विद्यालयका कर्मचारी आन्दोलित
![विद्यालयका कर्मचारी आन्दोलित](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_SbYC2VH3mP_LnRX2FtzYP.jpg)
बैतडी : जिल्लाका विभिन्न विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित बनेका छन्। सरकारले पारिश्रमिक वृद्धि नगरेको भन्दै उनीहरू आन्दोलित बनेका हुन्। आन्दोलित शिक्षकले आइतबार शिक्षा विकास तथा समन्वय इकाई बैतडीको कार्यालय धर्ना समेत दिएका थिए।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पारिश्रमिक वृद्धिका विषयमा स्पष्ट नपारिएको भन्दै उनीहरू आन्दोलित बनेका हुन्।
नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवा सुविधा बारे ग्यारेन्टी गरिने छ भनिएको भएपनि बजेटमा समावेश नगरेको भन्दै आन्दोलनका कार्यक्रम सुरु गरिएको विद्यालय कर्मचारी खेमराज जोशीले बताए।
नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति बैतडीले आन्दोलनका कार्यक्रम अघि सारेको हो। २६ गतेसम्म नियमित धर्नाको कार्यक्रम रहेको र त्यसपछि पनि थप संघर्षका कार्यक्रम अघि सारिने विद्यालय कर्मचारी गोपाल महराले बताए। ‘पूर्ण सेवा सुविधा सुनिश्चित गर्नुपर्छ, आगामी वर्षको बजेटमा समेटिएन, बेलाबेला हामीले माग गर्दै आएका हौँ, तर सरकारले कुनै सुनुवाइ गरेन।’जिल्लाका अधिकांश विद्यालयका कर्मचारी आन्दोलनमा सहभागी भएको उनले बताए।
विद्यालय कर्मचारीहरूले न्यून पारिश्रमिकमा काम गरिरहेको गुनासो गरेका छन्। कार्यालय सहयोगीले १५ र लेखपालले १७ हजार पारिश्रमिक पाउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)