फेवाताल किनारमा सुरु भयो ड्रागन रेस फेस्टिभल

पोखरा : फेवाताल किनारमा आजदेखि दुई दिन ड्रागन रेस फेस्टिभल सुरु भएको छ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखराको फेवाताल किनारमा फेस्टिभल सुरु भएको हो। पोखरा पर्यटन परिषद् र चाइना ओभरसीज एशोसिएसन महोत्सवको सहआयोजक रहेका छन्।
चिनियाँ महोत्सवले चीनमा नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल पर्यटन बोर्डले जनाएको छ। महोत्सवपछि पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ। फेस्टिभलमा नेपाल र चीनका गरी १२० जना प्रतियोगीहरूको सहभागिता रहने बताइएको छ।
दुइ सय र पाँचसय मिटरमा गरि दुई भागमा आठ वटा डुंगाबाट रेस हुने छ। चीनबाट ल्याइएका चार वटा डुंगामा नेपाली र ४ वटा डुंगा चीनका प्रतिस्पधी रहने छन्। प्रतियोगितामा विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले बताएका छन्।
महोत्सवमा नेपाल र चीन दुवै देशका सांस्कृतिक कार्यक्रमको साथै दुवै देशका विभिन्न खानाका परिकार प्रदर्शन गरिएको छ। कार्यक्रममा सहभागी हुन चीनको लिङजी सहरबाट नगर प्रमुख सहित ६० जनाको टोली पनि पोखरा आएको बताइएको छ।
पर्यटन मन्त्री सुदन किराँतीले ड्रागन रेस फेस्टिभलको माध्यमबाट दुई देशको संस्कृति, कला आदनप्रदान हुनुको साथै सम्बन्ध अझै प्रागाढ हुने बताए। चीनबाट पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण गरेर अन्तर्राष्ट्रिय उडानको सुरुवात गरेको पनि उनले बताए।
कार्यक्रममा बोल्दै चिनियाँ राजदूत ड्रागन रेस फेष्टिभल चीनको चौथो ठूलो पर्व भएको बताए। यो फेस्टिभल विश्वका विभिन्न देशमा मनाइदै आएको पनि उनले बताए। नेपाल र चीनको संस्कृति आदानप्रदान गर्न ड्रागन रेस फेष्टिभलको आयोजना गरिएको पनि उनले बताए।
दुई देशको सभ्यताको विकासका लागि पनि महोत्सव महत्वपूर्ण रहने उनले बताए। नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण रहने उनले बताए। नेपाल, सिंगापुर र चीनका खेलाडीको ड्रागन रेस फेस्टिभलमा सहभागी भएको पनि उनले बताए।
कार्यक्रममा बोल्दै पोखरा महानगरपाकिलाका मेयर धनराज आचार्यले ड्रागन रेस फेस्टिभल पछि चीनबाट ल्याइएका ८ वटा डुंगा महानगरलाई नै हस्तान्तरण गर्ने र प्रत्येक वर्ष पोखरामा ड्रागन रेस प्रतियोगिता आयोजना गरिने बताए।
यस्तो महोत्सवले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने पनि उनले सुनाए। ड्रागन रेस फेस्टिभल ओलम्पिकमा पनि सहभागी भएको खेल भएकाले पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण रहने पनि उनले बताए।
नेपाल पर्यटन वोर्डका प्रमुख डा धनन्ञ्जल रेग्मीले नेपालको पर्यटन प्रवर्द्धनमा महोत्सव महत्वपूर्ण रहने बताए। यसै गरी पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र समग्र नेपालकै पर्यटन प्रवर्द्धनका ड्रागन रेस फेस्टिभल महत्वपूर्ण रहने बताए।
डुंगा रेस प्रतियोगितामा चीनको सिचुवान र युनान, नेपालको नारा र एनआरएसीको टोली फाइनलमा पुगेको छ। महोत्सव अन्तर्गत भएको प्रतियोगिताको फाइनल शनिबार हुने छ।
कोभिड संक्रमण पछि चीनले गत मार्च १५ देखि लागु हुनेगरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्नो नागरिकलाई नेपाल घुम्न अनुमति दिएको थियो। योसँगै कोभिडपछि मार्च महिनादेखि चिनियाँ पर्यटक आउने क्रम सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस !
