विराटनगरमा पहिचान पक्षधरको आन्दोलन
कोसी प्रदेशसभा नजिकै उग्र प्रदर्शन, विराटनगरको देवकोटा चोक तनावग्रस्त

विराटनगर : प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र ऐतिहासिक पहिचानका आधारमा पुनः नामांकन गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले कोसी प्रदेशसभानजिकै सुरु गरेको प्रदर्शनले उग्र रूप लिएको छ । प्रदर्शन र ढुंगामुडाका कारण विराटनगरको देवकोटा चोक रणमैदानमा परिणत भएको छ ।
सुरक्षाकर्मीलाई लक्षित गरेर आन्दोलनकारीले एक्कासी ढुंगामुडा गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको हो । बाँस, लाट्ठी, भालालगायतका घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरले गुलेली पनि प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीको ढुंगा लागेर केही सुरक्षाकर्मी घाइते भएका छन् । गम्भीर घाइते अवस्थाका सुरक्षाकर्मीलाई उपचारका लागि विराटनगरको कोसी, गोल्डेनलगायतका अस्पतालमा भर्ना गरिएको छ । आन्दोलनकारीतर्फ पनि केही घाइते भएका छन् । घाइतेहरुको पूर्ण विवरण आइसकेको छैन ।
प्रदर्शनकारीले देवकोटा चोकमा रहेका पसलहरुबाट प्लाष्टिकका कुर्सी तथा बाँसलगायत लगेर आगो बाल्दै प्रदर्शन गरेका थिए । सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुडा हुन थालेपछि प्रहरीले सुरुमा पानीको फोहोरा हानेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
तर, आन्दोलनकारी आक्रामक र उत्तेज बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । दर्जनौं सेल अश्रुग्यास प्रहार गरिएपनि आन्दोलनकारी पछि हटेका छैनन् । सुरक्षाकर्मीलाई लक्षित गरेर लगातार ढुंगामुडा गरिरहेका छन् । सुरक्षाकर्मीबाट पनि अश्रुग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आन्दोलनको नेतृत्वकर्ताहरूले माइकिङ गरेर आफूहरुको आन्दोलन शान्तिपूर्ण रहेको बताइरहँदा प्रदर्शनकारी भने सुरक्षाकर्मीमाथि खनिएका हुन् । स्थितिलाई नियन्त्रण बाहिर जान नदिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीमाथि आक्रमण गर्ने केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार मध्यान्ह १२ बजेसम्ममा ३७ जना आन्दोलनकारी पक्राउ गरेको प्रहरीले दिउँसो कति जनालाई नियन्त्रणमा लियोभन्ने खुल्न बाँकी छ । सुरक्षाकर्मीलाई लक्षित गर्दै प्रदर्शनकारी आक्रमणमा उत्रिएपछि देवकोटा चोकमा सर्वसाधारणबीच भागदौड मच्चिएको थियो । घटनापछि आतंकित एवं त्रसित बनेका व्यापारीले त्यहाँका पसलहरु बन्द गरेका छन् ।
प्रदर्शनस्थलनजिक विभिन्न स्वास्थ्य संस्था र औषधि पसलहरु छन् । घटनापछि औषधि पसलहरु पनि बन्द गरिएका छन् । उपचारका लागि स्वास्थ्य संस्थामा ल्याइएका बिरामीहरु त्रसित बनेका छन् । बिरामी लिएर आएकाहरूबीच भौगदौड मच्चिएको छ । बिरामीहरुले सहज उपचार पाउने वातावरण बनेन ।
देवकोटा चोक कोसी प्रदेशको प्रदेशसभाबाट लगभग ५० मिटर पूर्वतर्फ मात्रै पर्छ । पहिचान पक्षधरले प्रदेशसभालाई लक्षित गरेर प्रदर्शन उग्र बनाएपछि अवस्था तनावग्रस्त बनेको हो । प्रदेशसभा आसपास र विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरिएको छ । भीड नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेको छ । निषेधित क्षेत्र तोड्न खोज्ने र भीडलाई उत्तेजक बनाएर माहोल भड्काउन खोज्ने केही आन्दोलनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट गुलेली, ढुंगा, लाट्ठी, बाँस, भाला बरामद गरिएको छ । कोसी प्रदेश प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको थियो । पहिचान पक्षधरले प्रदर्शन उग्र बनाएपनि प्रदेशसभा बैठक भने सुरु भइसकेको जनाइएको छ ।
बैठकमा सहभागी हुन जाने सांसद प्रदेशसभा (सदस्य)लाई संसद (प्रदेशसभा भवन) प्रवेशमा अवरोध गर्ने तयारीसहित पहिचान पक्षधर बिहानैदेखि भेला भएका थिए । प्रदेशसभाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
