गुणस्तरीय सडक कि एयरपोर्ट ?
राष्ट्रको विकासको आधार भनेकै बाटो हो। बाटोबिना कहीँकतैको पनि विकासको सम्भावना हुँदैन।
एयरपोर्टहरूको निर्माण बिस्तार तथा सुधारका कामहरू भइरहेछन्। करिब एक वर्षअघि भैरहवाको अन्तर्राष्ट्रिय एयरपोर्टको निर्माण सम्पन्न भयो। करिब ६ महिनाअघि पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्टको उद्घाटन भयो। नेपालगन्ज एयरपोर्टमा नयाँ टर्मिनल भवनको निर्माण कार्य सुचारु गर्दै अन्तर्राष्ट्रिय उडान भर्ने रणनीतिमा छ। भइरहेका विमानस्थलहरूको आधुनिकीकरण र सुरक्षाको विषयलाई विकास गर्नु स्वाभाविक हो यात्रुहरूको चाप तथा सम्भावना हेरेर बिस्तार गर्नु पनि स्वाभाविक हो गरिनु पनि पर्छ तर यसरी हवाई यातायातको बिस्तार विकास गर्दै जाँदा सडक यातायातको स्तर उन्नति तथा आधुनिकीकरण गर्न भने कदापि भुल्नु हुँदैन।
दुर्गम पहाडी क्षेत्र तथा हिमाली क्षेत्र जहाँ सडक यातायात निर्माणमा कठिनमा मात्र होइन, जोखिम पनि त्यत्तिकै हुन्छ। त्यस्तो ठाउँमा हवाई यातायातलाई प्राथमिकता दिइनुपर्छ। तर, सर्वसाधारणको प्रयोग तथा ढुवानीको प्रयोजन सडक यातायातलाई निरन्तर रूपमा निर्माण तथा विस्तार गर्नै पर्छ भने दूरदराजमा रहेका ऐतिहासिक, पर्यटकीय तथा सांस्कृतिक धरोहर रहेका गन्तव्यसम्म पुग्न सडक यातायातको नितान्त आवश्यकता देखिन्छ। मुख्य कुरो तत्काल प्राथमिकता सडकलाई दिने कि हवाई यातायातलाई दिने ? स्थान हेरेर आधार तय गर्नै पर्छ।
नेपालमा ५३ एयरपोर्ट रहे पनि सञ्चालनमा ३३ मात्र छन्। आर्थिक रूपमा सम्भाव्य तथा जनसुविधालाई ध्यान नदिएर ठूलो लगानीमा बनाइने एयरपोर्ट राष्ट्रकै लागि ठूलो नोक्सानी हो। एयरपोर्ट निर्माण तथा सुधार केन्द्रीय राजधानीको दूरी हेरेरभन्दा पनि पर्यटकीय सम्भावना बोकेको स्थान तथा जनताका लागि सडक यातायात कठिन तथा धेरै जोखिम हुने स्थान हेरेर गर्नुपर्छ। पोखरामा ठूलो लगानीमा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण सम्पन्न भएको छ। यो अहिलेलाई आर्थिक रूपमा सम्भाव्य त छैन तर पर्यटकीय सम्भावनालाई हेरेर क्षेत्रीय रूपमा हवाई यातायातको विकास गर्न सकिन्छ। प्रयास गर्ने हो भने भविष्यमा पर्यटकीय क्षेत्रको हब बन्न सक्छ।
विश्वका कतिपय देशमा सार्वजनिक एयरपोर्टको अलावा निजी एयरपोर्टहरू पनि बन्ने गरेका छन्। तथ्यांकअनुसार अमेरिकामा करिब २० हजार एयरपोर्टहरू छन्। तीमध्ये ५ हजारमात्र सार्वजनिक एयरपोर्ट छन्। नेपालभन्दा करिब पाँच गुणा ठूलो तथा अमेरिकाकै एउटा ठूलो राज्य टेक्ससमा २४ वटा एयरपोर्ट छन्। त्यस्तै विश्वकै दोस्रो ठूलो देश क्यानडामा २६ वटा मात्र सार्वजनिक एयरपोर्ट छन्। जसमध्ये चार अन्तर्राष्ट्रिय एयरपोर्ट छन्। एउटा समृद्ध, सम्पन्न देश बेलायत नेपालभन्दा करिब डेढ गुना ठूलो छ। जहाँ ४० एयरपोर्ट छन् भने विश्वकै तेस्रो ठूलो देश तथा नेपालभन्दा ६५ गुना ठूलो देश चीनमा करिब २०० एयरपोर्ट छन्। विश्वका पर्यटनहरूको एउटा आकर्षक गन्तव्य इटालीमा ७७ एयरपोर्ट छन्।
विकसित देशहरूमा एयरपोर्टहरू पनि छन् तर त्यहाँ आन्तरिक आवागमनमा सडक यातायात निकै महत्त्वपूर्ण मानिन्छ। देशका प्रमुख सहरहरू जोडने द्रुत गतिका राजमार्गहरू छन् भने ससाना सहरहरू तथा ग्रामीण बस्तीहरूमा पनि राजमार्गसम्मको पहुँचको तथा आन्तरिक आवत–जावतको लागि सुन्दर पक्की सडक बनाइएको हुन्छ। विशेष परिस्थिति तथा विशेष व्यापारिक प्रयोजनबाहेक मानिस चारपाँच सय किलोमिटरसम्म यात्रा सडकबाटै रुचाउँछन्। त्यसमा पनि निजी गाडीमै। समयको पाबन्दीलाई हेरेर लामो यात्रा भने हवाई मार्गबाटै गर्छन्।
