प्लास्टिक प्रदूषण नियन्त्रणमा सकस

पोखरा : आज विश्वभर ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं : वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइएको छ।
नेपालमा पनि संघ, प्रदेश र स्थानीय तीन तहका सरकारले विश्व वातावरण दिवस मनाए। पोखरा महानगरपालिकाले काहुँडाँडामा वृक्षारोपण लगायत विभिन्न स्थानमा सरसफाई गरेर वातावरण दिवस मनाइयो।
यस वर्षको मुल नारा प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं भन्ने छ। पोखराको फेवातालको गाईघाट क्षेत्रको प्लास्टिक प्रदूषणले भने यस नारालाई गिज्याइरहेको छ। पर्यटकको प्रमुख आकर्षण पोखराको फेवाताल यतिबेला प्लास्टिक प्रदूषणले आक्रान्त छ।
पोखराको विन्ध्यवासिनी देखि आउने भलपानीले सडक वरपर फ्याँयकीएका र फिर्केखोलामा फ्याँकीएका प्लास्टिक जन्य लगायतका फोहोर फिर्के खोला हुँदै फेवातालमा पुगेर विसर्जन हुन्छ। सबैभन्दा धेरै ताल प्रदूषण बुलौदी फिर्के खोलाले बगाएर प्लास्टिक जन्य फोहोर थुपार्दा हुन्छ।
पछिल्लो समयमा तालको मुहान क्षेत्रमा पनि सिमसार पुरेर घडेरी बनाउने र बस्ती बस्ने क्रम बढेसँगै तालको मुख्य स्रोत हर्पन खोला हुँदै पनि प्लास्टिक जन्य फोहोर फेवातालमा थुप्रनेक्रम बढेको छ। वर्षा यामको मुखमा सिमसार क्षेत्र पुर्दा त्यही माटो फेवामा पुगेर तालको सतह घट्दो क्रममा छ। वर्षा याममा मुहानमा जाने पहिरो हर्पन हुँदै तालमा पस्दा ताल साँगुरिदै गएको छ।
पछिल्लो समयमा सिसाका बोतलहरू (बियरको बोतल लगायत) बिक्री कवाडीमा नजाने भएपछि सिसाको बोतलले पनि ताल प्रदूषणको चपेटामा परेको छ। ताल किनारमा बियर खाएर बोतल फुटालेर हिँड्नेसम्मका व्यवहारले ताल र सिमसार क्षेत्र सिसाबाट हुने प्रदूषण समेत बढेको छ।
नागरिकस्तरबाटै जथाभावी रूपमा फोहोर फाल्न हुँदैन भन्ने भावना विकास नहुँदासम्म महानगरपालिका एक्लैले प्लास्टिकजन्य लगायत कुनै पनि फोहोर नियन्त्रण गर्न सम्भव नहुने पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले बताइन्।
सरकारले ४० माइक्रोनभन्दा कम तौल भएका प्लास्टिकको झोदा निर्मूल पार्ने गरी कानुन ल्याएपनि कार्यान्वयन पक्षमा भने सफल हुन सकेको छैन। यसैले पनि पोखराका प्राकृतिक स्रोत फेवाताल, सेती नदी, खोलाहरू र अन्य तालहरू पनि प्लास्टिक जन्य प्रदूणको चपेटामा परेका छन्।
कृषि भूमि खेतबारी प्लास्टिकले ढाकिएको अवस्थामा उत्पादन घट्ने पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया बताउँछन्।
सरकारले यो आर्थिक वर्षको नीति र तथा कार्यक्रममा प्लास्टिकको उपयोग कम गराउन मधु तथा गुट्खाको खोलको विकल्पमा कागज वा कपडाको हुनु पर्ने भनिएको छ। नीति नियम बन्ने तर कार्यान्वयनमा चुक्ने समस्याले वातावरण प्रदूषण बढ्दो क्रममा छ।
पोखरामा बेला बेलामा फेवाताल, फिर्के, बुलौदी लगायतका खोला नदी सफा गरिन्छ तर फोहोर जथाभावी फाल्ने क्रम घटेको छैन। सचेतना कार्यक्रम गरिन्छ तर स्थानीयले नै फोहोर उचित व्यवस्थापनमा ध्यान दिएको पाइँदैन। यसैले पोखराका पानीका स्रोत, खेत, बारी, जंगल चौरहरू प्लास्टिक प्रदूषणको चपेटामा परेका छन्।
प्लास्टिक जलाउने समेत गरिन्छ। यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने छातीरोग विशेषज्ञ डा सिपी आचार्य बताउँछन्। प्लास्टिक पोल्दा आउने धुवाँले क्यान्सर जस्ता रोगहरू लाग्ने पनि उनले बताए। प्लास्टिक जन्य फोहोरले मानव स्वास्थ्य, पानी, कृषि भूमि लगायतका प्रत्यक्ष असर गर्ने भए पनि यसको नियन्त्रण हुन सकेको छैन।
फेवातालको सतहमा फैलिएको प्लास्टिक भित्र माछा छिर्दा माछा बेरिएर बाहिर निस्कन नसकेर मरेको अवस्थामा पनि भेटिने गरेको विगत ३९ वर्ष देखि गाईघाट क्षेत्रमा माछा मार्ने पेसा गर्दै आएकी भगवती रनपालले सुनाइन्।
संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवर्द्धन सम्बन्धी विविध कार्यक्रम गर्दै आआफ्नो स्थानबाट यस दिवस मनाउन स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार एवं सरकारी तथा गैरसकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ। वातावरण दिवस औपचारिकतामा सीमित हुने बाहेक उपलब्धिपूर्ण हुन भने सकेको छैन।
प्रतिक्रिया दिनुहोस !
