'नेपालमा प्रधानमन्त्री दिल्लीले बनाउँछ कि संसदले?'
काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालको प्रधानमन्त्री संसदले बनाउँछ कि दिल्लीले भन्दै प्रश्न गरेका छन्। संसद बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले नेपालीको शीर निहुरिएको बताए।
प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको किताब विमोचनको क्रममा सिंहले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको र पटक-पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए।
पन्तले प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिए। 'यतिबेला नेपालीको मनमा आघात पुगेको छ। सम्मानीय प्रधानमन्त्री भनौं कि नभनौं भइरहेको छ। हाम्रो मनमा बादल लागेको छ। नेपालीको स्वाभिमान गिरेको छ। नेपालीहरू रोएको छ,' उनले भने।
उनले नेपालीहरू वीर सपुतहरूको सन्तान रहेको भन्दै प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो हुन नसक्ने बताए। 'हामी भक्ति थापा, अमर सिंह, वलभद्र कुँवरको सन्तान हौं। के प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो कुरा हो? यदि होइन भने नैतिकताको आधारमा प्रधानमन्त्रीमा बस्नु हुँदैन। राजीनामा दिनुस्,' सांसद पन्तले भने।