जनमतको जग

जनमतको जग

दुर्गमको चिया पसलेलाई युरोपको कथा मन पर्दैन। प्रवचन व्यवहारमा मुखरित भएन भने त्यो ढोंग हो ।

गरिबी उत्पादनको प्रमुख आयाम अर्थ राजनीति हो। अर्थ राजनीतिले देशका साधन र स्रोतहरूलाई एउटा वर्गको पक्षपोषण हुने गरी नीति, नियम, कानुन, प्रशासन, सेना, प्रहरी, अदालत र संवैधानिक निकायहरू निर्माण गर्छ। मानव चोला सृष्टिको ताज हो। ब्रह्माण्डको सर्वोत्कृष्ट सिर्जना हो। तर, उत्कृष्ट मानव जीवनलाई निक्रिष्ट बनाउने अवस्था गरिबीले सिर्जना गर्छ। व्यवस्था परिवर्तन हुँदैमा अवस्था परिवर्तन हुँदैन। नेपालको निरपेक्ष गरिबी दर घटेर १५ प्रतिशत पुगेको छ। १७.४ प्रतिशत नेपाली जनता बहुआयामिक गरिबीको स्थितिबाट गुज्रिरहेका छन्।

गरिबीको भवसागर गहिरिँदै जाँदा मानव जीवन थप कष्टकर बन्दै जाने निश्चित छ। जब मानिसले आफ्नो पूर्ण क्षमतामा काम गर्न सकिरहेको हुँदैन। क्रमशः भाग्यवादको सिकार हुन पुग्छ, यसले समाजलाई नै पछाडि धकेलिरहेको हुन्छ। अर्थ सामाजिक रूपान्तरणमा निरपेक्षतावाद निकै बलियो आधार हो। विज्ञानले सापेक्षतावादलाई एउटा प्रमुख आविष्कारको रूपमा लिने गर्छ। यो ब्रह्माण्डमा सापेक्षतावादको नियमअनुसार समयको मापन गरिएको पाइन्छ। खगोलीय पिण्डहरूको गतिको मापन यही समयको सापेक्षतामा आधारित रहेको पूर्वीय दर्शनहरूमा पाइन्छ। आइन्सटाइनले त धेरैपछि मात्र यो नियम पत्ता लगाएका हुन्। अर्थराजनीतिमा पनि निरपेक्षतावादको प्रयोग सान्दर्भिक हुने गर्छ। अतः सापेक्षतावादलाई तोड्नेबित्तिकै समाजमा उत्साहजनक कामहरू हुन सुरु हुन्छ।

उदाहरणका लागि, धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन साहलाई लिन सकिन्छ। दलालवादसँग निरपेक्ष भएका कारण उनीहरू जनप्रिय भए। जबसम्म निरपेक्ष रहिरहन्छ तबसम्म जनप्रिय हुन्छन्। जुन दिन उनीहरू आमप्रवृत्तिको रूपमा रहेको सापेक्षताको घेराभित्र प्रवेश गर्छन्, उनीहरूको यो क्रेज समाप्त हुन्छ। रवि लामिछानेलगायत युवाले निरपेक्षवादको वकालत गरे। निर्वाचित भए अनि सत्तारोहण पनि भयो। अब उनीहरू आमप्रवृत्तिको सापेक्षिक घेराभित्र घुस्न आउँछन् कि त्यहीँ टिकिरहन्छन् ? समयान्तरमा स्पष्ट हुँदै जानेछ। डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भौतिक योजनामन्त्री थिए हृदयेश त्रिपाठी। गोरखाका भट्टराईलाई काठमाडौंका रैथाने र धनाढ्यसँग त्यति धेरै लगाव बनिसकेको थिएन। त्रिपाठी पनि तराईका नेता भएकाले काठमाडौंका घरधनीसँग हिमचिम र लगाव थिएन। सोहीकारण काठमाडौंका घर भत्काएर बाटो फराकिलो बनाउने काम हिम्मतका साथ अगाडि बढेको थियो।

