युवाले चन्दा संकलन गरेर सर्पदंश उपचार केन्द्रमा जुटाए लाखौंको उपकरण

काठमाडौं : महोत्तरीको बर्दिबासका मनकारी युवाहरुले चन्दा संकलन गरेर सर्पदंश उपचार केन्द्रलाई लाखौंको उपकरण खरिद गरिदिएका छन्। युवाहरुले एक आपसमा सहयोग संकलन गरे उपचार केन्द्रमा एन्टि स्नेक भेनम भण्डारण गर्न एक थान फ्रिज, स्टेप लाइजर, भ्याक्सिन राख्ने बक्स सहयोग गरेका छन्।
त्यसैगरि बर्दिवास नगरपालिकाको तर्फबाट मेयर प्रह्लाद कुमार क्षेत्रीले पोर्टेवल भेन्टिलेटर र अक्सिजन कन्सट्रेटर केन्द्र ब्यवस्थापन समिति हस्तान्तरण गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालय बर्दिवास र बर्दिवास हेल्फ फाउन्डेसनमा आबद्ध दुई दर्जन युवाहरुले मिलेर मिलेर सहयोग जुटाएका थिए। नगरपालिकालाई भेन्टिलेर मेसिन र अक्सिजन कन्सट्रेटर हस्तान्तरणका लागि वातावरण मिलाएका थिए।
बर्दिबास हल्फ फाउण्डेसनमा आवद्ध युवाहरुले उचित तापक्रममा मेन्टेन गरेर एन्टि स्नेक भेनमलाई भण्डारण गरि राख्न मिल्ने २ लाख ८२ हजार ५ सयको बराबरको एक थान फ्रिज किनिदिएको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा कार्यालय बर्दिवासको तर्फबाट ७ हजार बराबरको एकथान स्टापलाईजर र ३५ हजार बराबरको एक थान भ्याक्सिन बक्स प्रदान गरिएको शाखा अध्यक्ष सुदिप कार्की (रेवन्त)ले बताए।
उपकरण खरिदमा सहयोग रकम उपलब्ध गराउँनुहुने दातालाई बर्दिबास हेल्प फाउण्डेसनका अध्यक्ष हीरा गौतमले धन्यवाद दिएका छन् । ‘ गर्मि बढ्दै गर्दा तराईमा सर्पको टोकाई अध्याधिक हुन्छ । यस्तो बेला ज्यान बचाउने एक मात्रै स्थान सर्प दंश उपचार केन्द्र गौरीडाँडा हो । तर, यहाँ उपकरण अभाव रहेको हामीलाई जानकारी भयो अनि हामी युवाहरु जुटेर गाउँलेको ज्यान बचाउनका लागि उपकरण खरिदमा जुट्यौं’, अध्यक्ष गौतमले भने, ‘समाजिक काममा सबैले मन खोलेर सहयोग गर्नुभयो । आगामी दिनमा यस्तै खाले अन्य सहयोगहरु गर्दै जनेछौं ।’
सहयोगमा प्राप्त उपकरणले उपचारमा निकै सहयोग पुग्ने सर्प दंश उपचार केन्द्रका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले जनाए। ‘उपचार केन्द्मा पुरानो फ्रिज तापक्रम मेन्टिेन गर्न नसक्दा गत वर्ष सात सय एन्टि स्नेक भेनम नष्ट भएको थियो। भेन्टिलेटरको अभावमा सर्प दंशबाट गम्भीर विरामी परेकाहरुलाई उपचारमा समस्या हुँदै आएको थियो’, समस्या बताउँदै अध्यक्ष देवकोटाले भने, ‘अब भने ती सबै समस्या समाधान भएको छ। मनकारी युवाहरुको सहयोगले सर्पको टोकाईबाट घाइते भएर उपचारका लागि आउनेहरुले स्वास्थ्य लाभ लिने छन्। ’
२०७१ साउन ३१ देखि समुदायबाट सञ्चालन गरिएको सर्प दंश उपचार केन्द्रले गत आर्थिक वर्षसम्म ३२ हजार बढीको ज्यान जोगाएको उनले बताए। सामुदायिक स्तरबाट सञ्चालित सर्प दंश उपचार केन्द्र गौरिडाँडामा नेपाली सेनाको प्राविधिक सहयोगमा एक दशकदेखि उपचार हुँदै आएको छ। यहाँ भेन्टिलेटर सञ्चालनमा बर्दिबास जनसेवा हस्पिटलले सहयोग गर्ने अस्पतालका अध्यक्ष सुमन भुजेलले प्रतिबद्धता जनाए।
एक अध्ययनका अनुसार महोत्तरीको बर्दिबासको चुरे क्षेत्र बिशालु सर्पको राजधानी हो। ‘किसान, गरिव तथा विपन्न वर्गका मानिसहरु बढी सर्पको टोकाईबाट घाइते हुन्छ। उनीहरुको उपचारमा स्थानीय सरकारले सहयोग गर्नु पर्छ’ अध्यक्ष देवकोटाले भने ,‘ केन्द्रमा ६ सय थान एन्टि स्नेक भेनम मौजुदा छ।’
प्रतिक्रिया दिनुहोस !
