नेताको घरमा देउसी खेलेको भरमा न्यायाधीश बन्ने दिन गए : कानुनमन्त्री गुरुङ
चितवन : भ्रष्टाचारको जालोले न्यायलय घेरिएको आलोचना भइरहदा कानुनमन्त्री धनराज गुरुङले आफ्नो कार्यकालमा न्यायलयलाई भ्रष्टाचारमुक्त बनाउन लागेको बताए । उनले नेताको घर धाएर न्यायाधीश बन्न नसक्ने बताएका छन् ।
उनले न्यायलयलाई स्वच्छ बनाउन आफू लागिपरेको बताए । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेताको घरमा धाउनेले अवसर नपाउने बताए । ' म रहुन्जेल ब्रीफकेस बोकेर धाउनेहरू न्यायलयको न्यायाधीश बन्न सक्दैनन् भन्नेमा म प्रतिबद्ध छु । नेताको घरमा देउसी खेलेर न्यायाधीश बन्ने दिन गए । लाभ लिन्छु भन्नेले केही पाउदैन ,'उनले भने,'न्यायलय भ्रष्टाचार भएको कुरा व्यापक आएको छ । त्यसलाई सफा गर्न त पार्टीले मलाई पठाएको हो ।'