ब्याडमिन्टनका दियो दीपक

ब्याडमिन्टनका दियो दीपक

 बानेश्वरको अमर आदर्श माविमा अध्ययन गर्दा दीपक थापा फुटबल र ब्याडमिन्टन खुबै खेल्थे। ६ कक्षादेखि ब्याडमिन्टन खेल्न थालेका उनी २०५० सालमा ब्याडमिन्टनको स्कुल च्याम्पियन बने। विद्यालयको मुलुकव्यापी टिम इभेन्टमा रजत पदक जितेका उनले बालकृष्ण थापा र नवीनविक्रम शाहले थालेको विरासत धानेका थिए। २०५० मै खुला ब्याडमिन्टन प्रतियोगितामा उनी उत्कृष्ट खेलाडी बने। त्यसपछि प्रशिक्षक किरण थापाले उनलाई प्रशिक्षणमा बोलाए। उपत्यकाव्यापी प्रतियोगितामा पनि दीपक सर्वश्रेष्ठ खेलाडी बने। पूर्वफुटबलर राजेश मानन्धरले उनलाई फुटबलमै लाग्न भने। उनी फुटबल रोज्ने कि ब्याडमिन्टन ? दोधारमा थिए।

रामजीबहादुर श्रेष्ठले भने ब्याडमिन्टन नछाड्न सुझाव दिए। लगत्तै दीपकले विश्व पर्यटन दिवसमा आयोजित प्रतियोगितामा चर्चित खेलाडी पारसबहादुर सिंहलाई पराजित गरे। उनको चर्चा एकाएक चुलियो। प्रमुख अतिथि तत्कालीन पर्यटन तथा नागरिक उडड्यनमन्त्री रामहरि जोशीले स्याबासीसहित पुरस्कार दिएको दीपकलाई अहिलेजस्तो लाग्छ। ‘मलाई अगाडि बढ्न थप प्रेरणा दियो। अझै राम्रो खेल्नुपर्छ भन्ने लाग्यो’, दीपक सम्झन्छन्। ब्याडमिन्टन वल्र्ड म्यागजिनले ‘राइजिङ स्टार’का रुपमा उनको चर्चा गरेको थियो।

सन् १९९६ मा भारतको बैंगलोरको प्रकाश पादुकोणे ब्याडमिन्टन एकेडेमीले आयोजना गरेको बीपीएल अल इन्डिया ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुने अवसर पाए। जहाँ उनले आफूलाई अझै निखार्ने मौका पाए। त्यही वर्ष विराटनगरको रानीमा सञ्चालित शुभजन्मोत्सव खुला ब्याडमिन्टन प्रतियोगितामा जुनियर सिंगलमा स्वर्ण, डबल्समा रजत पदक जिते। त्यहाँ उनी उत्कृष्ट खेलाडी घोषितका भए।

चोटले मोडियो बाटो  :  घरेलु प्रतियोगिता खेल्ने क्रममा दीपकले चोट बोक्न पुगे। खुट्टामा समस्या देखिएपछि उनी पढाइका लागि भारतको बैंगलोर पुगे। कलेजमा भइरहने खेलकुद कार्यक्रमले उनलाई आकर्षित गरिरहन्थ्यो। खुट्टामा समस्या हुँदाहुँदै उनले कलेजका धेरै प्रतियोगितामा प्रतिस्पर्धा गरे। उनी कलेजको फुटबल र ब्याडमिन्टन टिमका कप्तान पनि थिए। खुट्टाको चोट झनै बल्झिपछि उनी फुटबल र ब्याडमिन्टन खेल्न नसक्ने भए। त्यसपछि ब्याडमिन्टनमा निर्णायक बन्ने निर्णय गरे। त्यसको सुरुआत नेपाल ब्याडमिन्टन संघले आयोजना गरेको विद्यालयस्तरीय प्रतियोगिताबाट गरे।

अन्तर्राष्ट्रिय यात्रा भने उनको सन् २०११ बाट सुरु भयो। बंगलादेशको ढाकामा बंगलादेश इन्टरनेसनल च्यालेन्जअन्तर्गत अम्पायर डेभलपमेन्ट परीक्षामा सहभागी भए। ब्याडमिन्टन एसियाले लिएको सर्टिफिकेसन्स कोर्समा उत्कृष्ट भएपछि उनको अन्तर्राष्ट्रिय यात्रा सुरु भएको हो। सन् २०१३ मा बंगलादेशमै भएको इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जमा पनि उनी निर्णायक बनेका थिए।

सन् २०१४ मा चीनको तोङवानमा भएको एसियन जुनियर च्याम्पियनसिपमा सहभागी भए। त्यहाँ उनले ब्याडमिन्टन एसियाका एक्रिडिटेसन कोर्स पनि गरे। यस्तै सन् २०१६ मा चीनको बुहानमा ब्याडमिन्टन एसियाले आयोजना गरेको सर्टिफिकेसन्स कोर्समा उत्कृष्ट भए। यस्तै सन् २०१८ मा वल्र्ड ब्याडमिन्टन फेडरेसनले दक्षिण कोरियाको गोन्जुमा गरेको मेन्टरसिप कोर्स पनि पूरा गरे। 

