एघार थरी औषधि छोडेर रजहरबाट फर्किए महरा
चितवन : राजनीतिक समस्यालाई जितेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आफ्नै शरीरको समस्यालाई जित्न सकेनन्। देख्दा समान्य भए पनि शारीरमा रोगको उपचारका लागि अस्पताल धाउँदा आजित बनेका महराले विकल्प खोजे, प्राकृतिक चिकित्सा।
१२ थरीको औषधि बोकेर प्राकृतिक चिकित्सालय छिरेका महरा फर्किँदा एघार थरी औषधि छोडेर गए। रोगलाई नियन्त्रण गर्न उनले मेडिकल औषधि प्रयोग गर्थे। रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचार गरेपछि आफूले प्रयोग गर्दै आएको औषधिको सेवन हटाएर फर्किए।
‘सुगर, प्रेस, समान्य बनाएर फर्किनुभयो। सधैं खाने गरेको १२ थरीबाट १ थरी औषधिको प्रयोग गर्न नपरेको बताउनुभयो,' अस्पतालका ब्यवस्थापक हरि सापकोटाले भने, 'शरीर चङ्गा बनाएर फर्किनु भएको छ।’
१२ दिनको आवासीय उपचारपछि घर चिकित्सालयमा हालसम्म ४० हजारभन्दा बढीले सेवा लिइसकेका छन्। चिकित्सालयमा आकाश चिकित्सा, वायु चिकित्सा, सूर्यकिरण चिकित्सा, जल चिकित्सा, माटो चिकित्सा, योग चिकित्सा, जडीबुटी चिकित्सा, आहार चिकित्सा, मनोचिकित्सा, मर्म चिकित्सा, मालिस चिकित्सा, गौमूत्र चिकित्सालगायतका विधिबाट उपचार गराइन्छ।
चिकित्सालयमा कोरोनाको महामारीको समयमा आठ सयभन्दा बढी कोरोना सङ्क्रमितलाई सेवा दिइएको थियो। चिकित्सालयलाई शिक्षण अस्पताल र विश्वविद्यालयका रूपमा विकास गर्दै ज्येष्ठ नागरिक आरोग्य आश्रम र देशैभर जीवनशैली सुधार प्राकृतिक चिकित्सा र योगसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याउने योजना रहेको उनको भनाइ छ। चिकित्सालयमा दैनिक ७० देखि ८० बिरामीहरु उपचाररत छन्।
पूर्व सभामुखसमेत रहेका महरा १२ दिन प्राकृतिक चिकित्सालयमा बसेर उपचार गरेका थिए। सो अवधिमा उनले चार किलो तौलसमेत घटाएका थिए। ‘प्राकृतिक उपचारमा विश्वास लागेर आफैं आउनुभएको हो। उहाँको समस्या अधिकांश हल भएको छ,’ अस्पतालका प्रबन्ध निर्देशक डा. विनोद पौडेलले भने। जीवन फेरिएको अनुभूति गरेर फर्किएको उनको भनाइ छ।
महरा विहान साढे चार बजेदेखि प्राकृतिक उपचार पद्धतिमा सहभागी हुन्थे। उनी सर्वसधारणसँगै बसेर उपचार लिएको अस्पतालको भनाइ छ। महराले आफूलाई प्राकृतिक उपचारमा विश्वास लागेर आएको बताए। 'अबको जीवन प्राकृतिक उपचार र यसको उत्थानमा लाग्नेछु,' उपचारपछि उनले भने।