बाढी–पहिरोबाट फालेलुङमा २१ करोड बढीको क्षति

बाढी–पहिरोबाट फालेलुङमा २१ करोड बढीको क्षति
हेंवा खोलास्थित फालेलुङ ३ र ५ लाई जोड्ने सास्टारमा बाढीले बगाएको पुलको भग्नावशेष। तस्बिर : भीमकुमार बाँस्कोटा
सुन्नुहोस्

फिदिम : असार २ गते रातिको बाढी–पहिरोले पाँचथरको फालेलुङ गाउँपालिकामा मात्रै करोडौंको भौतिक संरचना र कृषियोग्य जमिनमा क्षति पुयाएको छ। जिल्लामा सबैभन्दा धेरै बाढीले फालेलुङमा क्षति पुर्‍याएको हो। 

बाढी–पहिरोले २१ करोड ३७ लाख ८५ हजार बराबरको क्षति भएको क्षति अनुगमन समितिका संयोजक रणजित आङ्बुहाङले जानकारी दिए। ‘यो न्यूनतम विवरण हो,’ आङ्बुहाङले भने, ‘प्राविधिकहरूको सहयोगमा क्षतिको विवरण निकालिएको हो।’

हेंवा खोलामा आएको बाढीले सात करोड बराबरको दुई वटा पक्की पुल भत्काएको छ। थप अर्को पक्की पुलमा आंशिक क्षति हुँदा मर्मतका लागि दुई करोड आवश्यक पर्ने प्राविधिकले जनाएका छन्। चार वटा झोलुङ्गे पुल भत्किएका छन्। जसमध्ये ६० लाख लागतको एउटा पुल पूर्णरूपमा भत्किएको हो। थप तीन वटा पुल आंशिक रूपमा भत्कँदा ७५ लाख क्षति भएको हो। 

सिंचाईका लागि निर्माण गरिएका आठ वटा कुलो भत्किँदा तीन करोडको क्षति भएको हो। एउटा खानेपानी आयोजना पहिरोले बगाउँदा ७५ लाख १० हजार र तीन किलोमिटर बाटो भत्कदा ४५ लाखको क्षति भएको अनुमान छ। 

त्यस्तै, चार करोड बराबरको आठ वटा कजवे पहिरोले बगाएको हो। आठ सय रोपनी खेतीसहितको जमिन बाढी–पहिरोले बगाउँदा एक करोड ६० लाखको क्षति भएको हो। ४० किलोवाट क्षमताका तीन वटा लघू जलविद्युत् पहिरोले बगाउँदा ३० लाखको क्षति भएको हो। पहिरोले तीन वटा विद्यालयमा १० लाख बराबरको क्षति पुर्‍याएको छ। 

बाढी–पहिरोमा परी सयौंको संख्यामा पशु चौपाया मरेका छन्। जसका कारण किसानलाई १७ लाख ७५ हजार बराबरको नोक्सान भएको छ। पहिरोले पाँचवटा घर पूर्ण रूपमा भत्काउँदा १५ लाख र आंशिक रूपमा भत्किएका ३० घरमा ३० लाख बराबरको क्षति भएको छ। 

‘हाम्रो पालिकामा विगतमा पनि बाढी पहिरोले क्षति गरेको थियो,’ गाँउपालिका अध्यक्ष बिरबिक्रम थाम्सुहाङले भने, ‘तर यसपटक सारै धेरै भौतिक संरचनामा क्षति पुगेको छ। यस्तो क्षतिको सामना फालेलुङले कहिल्यै गर्नुपरेको थिएन।’ बाढीले हेंवा खोलामा निर्माण गरिएका सबै पुलहरू पनि बगाएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.