ओलम्पिकमा लाइनजज  :  दीपकले सन् २०१५ देखि २०१८ सम्म वल्र्ड ब्याडमिन्टन फेडरेसन (बीडब्लूएफ) को लाइनजर्जका रूपमा काम गरे। लाइनजर्ज भएर काम गर्दा विश्वस्तरीय खेल कसरी सञ्चालन गर्ने, जर्जको प्रस्तुति कस्तो हुनुपर्ने भन्ने बारेमा जान्न पाएको दीपक बताउँछन्। ‘लाइनजर्ज भएर काम गर्दा विश्वस्तरीय खेल कसरी सञ्चालन गर्ने भनेर जान्ने र बुझ्ने मौका पाएँ’, उनी भन्छन्, ‘यसले अम्पायरिङमा धेरै नै सहयोग पुर्‍यायो।’ उनले स्कटल्यान्डमा वल्र्ड टिम च्याम्पियनसिप र वल्र्ड च्याम्पियनसिप तथा चीनमा सुधीरमान कपमा विश्वका उत्कृष्ट निर्णायकसँगै काम गरेका थिए। यसैगरी सन् २०१६ मा ब्राजिलमा आयोजना भएको रियो ओलम्पिकमा उनले लाइनजर्जको भूमिका निर्वाह गरेका थिए। उनी एसियाको कोटाबाट रियो ओलम्पिकमा लाइनजज बनेका हुन्।

विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिकमा निर्णायकको भूमिका निर्वाह गर्ने उनी पहिलो नेपाली हुन्। सन् २०१७ मा उनले नेपालमा भएको नेपाल इन्टरनेसनल सिरिज, दक्षिण कोरियामा भएको बीडब्लूएफ सुपर सिरिज तथा कोरियन मास्टर्स च्याम्पियनसिप, स्कटल्यान्डमा भएको बीडब्लूएफ वल्र्ड च्याम्पियनसिप, सन् २०१८ मा फ्रान्सको पेरिसमा सम्पन्न फ्रेन्च ओपन, भारतमा भएको इन्डियन ओपन, सन् २०१८ मै नेदरल्यान्डमा भएको डच ओपन, नेपाल इन्टरनेसनल सिरिज, दक्षिण एसियाली यू–१८ च्याम्पियनसिप, बंगलादेश इन्टरनेसनल च्यालेन्ज र भारतको हैदराबादमा भएको हैदराबाद ओपनमा निर्णायकको भूमिका निर्वाह गरे। 

सन् २०१९ मा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा निर्णायकको भूमिका निर्वाह गरेका दीपकले सम्पूर्ण निर्णायकका तर्फबाट शपथ लिएका थिए। खेलकुदमा आफ्नो समर्पणको कदर गर्दै राज्यले यो अवसर दिएको उनी बताउँछन्। सन् २०१९ मै अस्ट्रेलियन ओपन, भियतनाम इन्टरनेसनल च्यालेन्ज, सन् २०२० मा फिलिपिन्सको मनिलामा भएको ब्याडमिन्टन एसिया टिम च्याम्पियनसिप, २०२२ मा थाइल्यान्ड पारा ब्याडमिन्टन च्याम्पियनसिपमा कुशलतापूर्वक निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। उनी विश्व ब्याडमिन्टनकै सबैभन्दा माथिल्लो श्रेणीका प्रतियोगितामा अम्पायरिङ गर्ने नेपालकै पहिलो र अहिलेसम्म एक्लो व्यक्ति पनि हुन्।

खेलाडी उत्पादनका लागि काठमाडौं ब्याडमिन्टन एकेडेमी  :  दीपक पछिल्लो समय काठमाडौं जिल्ला ब्याडमिन्टन संघको नेतृत्वमा छन्। खेलाडी हुँदै ब्याडमिन्टनको नेतृत्व तहमा पुगेका दीपकले काठमाडौं ब्याडमिन्टन एकेडेमी पनि सञ्चालन गरेका छन्। तीन वर्षअघि पूर्वराष्ट्रिय च्याम्पियन रीता विष्टको अध्यक्षतामा काठमाडौं ब्याडमिन्टन एकेडेमी सञ्चालन गर्दै आएका छन्। उनी एकेडेमीका सचिवको भूमिकामा छन्।

काठमाडौं ब्याडमिन्टन एकेडेमीले बालबालिकालाई ब्याडमिन्टनको प्रशिक्षण गराउँदै आएको छ। एकेडेमीका बालबालिकाले पढाइसँगै ब्याडमिन्टनको प्रशिक्षण पनि लिँदै आएका छन्। एकेडेमी दुई स्थानमा सञ्चालन हुँदै आएको छ। काठमाडौंको मूलपानी र बानेश्वरमा एकेडेमी सञ्चालनमा छ।

सम्मान तथा विभूषण  :  दीपकलाई २०७५ मा युवा तथा खेलकुद मन्त्रालयले एक लाख रुपैयाँ पुरस्कारसहित खेलकुद प्रतिभा पुरस्कारबाट सम्मान गरेको थियो। २०७६ मा नेपाल सरकारका तर्फबाट देशको नाम उच्च बनाउन योगदान पुर्‍याएबापत सुकीर्ति पदकबाट विभूषित भए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.