राजनीतिको कुटेखेलो

राजनीतिको कुटेखेलो

राजनीतिक कुटेखेलो केही समय चल्ला पनि। बाँकी अरूका लागि त मोर्चा ‘जन्तीको ताँती’भन्दा बढी के होला ?

राजनीतिमा सदाबहार आकर्षणको केन्द्र र चर्चित व्यक्तित्व रहिरहनु ठूलो र गाह्रो कुरा हो। माओवादी केन्द्रका आजीवन अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल यो कोटीको नेता देखिए। नयाँनयाँ भूमिका उनका सोखका विषय रहेको पाइयो। प्रतिनिधिसभामा उनको पार्टीले केवल ३२ स्थानमात्र हासिल गर्न सक्यो। तापनि उनी २ सय ७५ सदस्यीय संघीय संसद्को नेता छन्, देशको प्रधानमन्त्री छन्। आफ्ना कटु आलोचक एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पट्याएर कांग्रेसलाई छक्याउँदै प्रधानमन्त्री पद गोज्याए। योबापत धोखा र विश्वासघातको उपहार दिए ओलीलाई।

छक्याएको कांग्रेसका काखमा फेरि लुटपुटिन पुगे, बेइमानीबापत आफ्नो कान पक्डिँदै। रूपमा उनी अहिले नेपाली कांग्रेसका राजनीतिक संरक्षक र भण्डारेजस्ता लाग्छन्। अर्थात् आजको मितिसम्म निकट अतीतका वरिष्ठ कांग्रेसी नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवासँग उनको ‘केमिस्ट्री’ औधी मिलेको देखिन्छ। विश्वासको यही ‘पैगाम’ लिएर उनी मागी निम्तोमा तीर्थाटनका लागि नयाँदिल्ली गए। त्यहाँ उनले माओवादी जनसेनाको सर्वोच्च कमान्डरको ‘वस्त्र’ परित्याग गरे। ‘आज्ञाकारी चेला’को रूपमा पिताम्बर धारण गरे। उज्जयनको महाकालेश्वर मन्दिरमा ‘प्रायश्चित’ गरेर फर्किए। प्रायश्चित कुन कर्मको हो ? उनैलाई थाहा होला।

महाकालेश्वरमा पूर्वजनमुक्ति सेनाका सर्वोच्च सैन्य कमान्डरलाई कस्तो वरदान मिल्यो ? स्वयं महाकालेश्वर बाबा वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक अरूलाई थाहा छैन। आमनेपालीलाई लागेको हो यो परिवर्तन– ‘महाकालेश्वर ट्रिट’ पछि ‘प्रचण्ड’ पुष्पकमल दाहालमा, तनको ‘लालसेना सर्वोच्च कमान्डरको सैन्य ड्रेस’ मनको पिताम्बरमा, लाल अर्थात् वामपन्थ पितृ अर्थात् मोदी पन्थमा। सायद मोदी चस्माबाट हेर्दा यस्तै देखिँदो हो मोदी इच्छा आकांक्षा त यहाँ आएर पनि पूरा गरियो– महाकालेश्वरको जल भोलेनाथलाई अर्पण गरेर।

तर दिल्ली तीर्थाटनको ‘तीर्थेभोज’ भक्तका पेटमा हजम नहँुदै उनको पीत चेहरामा लालीरंग छाउन थालिहाल्यो। तत्कालै उनमा यो रंग परिवर्तन संविधानको धारा ४ ‘समाजवाद उन्मुख’को प्रभाव हो वा सत्ताको तीव्र लालसा खुट्ट्याउन गाह्रो छ। यो चाहिँ निश्चित हो, उनमा छाएको यो लालीपन तनको मात्र हो, मनको होइन। राजनीतिको कखरासम्म जानेका जोकसैले बुझेका छन्। जहाँ एउटा झारफुके धामीले सयौं अनुयायीको ‘मार्केटिङ’ गर्छ। त्यो समाजमा प्रचण्डहरूको रातो आवरणले ‘राजनीतिक मार्केटिङ’ नगर्ला भन्ने छैन। लेख रातो आवरणमा प्रचण्डहरूद्वारा गठित समाजवादी मोर्र्चातर्फ परिलक्षित छ।

