको राष्ट्रिय झण्डा फहराउने, १५ गते बिहान प्रभातफेरी, दिउँसो मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यक्रम आयोजना गर्ने तथा साँझ दीपावली गरिने जनाइएको छ।
त्यस्तै १६ गते खेलकुद कार्यक्रम तथा सरसफाइ हुने कानुन मन्त्रालयका सूचना अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !