सिन्धु कपको उपाधि भगवती क्लबलाई
सिन्धुपाल्चोक : सिन्धुपाल्चोककै सर्वाधिक चर्चित र दुई लाख धनराशि रहेको नवौँ ‘सिन्धु कप फुटबल प्रतियोगिता २०८०’ को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ।
बलेफी गाउँपालिका-८ स्थित युथ स्पोर्टस क्लब लामोसाँघुद्वारा आयोजित प्रतियोगितामा श्री भगवती क्लब टोखाले काभ्रे जिल्ला फुटबल संघलाई ४-३ गोल अन्तरले पराजित गरेको छ।
पहिलो हाफको ३३ मिनेटमा काभ्रेका तर्फबाट देवराज तामाङले भगवती विरुद्ध गोल गरेका थिए भने दोस्रो हाफको २२ मिनेटमा भगवतीका फोफोना फोडेले गोल गरेपछि खेल बराबरीमा सकियो।
खेल बराबरी भएपछि त्यसपछि पेनाल्टी सुट आउट (ट्राईबे्रकर) मा ४-३ गोल अन्तरले भगवती विजयी भएको हो। आयोजक क्लबका अध्यक्ष उमेश प्रधानले बिजेता हुने प्रथम टिमलाई दुई लाख नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र र द्वितीय हुने टिमलाई एक लाख नगद्सहित ट्रफी, मेडल, प्रमाणपत्रद्वारा पुरस्कृत गरेको जानकारी दिए।
खेलको म्यान अफ द म्याच भगवती क्लबका जिगारत शेख भए भने सबैभन्दा बढी गोल गर्ने काभ्रेका अभियोगी हुन सफल भएका छन्।
बेस्ट डिफेन्स काभ्रेका सञ्जीव राई, बेस्ट मिडफिल्डर भगवतीका अमित लामा, बेस्ट स्टाइगर भगवतीकै निराजन धामी, बेस्ट कोच भगवतीकै महेश श्रेष्ठ र प्रतियोगिताकै उत्कृष्ट किपरमा भगवतीका जिगारत शेख हुन सफल भए। उनीहरूलाई नगद सहित ट्रर्फीद्वारा पुरस्कृत गरिएको थियो।
सुनकोशी गाउँपालिका-७ स्थित बसन्तपुर खेलमैदानमा जेठ २८ गतेबाट सुरु भएको फुटबल प्रतियोगिताको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले समापन गरेका हुन्।