विकसित देशहरूमा एयरपोर्टहरू पनि छन् तर त्यहाँ आन्तरिक आवागमनमा सडक यातायात निकै महत्तवपूर्ण मानिन्छ। देशका प्रमुख सहरहरू जोडने द्रुत गतिका राजमार्गहरू छन्।
सडक यातायातको विकासबिना देशको विकासको कल्पना गर्न पनि सकिँदैन र राष्ट्रको विकासको आधार भनेकै बाटो हो। बाटोबिना कहीँकतैको पनि विकासको सम्भावना हुँदैन। जिल्लामा एयरपोर्ट बनाए पनि एयरपोर्टबाट स्थानीय बजार तथा ग्रामीण बस्तीमा सडक बनाउनै पर्छ। प्राकृतिक सुन्दरताले भरिएको नेपालमा त झन् पर्यटक हवाई यातायातभन्दा सडक यातायातमा रुचि राख्छन्। द्रुत गतिको सडक यातायातको अभाव भइरहेका सडक पनि जीर्ण तथा सुस्तगतिको मर्मतसम्भारका कारण पर्यटकले सडक यातायातको प्रयोग गरेर नेपालको वास्तविक प्राकृतिक सुन्दरताको अनुभूति गर्न पाइरहेका छैनन्।
देशमा द्रुतगतिका सडकहरू निर्माण गरे काठमाडौं–पोखरा (२०० किमी) करिब दुई घण्टा, काठमाडौं– चितवन (१५० किमी) करिब डेड घण्टा, काठमाडौं–वीरगन्ज (१३७ किमी) करिब डेड घण्टा, काठमाडौं–निजगढ (निर्माणाधीन द्रुतमार्गबाट ७३ किमी) एक घण्टाभन्दा कम समयमा, काठमाडौं–लुम्बिनी (२९० किमी) करिब ३ घण्टा, काठमाडौं–जनकपुर (२२५ किमी) करिब साढे दुई घण्टाभन्दा कममै पुग्न सकिन्छ। यसैगरी, पोखरा–जोमसोम (१५० किमी) डेढ घण्टा पुग्न सकिन्छ भने द्रुतमार्ग बनाए नेपालगन्जदेखि रारासमेत दुई घण्टा पुग्न सकिन्छ। द्रुतमार्गबाट नेपालको पूर्वमेचीदेखि महाकाली एकै दिनमा पुग्न सकिन्छ। नेपालको प्राकृतिक भू–बनोटको कारण सडक निर्माण सहज भने छैन। तर, नेपालजस्तै देश स्विट्र्जरल्यान्ड, नेदरल्यान्ड. चीनको तिब्बत तथा अन्य धेरै पहाडी मुलुकमा सडक यातायातको यसरी विकास गरिएको छ कि पर्यटक त्यहाँ पुगेपछि त्यहाँको प्राकृतिक सुन्दरता हेर्न सडक यातायात (बस वा ट्रेन) नै रोज्ने गर्छन्। अनुसन्धान प्रतिवेदनका अनुसार विश्वमा सबैभन्दा राम्रा सडकमध्ये गुणस्तरको आधारमा सिंगापुर, स्विट्र्जरल्यान्ड, नेदरल्यान्ड, हङकङ, पोर्चुगल पर्छन् भने सडक सञ्जालको आधारमा अमेरिका, साउदी अरेबिया, स्पेन, स्विडेन र दक्षिण अफ्रिका छन्।
यसर्थ नेपालमा अहिले नयाँ नयाँ विमानस्थलको निर्माणभन्दा प्राथमिकताको आधारमा सडक यातायातलाई नै बिस्तार तथा गुणस्तरीय बनाउनु पर्छ। सञ्चालनमा रहेका र सम्भावना भएका एयरपोर्टहरूलाई स्तरोन्नति तथा व्यवस्थित गर्नुपर्छ। काठमाडौं एयरपोर्टको एयर ट्राफिक क्षमताभन्दा बढी भइसकेकाले यहाँबाट उड्ने बिमानहरू कहिल्यै समयमा उड्न सक्दैनन्। यहाँ अबतरण गर्ने बिमान केही क्षण आकासमै घुम्नुपर्ने अवस्था हरेक दिन देखिन्छ। यो समस्या समाधानका लागि यथाशीघ्र निजगढ वा काठमाडौंनजिक अन्य सम्भाव्य स्थानमा विमानस्थलको निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रिय उडानहरूलाई स्थानान्तरण गर्नुपर्छ। हवाई यातायात सेवाको प्राथमिकता काठमाडौंसँग मात्र होइन, क्षेत्रीय स्तरमा एकापसमा जोडिनुपर्छ। आन्तरिक रूपमा पनि कनेक्टिङ फ्लाइटको अवधारणाको विकास गर्नुपर्छ। अब आउने दशक (२०८०–२०९०) लाई सडक निर्माण दशक मनाऔं र देशभरमा सडक सञ्जालको बिस्तार गरौं। विकास आफैं गाउँगाउँमा पुग्ने छ।