प्रधानमन्त्री दाहालले गरे एक्सन रुमबाटै सुनकोशी–मरिण डाइभर्सनको निरीक्षण

प्रधानमन्त्री दाहालले गरे एक्सन रुमबाटै सुनकोशी–मरिण डाइभर्सनको निरीक्षण
तस्बिर : प्रधानमन्त्री दाहालको कमरेड प्रचण्ड फेसबुक वालबाट ।

सिन्धुली : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्'डले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको निर्माण प्रक्रियाबारे एक्सन रुमबाट जानकारी लिएका छन् ।  बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’ बाटै प्रधानमन्त्री दाहालले सुनकोशी मरिण डाइभर्सन र भेरी–बबई डाइभर्सन आयोजनाको भौतिक प्रगति र त्यहाँका वर्तमान अवस्थाका बारेमा जानकारी दिएका हुन् । 

सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार प्रधानमन्त्री दाहालले पहिलो पटक आयोजनाको पछिल्लो अवस्थाबारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्री दाहाल गत जेठ २८ गते सुनकोशी मरिण डाइभर्सनको स्थलगत अवलोकन तथा ड्यामको शिलान्यास गर्न सिन्धुली आउने कार्यक्रम तय भएपनि एकाएक रोकिएपछि दाहालले ‘एक्सन रुम’ बाटै भएपनि आयोजनाबारे जानकारी लिएका हुन् ।

उक्त अवसरमा प्रधानमन्त्री दाहालले आयोजनाको अनुगमन,निरीक्षण तथा आवश्यक निर्देशन समेत दिएको बताइएको छ ।  यो सुरुङ खन्ने कामको प्रगति लक्ष्यभन्दा बढी भएको हो । १३ दशमलव ३ किलोमिटर लामो सुरुङमध्ये सुरु भएको नौ महिनामै कूल सात दशमलव ०९६ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । गत असोज २८ गतेदेखि टनेल बोरीङ मेसिन (टिबिएम) मार्फत आयोजनाको सुरुङ निर्माण सुरु भएको थियो ।

यही रफ्तारमा सुरुङ निर्माण भएमा तोकिएको २२ महिनाको अवधि अगाबै निर्माण सम्पन्न हुनेछ । हाल टीबीएम मेसिन कमलामाई नगरपालिका २ कुसुमटारबाट सुरुङ खन्न सुरु गरी सुनकोसीतर्फ अघि बढिरहेको छ । यसअघि दुई पटक समस्या आएर ३५ दिन काम रोकिएको थियो । 

अघिल्लो आर्थिक वर्षसम्म ९ प्रतिशत भौतिक प्रगति रहेकोमा ११ महिनाको अवधिमा बढेर २१ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । सुरुङको प्रगति भने ५४ प्रतिशत सम्पन्न भएको छ।

कमलामाई नगरपालिका वडा नम्बर २ को धनमना क्षेत्र पार गरेर महाभारत रेन्जमा पुगेको सुरुङ महाभारत क्षेत्रमा कडा चट्टान हुने भएकाले समस्या आउन सक्ने आयोजना प्रमुख बरालको भनाइ छ ।
सुनकोसीमा हेडवक्र्स निर्माणको ठेक्का सम्झौता भइ निर्माण व्यवसायीले क्याम्प निर्माण सुरु गरेका छन भने उच्च प्रविधिबाट ५/५ डायमिटरको सुरुङ निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले ठेक्का पाएको हो । 

सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपैयाँमा ठेक्का पाएको छ । हालसम्म आयोजनाले ६ अर्ब १ करोड २७ लाख खर्च गरेको छ । खुर्कोटमा सुनकोसी नदीमा १६ मिटर उचाइको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालिने छ ।

आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ । आयोजनाबाट ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गरिने छ  । 

प्रधानमन्त्री दाहालले एक्सन रुमबाट भेरी–बबई डाइभर्सन आयोजनाको समेत निरिक्षण गरेका छन् ।  भेरी–बबई डाइभर्सन आयोजनाको विसं २०७७ मा नै कूल १२ दशमलव दुई किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरि हाल बाँधस्थल र विद्युत गृह  निर्माण  कार्य जारी छ । 

भेरी–बबई डाइभर्सन आयोजना अन्तरगत भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियाका कूल ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ तथा ४६ मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
डाइभर्सनको निरीक्षणका क्रममा प्रधानमन्त्री दाहाल,उर्जा मन्त्री शक्तिबहादुर बस्नेत तथा मुख्य सचिव डाक्टर बैकुण्ठ अर्याल समेत सहभागी थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.