चेली प्रोत्साहन कार्यक्रम : कैलाश गाउँपालिकाले १२ कक्षा उत्तिर्ण गरेका ६ छात्रालाई सम्मान गर्यो
मकवानपुर : कैलाश गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रमअन्तरगत ६ जना चेलीलाई नगदसहित सम्मान गरेको छ । दश जोड दुई उतिर्ण भइ २० वर्ष वा सो भन्दामाथि उमेर पुगेका ६ जना चेलीलाई बुधबार सम्मान तथा प्रोत्साहन स्वरुप २० हजार रूपैयाँ प्रदान गरिएको हो ।
कैलाश–२ निवासी लक्ष्मी मोक्तान,कैलाश–६ की संगीता ढुंगाना, प्रतिभा अर्याल, लक्ष्मी श्रेष्ठ, कैलाश–९ की उर्मिला थिङ र कैलाश–१० की सरुया प्रजा सम्मानित भएका हुन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लोक मुक्तानले अभिभावकहरूमा सकारात्मक सन्देश जाओस् भन्ने उद्देश्यले चेली प्रोत्साहन कार्यक्रम ल्याइएको बताए ।
‘हामीले गाउँपालिकाका २० वर्ष उमेर पुगेका र कक्षा १२ पास गरिसकेपछि मात्रै विवाह गर्ने चेलीलाई यो कार्यक्रमअन्तरगत प्रोत्साहन रकम २० हजार रुपैयाँसहित सम्मान गर्छौ । यो कार्यक्रममले बालविवाह रोक्न र हाम्रा दिदीबहिनीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन मिल्ने विश्वास लिएका छौँ ,’उनले भने ।
उनले यो कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै सम्मानित हुने चेलीको संख्या आगामी दिनमा क्रमश बढ्दै जाने बतए । कैलाश गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा २ नम्बर वडा अध्यक्ष राजेन्द्र घिसिङको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।