विराट गोल्डकपमा १० वटा टिम सहभागी हुने
विराटनगर : विराटनगरमा आयोजना हुने नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा १० वटा टिम सहभागी हुने भएका छन्।
प्रतियोगितामा २ वटा भारतीय र नेपालका विभागीयसहित ८ वटा टिमले भाग लिने भएका हुन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेर प्रतियोगितामा सहभागी हुने टिमका बारेमा जानकारी गराइयो। आठौं संस्करण आफैं गरेको विराट गोल्डकप फुटबल ट्रष्टले नवौं संस्करण आयोजनाको जिम्मा उद्योगी नवीन रिजाललाई दिएको छ।
गोल्डकप संयोजक रिजालले प्रतियोगितामा भाग लिने टिमको टुंगो लागिसकेको बताए। भारतबाट साउथर्न समिति फुटबल क्बल कोलकाता र सुदेभा दिल्ली फुटबल क्लब विराटनगर आउने छन्। नेपालका विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ फुटबल क्लबसहित थ्रीस्टार फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब, चर्च ब्वाइज फुटबल क्लब तथा रिजालको मोरङ एफसी प्रतियोगितामा सहभागी हुने छन्।
रिजालका अनुसार ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने मूल नाराका साथ फागुन १९ गतेदेखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ। विराटनगरको सहिद रंगशालामा हुने गोल्डकप आयोजनाका लागि मैदान मर्मत र सरसफाइको काम भइरहेको जानकारी दिँदै रिजालले प्रायोजकहरुको लगभग टुंगो लागिसकेको बताए। रंगशाला बाहिर र भित्र ब्यानर तथा होडिङ बोर्ड राख्ने तथा फ्रल्ड लाइट चेकजाँचको काम भइरहेको उनको भनाइ छ।
रिजालले फ्रल्ड लाइटमा केही समस्या देखिएकाले मर्मतका लागि सहयोग गर्न प्रदेश सरकारलाई आग्रह पनि गरेका छन्। उनका अनुसार प्रतियोगिताका लागि संरक्षक र प्राविधिक सहयोगीमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल संघ (एन्फा) र मोरङ उद्योग व्यापार संघ रहेका छन्।
प्रतियोगितालाई सम्पन्न गर्न समिति गठन गरेर कार्यविभाजन अनुसार कामहरु अघि बढिरहेको जानकारी उनले दिए। गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिने छ। त्योबाहेक उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन्।
पुरस्कारबापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार रूपैयाँ प्रदान गरिने जानकारी रिजालले दिए। ‘सबै क्षेत्रमा आर्थिक मन्दीको असर परेका कारण सहयोग जुटाउन कठिनाइ भइरहेको छ,’ उनले भने, ‘तर, गोल्डकपको पहिचानलाई जोगाउन प्रतियोगिता सञ्चालन गर्नैपर्ने अवस्थामा विभिन्न चुनौतीको सामाना गर्दै अगाडि बढ्ने जमर्को गरिरहेका छौं।’
प्रतियोगितालाई सभ्य र भव्य हिसाबले सम्पन्न गर्न दैनिक राष्ट्रिय स्तरका कलाकारबाट सांस्कृतिक कार्यक्रम गर्ने आयोजकको तयारी छ। दर्शकमध्ये दैनिक ५ जनालाई ‘फेस अफ दी विराट गोल्डकप’ छनोट गरेर ताज पहिरिने व्यवस्था मिलाइएको रिजालले बताए। उनका अनुसार विराटनगरको इज्जत र प्रतिष्ठासँग जोडिएको ऐतिहासिक गोल्डकप सफल बनाउनलाई सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस !