आरतीका श्रीमान् र ससुरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

आरतीका श्रीमान् र ससुरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
सुन्नुहोस्

जनकपुरधाम : धनुषा जिल्ला अदालतले रहस्यमय मृत्यु भएको आरती साहको मुद्दामा अभियुक्त बनाइएका उनका श्रीमान् र ससुरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 

जिल्ला अदालत धनुषाका न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले आरतीका श्रीमान् मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

गत जेठ ७ गते साँझ आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदन मोहनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। 

आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी भनिएकी आरतीको घाँटी लगायत शरीरका अन्य भागमा पनि निलडाम तथा घाउचोट भेटिएपछि उनको हत्या भएको भन्दै किटानी जाहेरी दिइएको थियो।

त्यसपछि अनुसन्धान गरेको प्रहरीले घटनामा आरतीका श्रीमान् र ससुराको संलग्नतामा घटना भएको देखिएपछि जिल्ला सरकारी वकिल कार्यालय धनुषाले अदालतमा मुद्दा दायर गरेको थियो। गत असार १ गते दर्ता भएको मुद्दामा असार ३ मा लगातार थुनछेक बहस भएको थियो। प्रतिवादीतर्फ धेरै कानुन व्यवसायी रहेको कारण हेर्दा हेर्दैमा राखेर उक्त मुद्दामा बहस सुनिएको थियो।

मंगलबार खाजा समय अघि बहस सकिएपछि न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले दुवै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। 

अदालतमा ढुंगामुढा 

रहस्यमय मृत्यु भएको आरती साह न्याय माग्दै माइतीपक्षले जिल्ला अदालत धनुषामा ढुंगामुढा गरेका छन्। धनुषा प्रहरीले हत्यारालाई जोगाउन खोजेको भन्दै माइतीपक्षले मंगलबार धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै अदालत परिसरमा ढुंगामुढा गरेका थिए।

मृतक आरतीको माइतीपक्षले अदालत परिसरमा ढुंगामुढा गर्दा प्रहरीसँग झडप समेत भएको छ। झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा नगराइन नगरपालिका–८ खिरखिरिया बस्ने लिला देवी, लाडो बति देवी, कृष्णा साह र प्रवीण साह छन्। प्रहरीले सोही ठाउँ बस्ने गोविन्द साहलाई पक्राउ समेत गरेको छ।

परिवारजनले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। पीडित परिवारलाई उल्टै धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न माग गर्दै विरोध गरिएको हो।

गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २२ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो। उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआइबीद्वारा जाँच लगायत ६ सुत्रीय माग राखेका छन्।

काठमाडौंमा धर्ना 

हत्यारालाई कारबाहीको माग गर्दै बुबा आमा सहित परिवारजन गत शनिबार देखि काठमाडौंमा धर्नामा बसेका छन्। धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरती कुमारी साहको हत्या दाइजोका कारण गरिएको माइतीपक्षको आरोप छ।

दहेजको थप रकम नदिँदा पटक–पटक आरतीलाई कुटपिट गर्दै शारीरिक र मानसिक यातना दिँदै आएको थियो। यसअघि पनि आफ्ना छोरीलाई उनका श्रीमान्, ससुरा र सासू मिलेर थप दाइजो माग गर्दै आएको विनोदको दाबी छ। 

उनले भने, ‘दहेजको थप रकम नदिँदा पटक पटक आरतीलाई उनीहरूले कुटपिट गर्दै शारीरिक र मानसिक तनाव दिँदै आएका थियो। छोरीलाई कुटपिट गरेको देख्दा मैले धेरैपटक रकम पनि दिएँ,’ उनले भने, ‘अन्ततः उसको श्रीमान्, ससुरा, सासू र देवर मिलेर कुटपिट गर्नुका साथै घाँटी थिचेर हत्या गरे।’ स्थानीयवासीलाई उद्धृत गर्दै मृतकका बुबा विनोदले भने, ‘घाँटी थिचेपछि आरती कराएकी थिइन्, त्यसपछि टोलका मानिसहरू भेला हुन थालेपछि आरतीले झुण्डेर आत्महत्या गर्यो भन्दै नाटक गरियो।’

उनले विगतमा पनि पटक–पटक थप दहेजका लागि आरतीलाई उनीहरूले दबाब र कुटपिट गर्दै आएको दाबी गरे। दहेजकै रकमका लागि उनको टाउको लगायत शरीरका विभिन्न भागमा कुटपिट गरी घाँटी थिचेर हत्या गरेको विनोदको आरोप छ।

आरतीका ससुरा, श्रीमान् र सासूले पोल खुल्ने डरले मृत शरीर नै काव्या अस्पतालमा उपचारका लागि लगेको उनको दाबी छ। उनले आरतीले झुण्डेर आत्महत्या गर्यो भन्दै आफूलाई साँझ फोन गरेर जानकारी गराइए पनि घटना भने दिउँसै घटाइएको जिकिर समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.