पोखरामा चार्टर्ड उडान गर्ने तयारीमा चीन

पोखरामा चार्टर्ड उडान गर्ने तयारीमा चीन
फाइल तस्बिर।

चिनियाँ टोलीले उडानका लागि जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनले चार्टर्ड उडानको तयारी गरिरहेको छ। पोखराको फेवातालमा हुने ‘नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’मा सहभागी हुने चिनियाँलाई लिएर दुई चार्टर्ड उडान आउने भएको बताइएको छ।

मन्त्रालयमा चिनियाँ टोलीले उडानका लागि जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए। औपचारिक सहमतिको पत्र नआए पनि पोखरामा उडान गर्न र आवश्यक सहयोग गर्न मन्त्रालयले तयार भएको जानकारी गराएको लामिछानेले बताए। गत पुस १७ गतेबाट सञ्चालनमा आएको पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि मन्त्रालयले सबैलाई आह्वान गर्दै आएको उनी सुनाउँछन्।

फेस्टिभलमा आउने टोलीले सीधै उडान गर्ने भन्ने जानकारी प्राप्त भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ सिटौलाले जनाए। अन्य देशसँगै चीन समक्ष पनि पोखराबाट सीधा उडानका लागि नेपालले पहल गरिरहेकोमा यो चार्टर्ड उडान हुने देखिन्छ। तर, औपचारिक जानकारी आइनसकेको सिटौलाको भनाइ छ। ‘उनीहरूले चार्टर्ड उडानबाट पोखरा आउन खोजिरहेका छन्। औपचारिक पत्र आउनेबित्तिकै प्राधिकरणले अनुमति दिन्छ,’ प्रवक्ता सिटौलाले भने।

यस प्रकारको बोट रेस फेस्टिभल दक्षिण एसियामै पहिलो पटक आयोजना हुन गइरहेको हो। प्रतियोगितामा सहभागी हुने र प्रतियोगिता हेर्न आउने चिनियाँलाई चार्टर्ड उडानबाट ल्याउने तयारी भइरहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए। ‘उक्त प्रतियोगिता हेर्नका लागि अहिलेसम्म दुई जहाज चार्टर्ड गरेर आउने तयारी भइरहेको बुझिएको छ,’ श्रेष्ठले अन्नपूर्णसँग भने।

चीनको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडानको विषय अहिले टुंगो लागी नसकेको महाप्रबन्धक विक्रमराज गौतमले बताए। पोखरामा सीधा उडानको कुरा अहिले अनौपचारिक जानकारी प्राप्त भएको गौतमको भनाइ छ। ‘चिनियाँ पक्षले पोखरा विमानस्थलमा उडानका लागि केही सोधपुछ गरिरहेका छन्। हामी चाँडै नै उनीहरूलाई उत्तरसहित पठाउँछौं,’ महाप्रबन्धक गौतमले बताए। चीनले चार्टर्ड उडान गरे पोखरा विमानस्थल सञ्चालनको ६ महिनापछि पहिलो व्यावसायिक उडान सुरु हुने उनले जानकारी दिए।

विमानस्थल अहिले ऋणैऋणको बोझमा छ। यो विमानस्थल बनाउँदा लागेको चीनको झन्डै २२ अर्ब रुपैयाँ ऋण २०७९ चैत १ देखि २०९२ असोज १ गतेभित्र भुक्तानी गरिसक्नुपर्ने हुन्छ। प्राधिकरणले पहिलो किस्ता गत चैतमा नै तिरिसकेको छ। नेपाल सरकारको चीनको एक्जिम बैंकसँग ऋण लिएको हो। चिनियाँ ऋणबाट बनेको कारण देखाउँदै भारत पोखरा सीधा उडानका लागि तयार देखिँदैन।

पोखरा विमानस्थल सुरु भएको पहिलो पाँच महिनामा कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। आन्तरिक उडान मात्रै भइरहेका छन्। पोखराबाट विभिन्न देशमा सीधा उडान भर्न थाई स्माइल, जजिरा, साउर्थन चाइनालगायतले चासो देखाएर अध्ययन गरिरहेको बताए पनि उडान भने सुरु भएको छैन।

अब चार्टर्ड उडान पनि सुरु हुने हो भने यसले सकारात्मक सन्देश दिने पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले बताए। चिनियाँ पर्यटकका लागि सीधा उडान सुरु भए पोखरा पर्यटनका लागि सुखद खबर हुने उनको भनाइ छ। अहिले वार्षिक करिब आठ लाख पर्यटक नेपाल भित्रिने अपेक्षा गरिएको छ। यसमा करिब तीन लाख पर्यटक चिनियाँ हुने पोखरा पर्यटन परिषद्को अनुमान छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.