बेपत्ता भएको २४ वर्षपछि सम्पर्कमा

जाजरकोट : जाजरकोट भेरी नगरपालिका-२ तिमिलेका टीकाराम पुन २४ वर्षपछि सम्पर्कमा आएका छन्। माओवादी सशस्त्र द्वन्द्वको क्रममा राज्य पक्षबाट चरम यातना पाइ २०५६ सालदेखि घरपरिवारबाट सम्पर्कविहीन भएका पुन हालै सम्पर्कमा आएका हुन्।
घरमा श्रीमती, दुई छोरा , दुई छोरी रहेका उनी हाल भारतको उत्तराखण्ड प्रदेश उत्तरकासी जिल्ला, नेटवार पोष्ट अफिस मोरी तहसिल, गौरादी गाँउमा ब्यवसाय गरेर बसेको खुलेको हो।
गाँउकै एक जना शिक्षक रुद्रबहादुर वलीसँगको भिडियो कलमार्फत् उनी सम्पर्कमा आएका हुन्। भारतको गौरादी गाँउमा घर बनाई स्याउको बगैंचा तयार गरी कृषि पेसामा जीवन विताइरहेको जानकारी दिएको शिक्षक वलीले बताए। तत्कालीन सुरक्षा फौजले माओवादी आरोपमा चरम यातना दिएपछि ज्यान जोगाउन भागेर भारत आएको र उतै कृषि ब्यवसाय गरेर बसेको टीकारामले बताए।
पढाई लेखाई नभएका कारण पनि आफूले घरमा चिठी पठाउन नसकेको बताए। नेपालमा शान्ति स्थापना भएको थाह नै नपाएको बताए। अझै द्वन्द्वको उस्तै अवस्था होला भन्ने लागेको उनले बताए।
उनलाई घरपरिवारले निकै खोजी गरे पनि कतै भेटाउन सकेका थिएनन्। कान्छो छोरा कर्णबहादुर उनी भाग्दा दुई वर्षका थिए। अहिले २६ वर्षका भइसकेका छन्। छोरा र श्रीमतीलाई लिन आउनका लागि टीकारामले अनुरोध गरेका छन्। टीकारामले भारतमा प्रेम राना नाम राखेका छन्। सोही नामबाट घरजग्गा खरिद गरेर स्याउ बगैँचा पना गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
