फेवाताल किनारमा आज र भोलि ड्रागन रेस फेस्टिभल

पोखरा : फेवाताल किनारमा आजदेखि दुई दिन ड्रागन रेस फेस्टिभल हुँदै छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखराको फेवाताल किनारमा ड्रागन रेस फेस्टिभल बिहान ९ बजेदेखि हुँदै छ।
पोखरा पर्यटन परिषद् र चाइना ओभरसीज एशोसिएसन महोत्सवको सहआयोजक रहेका छन्। चिनियाँ महोत्सवले चीनमा नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल पर्यटन बोर्डले जनाएको छ। महोत्सवपछि पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ ।
फेस्टिभलमा नेपाल र चीनका गरी १२० जना प्रतियोगिहरुको सहभागिता रहने बताइएको छ । दुई सय र पाँचसय मिटरमा गरि दुई भागमा आठ वटा डुंगाबाट रेस हुने छ । चीनबाट ल्याइएका चार वटा डुंगामा नेपाली र ४ वटा डुंगा चीनका प्रतिस्पर्धी रहने छन् । प्रतियोगितामा विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले बताएका छन् ।
महोत्सवमा नेपाल र चीन दुबै देशका सांस्कृतिक कार्यक्रमको साथै दुबै देशका विभिन्न खानाका परिकार प्रदर्शन हुने छ । कार्यक्रममा सहभागी हुन चीनको लिङजी सहरबाट नगरप्रमुख सहित ६० जनाको टोली पनि पोखरा आउने बताइएको छ ।
कोभिड संक्रमणपछि चीनले गत मार्च १५ देखि लागु हुने गरी चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्नो नागरिकलाई नेपाल घुम्न अनुमति दिएको थियो । योसँगै कोभिडपछि मार्च महिनादेखि चिनियाँ पर्यटक आउने क्रम सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस !
