कर्णालीमा एमालेलाई एक नम्बर पार्टी बनाउँछु : एमाले सचिव भट्ट
वीरेन्द्रनगर : एमाले सचिव एवं कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्टले एमालेलाई एक नम्बर पार्टी बनाउने संकल्पसहित आफू कर्णाली आएको बताएका छन्।
जनवर्गीय संगठनको प्रदेशस्तरीय बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आत्मकेन्द्रित सोच त्यागेर पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।
इञ्चार्ज भट्टले जनवर्गीय संगठन पार्टीको कच्चा पदार्थ भएको र परिपक्व बनाएर पार्टीमा पठाउने धारणा राखे। ‘जनवर्गीय संगठनको बजार नै पार्टी हो, जनवर्गीय संगठन पार्टीको कारखाना हुन्,’ उनले भने, ‘संगठनका सदस्यहरूले पनि आफूलाई केन्द्रमा नराखी पार्टी कसरी बनाउने भन्ने सोच्न जरुरी छ।’
पार्टी केन्द्रले पठाएका अन्तरपार्टी निर्देशन, दस्तावेजहरू जनवर्गीय संगठनका हरेक सदस्यले पढ्न जरुरी रहेको उनको भनाइ थियो।
बैठकमा जनवर्गीय संगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले नेतृत्वको भर्त्सना गरेर मात्र नेता भइन्छ भन्ने सोच त्याग्न आग्रह गरे। कुण्ठा पोख्ने, अराजकता प्रर्दशन गर्ने शैलीबाट पार्टी नबन्ने भन्दै ढकालले भने, ‘जनवर्गीय संगठनहरूले कार्यशालामार्फत आफ्नो संगठनका मुद्दाहरूको पहिचान गरी जनतासंग जोडिनुपर्छ, पार्टी नीति र नेतृत्वको सदैव रक्षा गर्नुपर्छ।'
पार्टी केन्द्रीय सदस्य एवं स्कूल विभागको प्रदेश समन्वय इन्चार्ज विष्णु रिजालले ‘पपुलिज्म’ले पार्टी र युवा पुस्तामा पारेको प्रभावलाई निस्तेज पार्नु अहिलेको मुख्य चुनौती रहेको औंल्याए।
पार्टीले मिसन ग्रासरुटपछि जनसंगठन, पार्टी स्कूल र प्रचारको कामलाई व्यवस्थित गर्न विशेष कार्ययोजनाका साथ काम अघि बढाउने निर्देशन दिएको बताउनुका साथै उनले पार्टी स्कूल विभागले कर्णाली प्रदेशमा ४० जना प्रशिक्षक उत्पादन गरी पार्टी कार्यकर्तालाई सैद्धान्तिक र वैचारिक प्रशिक्षण दिने योजना रहेको सुनाए।
अर्का केन्द्रीय सदस्य निरज आचार्यले पार्टी प्रचार संगठनलाई पालिका तहसम्म पुर्याउनुपर्ने बताए। प्रदेश प्रचार विभागको इन्चार्ज समेत रहेका उनले यही असार २८ गते प्रदेश प्रचारको कार्ययोजना बनाउन बैठक बस्ने र उक्त बैठकले पालिका तहसम्म पुगेर प्रचार विभाग गठन गरी प्रचारको काम गर्ने जानकारी दिए।
बैठकमा कर्णाली प्रदेशमा क्रियाशील २० वटा जनवर्गीय संगठनका इञ्चार्ज/अध्यक्षहरू तथा संगठनका जिल्ला संयन्त्र संयोजकहरूले रिर्पोटिङ गरेका थिए। जनवर्गीय संयन्त्रको बैठकको अध्यक्षता एमाले प्रदेश कमिटी उपसचिव एवं संयन्त्रका संयोजक टेकराज पछाई, सञ्चालन अनेरास्ववियूका इञ्चार्ज रुद्र शाही र संयन्त्रका प्रदेश इञ्चार्ज गुलाबजंग शाहले बैठकका उद्देश्यमाथि प्रकाश पारेका थिए।
प्रतिक्रिया दिनुहोस !