इतिहासले झुम्राको फुटबलको ठाउँमा छालाको फुटबल त ल्यायो। तर खेलाडीहरूले छालाको फुटबल खेल्न आफूलाई योग्य प्रमाणित गर्न सकेनन् भन्ने जनताको बुझाइ रह्यो। त्यसकै कारण पछिल्ला निर्वाचनहरूमा जनमत बदलिएको पाइन्छ। 

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले नेपालबाट लोडसेडिङ हटाए। १८ घण्टासम्म लोडसेडिङको अन्धकार युगलाई समाप्त पार्ने काम अँध्यारो युगका सर्गनाहरूप्रतिको निरपेक्षता थियो। एमालेले सरकारका सादगी नेता तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी सरकारले ल्याएको ‘आफ्नो गाउँ, आफैं बनाऔं’ अभियान पनि निरपेक्षवादको उपज थियो। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धबाट स्थापित समावेशिता, संघीयता, आरक्षण प्रणाली र धर्म निरपेक्षताजस्ता उपलब्धि निरपेक्षतावादका उदाहरण हुन्। सम्पूर्ण राजनीतिक दलको सहकार्यमा स्थापना गरिएको लोकतान्त्रिक गणतन्त्र निरपेक्षवादको जल्दोबल्दो उदाहरण हो। अझ अघि जाने हो भने नेपाली कांग्रेसले राणा शासनविरुद्धको आन्दोलनको र पञ्चायती व्यवस्था विरोधी आन्दोलनको नेतृत्व लिनु पनि निरन्तरताविरुद्धको निरपेक्षतावादको उदाहरण हो।

इतिहासले झुम्राको फुटबलको ठाउँमा छालाको फुटबल त ल्यायो। तर खेलाडीहरू छालाको फुटबल खेल्न आफूलाई योग्य प्रमाणित गर्न सकेनन् भन्ने जनताको बुझाइ रह्यो। त्यसकै कारण पछिल्ला निर्वाचनहरूमा जनमत बदलिएको पाइन्छ। नेपाली जनताले ब्रान्डेड फुटबल त दिए अब खेलाडी पनि दिने छनक देखाएका छन्। यो निरपेक्षतावादको प्रयोग हो। हामीले द्वन्द्वात्मक भौतिकवाद त पढ्यौं। एरिस्टोटल, रुसो, सोक्र्याटस्, हेगेलका नियम पनि घोक्यौं तर व्यवहारमा चुक्यौं। किनकि कुनै पनि दर्शनको सार रूपान्तरण नै हो भन्ने शुद्धि सत्तासँगै सति गयो। मात्रात्मक परिवर्तनबाट गुणात्मक रूपान्तरण र निषेधको नियम भन्ने माक्र्सवादी आधारभूत सिद्धान्तको सार व्यहारमा कतै देखिएन। चरम व्यक्तिवादी केन्द्रीकृत संस्कारले शासकीय शैलीमा धावा बोल्यो। कुशलतापूर्वक ब्रान्डेड फुटबल खेलेर गेम जित्नुमा रूपान्तरण हुनुपर्ने भएन।

दुर्गमको चिया पसलेलाई युरोपको कथा मन पर्दैन। पसलेले कथामा आफू समेटिएको पाउँदैन। प्रवचन र व्याख्या व्यवहारमा मुखरित भएन भने त्यो ढोंग हो, बुद्धिविलास हो। यस्ता उदाहरणबाट यो प्रस्ट हुन आवश्यक छ कि समाजमा विद्यमान विकृति र विसंगतिविरुद्ध निर्मम रूपमा प्रस्तुत हुन सक्ने व्यक्ति या शक्ति निरपेक्ष शक्ति हो। अतः आर्थिक–सामाजिक विकास र रूपान्तरण निरपेक्षतावादी सिद्धान्तमा टिकेको हुन्छ। सापेक्षतामा नयाँ चिन्तनधाराको प्रविष्टि भेटिँदैन। यसमा विषयको निरन्तरतामात्र भेटिन्छ भने निरपेक्षतावाद नयाँ युग निर्माण गर्ने हुटहुटीको चाबी हो।