कांग्रेस–एमाले बेमेललाई भँजाएर दाहाल प्रधानमन्त्री भएका हुन्। देशको संवेदनशीलताको मध्यनजर कांग्रेस र एमालेबीच सहकार्य हुन्थ्यो भने उनको बजार मूल्य निर्धारण हुन्थ्यो। यो कुनै आग्रह वा पूर्वाग्रहयुक्त टिप्पणी होइन। दाहालले कांग्रेसको छातामुनि ओत लागेर गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन्। सैद्धान्तिक रूपमा यो गठबन्धन खिचडी जस्तो छ। यो खिचडीका वाम पार्टीहरू मोर्चाबन्दीका आधारमा एक ठाउँमा उभिएका छन् ‘समाजवादी मोर्चा’को ब्यानरमा। रमाइलो र विचारणीय यो छ– मोर्चा महŒवाकांक्षी थकितहरूको जमघटजस्तो लाग्छ। जो वामपार्टी सत्ता गठबन्धनमा छन्। ती आफ्नो हैसियत र शक्तिमा होइन, कांग्रेसको आशीर्वादमा छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र उपेन्द्र यादवको जनता समाजवादी पार्टी अस्तित्व, प्रभाव र जनसमर्थनको हिसाबले ओरालो यात्रामा छन्।

गत सालको पालिका, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यिनले जे जति जित हासिल गरे, त्यो कांग्रेससँगको सहकार्य र सत्ताको जोरबलमा हो। परिस्थिति र घटनाक्रम नै साक्षी छन्– २०६४ सालको संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादी त्यसपछि निरन्तर सरकारमा रहेर चुनाव लड्दै आएको छ। तर उसको अवस्था र जनप्रभाव के कस्तो छ ?

यदि सत्ताबाहिर रहेर माओवादी एक्लै चुनाव लड्थ्यो भने ?

केपी ओलीको निन्दा र गालीबापतको पारितोषिक स्वरूप खडा गराइएको माधव नेपाल–खनाल नेतृत्वको ए (समाजवादी)ले ‘ओली घृणा र निन्दा’को बजारै पाएन। आज जे जति छ– त्यो प्रचण्ड–देउवाको दया र आशीर्वादको प्रतिफल हो। यस्तै, प्रचण्डले निहित स्वार्थपूर्ति गरेर मझधारमा छाडेको भनिएको ‘नेपाली साम्यवादी क्रान्ति’लाई पूर्णता दिलाउन तम्सेका नेत्रविक्रम चन्द ‘विप्लव’को पाइन पनि नेपाली जनताले देखिसके। सायद अधुरो क्रान्ति पूरा गरेर उनी पनि प्रचण्ड छहारीमा सुस्ताउन पुगेका होलान्, महाकालेश्वर दर्शनको अभिलाषामा।

मोर्चाले प्रचण्ड महत्वात्कांक्षाको रोटी सेकिरहन या भनौं कांग्रेसलाई दबाबमा राख्न सत्तावृत्तभित्र केही त गर्ला। दाहालले आफूलाई नेपाली कम्युनिस्ट आन्दोलनको एकमात्र प्राधिकार भएको दाबी पनि गर्लान्। एकहदसम्म उनको राजनीतिक कुटेखेलो केही समय चल्ला पनि। तर एमालेलाई घेरेर निषेधको बिन्दुमा पुर्या‍उने वा ओलीलाई वामकित्ताबाट पाखा लगाउने धोको पूरा होला नहोला ? पर्खेर हेर्नैपर्ने हुन्छ। उपेन्द्र यादवको बन्दव्यापारलाई थोरबहुत मालपानी मिल्ला। बाँकी अरूका लागि मोर्चा ‘जन्तीको ताँती’भन्दा बढी के होला ?

मोर्चा साख र सत्ताको रक्षाकवच हुनेमा दाहाल विश्वस्त होलान्। तर बिरालाको बथानले कुन प्रयोजनका लागि काशीको बाटो तताउँदैछ भन्ने हेक्का अब मुसाले पनि राख्न थालेका छन्। परिस्थितिमा भ्वाङै परिसकेको छ, रफ्फुुले मात्र धान्ने अवस्थाले नेटो काटिसकेको छ। शब्दमा समाजवाद कुन नौलो कुरा भयो र ? संविधानले नै सिंगो राष्ट्रलाई ‘समाजवादउन्मुख’ करार गरेको छ।

यस मानेमा नेपाल नामको भूगोलभित्रका मान्छेको त कुरै आएन, ढुंगामाटो र हावापानी पनि समाजवादी ! अनि कुन प्रयोजनका लागि मोर्चा ? यदि यसको औचित्य सावित गर्न वर्तमान संविधान र गणतन्त्रलाई बीचमा घसारिन्छ भने त्योभन्दा ठूलो झुट र भद्दा मजाक अरू के होला ? यो यसकारण कि मोर्चाबन्द दाहाल कम्पनी संविधान र गणतन्त्रको पहरेदार होइन। केवल सत्तायाचक र सत्ताभोगी झुन्ड हो। यो आरोप होइन, उनीहरू स्वयंद्वारा निर्मित इतिहास स्वयंले यस्तै भाष्य निर्माण गरेको छ। मान्छेलाई चिन्ने बुझ्ने माध्यम उसैको इतिहास हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.