लागुऔषधसहित आठजना पक्राउ

मोरङ : विराटनगर महानगरपालिका-१५ स्थितबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २ ग्राम ७० मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ३४ वर्षीय विकाश लिम्बूसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङ,बेलबारी नगरपालिका-११ स्थित केशल्या पुलबाट अवैध लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम, ट्रमाडोल ५ पिस र स्पासपेन १२ पिससहित सोही नगरपालिका-११ बस्ने २१ वर्षीय दिपेन राई समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै कैलाली,धनगढी उपमहनगरपालिका-१३ राजपुर गाउँबाट अवैध लागुऔषध खैरो हेरोइन करिब २ ग्राम ४० मिलिग्रामसहित दुईजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय जियाराम राना र २४ वर्षीय गणेश राना रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले जियाराम रानाको घर तलासी गर्दा ४३ वटा पोकामा रहेको उक्त परिमाणको लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से.२ प ११८८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ६० मिलिग्रामसहित कैलाली गौरीगंगा नगरपालिका-२ बस्ने २४ वर्षीय भिमबहादुर सिजालीसमेत दुईजनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र. ०१-००८ प ३९०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