यस वर्षको बजेटलाई हेर्दा केही निरपेक्षताका झलक भेटिन्छन्। यथार्थभन्दा अलि पर गएजस्तो हामी सबैलाई लाग्दालाग्दै पनि निरपेक्षवादी सोचले त्यसो भन्दैन। निरन्तरतामा क्रमभंग भने जस्तै क्रमभंग नै होस्। सांसद विकास कोषमा जाने रकमको प्रयोजन राम्रो देखिएता पनि विकासको मोडल यस्तो हुनु हुँदैन। हाम्रो विकासको मोडल सन्तुलित कि असन्तुलित भन्नेसम्म निक्र्योल हुन सकिराखेको छैन। यस्ता खाले कार्यक्रमले दिने परिणाम भनेको निराशा नै हो। यस्तै प्रवृत्तिका कारण ऋणको पासोमा परेका छौं। हाम्रो विकासको बजेटभन्दा ऋण व्यवस्थापन खर्च ठूलो छ, पहिलोपटक। यो सबै सापेक्षिक बजेट नीतिको कारणबाट आएका परिणाम हुन्। तर केही कुरामा निरपेक्षता भेटिएको छ यसपटक। बजेटका दर्जनौं कार्यक्रमले देशमा पछिल्लो समयमा देखा परेको शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने मधुर संकेत सतहमा देखा परेका छन्। यो परम्परागत आर्थिक औजारमा आएको निरपेक्षतावादी सोचको उपज हो।

देश कतै रेमिट्यान्स रिपब्लिकतर्फ त जाँदैछैन ? भन्ने सन्देहको बीचबाट निरपेक्षतावादी प्रयोग देखा पर्नु सुखद कुरा हो। मुलुकलाई असफल राष्ट्र बनाउन उद्यत् हाम्रा उत्पादन सम्बन्ध र उत्पादन प्रणालीमा दुईवटा खोट देखिन्छन्। एक– जीवन र जगत्प्रतिको बुझाइमा कमी। अर्को, दलाली प्रवृत्ति। दलालवादले गर्दा देशको प्रचुर सम्भाव्यता भएका क्षेत्रहरू पर्यटन, उद्योग, कृषि, जैविक विविधता, जलविद्युत् आदिजस्ता क्षेत्रमा पर्याप्त विकास हुन सकिरहेको छैन। ‘अनुद्योगेन तिलव्य तैलानी नाप्ति मर्हतु’ अर्थात् उद्योगबिना तिलबाट तेल पनि आउँदैन भन्ने भनाइ अब उद्योग गर्नुभन्दा दलाली गर्नु भन्ने चिन्तनमा समाज प्रवेश गरिसकेको छ।

हामीले दार्शनिक शिक्षा र समयानुकूल कानुन निर्माण गरेर राष्ट्रसेवामा प्रतिबद्ध नागरिक उत्पादनमा ध्यान नदिइकन आमूल परिवर्तनको सपना नदेख्दा हुन्छ। अर्थतन्त्रमाथि अर्बौंको ऋण थोपर्ने गरी ल्याइएका प्रोटोकल सुविधाहरू अस्वीकार गर्दै नयाँ कानुन निर्माण गर्न दबाब दिनुपर्छ। देश निर्माणमा योगदान गरेकै भरमा अकुत सुविधा लिने र दिने व्यवस्था बन्द नै गर्नुपर्छ। देशमा भए गरेका कानुनलाई कडाइका 

साथ लागू गर्ने ल्याकत पनि निरपेक्षतावादी चिन्तनधाराले जन्माउँछ। नयाँ विचार, सिर्जना, शान्ति र सद्भावजस्ता उच्चकोटीका मानवीय गुणहरूको सम्पुष्टिको निम्ति परम्परागत मुर्कट्टा दलाली र आत्मकेन्द्रित वेनवादी प्रवृत्तिको खारेजी अनिवार्यमात्र होइन, अपरिहार्य भइसक्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.