तीनपाटन गाउँपालिकाको बजेट ७९ करोड ९० लाख
सिन्धुली : सिन्धुली जिल्लाकै सबैभन्दा ठूलो तीनपाटन गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७९ करोड ९० लाख २३ हजार रहेको छ।
गाउँपालिकाको १२ औं गाउँसभा तथा अधिवेशनबाट नीति तथा कार्यक्रमसहित उक्त बजेट पास गर्दै सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष कर्ण थापाले जानकारी दिए।
सभामा अध्यक्ष थापाले पेश गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष अशोक पुलामीले पेश गरेको ७९ करोड ९० लाख २३ हजारको बजेट सर्वसम्मते पास गरेको हो।
गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारका कार्यक्रमलाई प्राथमिकता दिएको छ। ‘यस्तै भौतिक पूर्वाधार खानेपानी लगायतका क्षेत्रमा समेत प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ,’ अध्यक्ष थापाले भने।
गाउँपालिकाको विनियोजन विधेयक २०८०, तीनपाटन गाउँपालिकाको आर्थिक विधेक २०८० लाई सर्वसम्मत रूपमा पारित गर्दै १२ औं गाउँसभा तथा अधिवेशन सम्पन्न भएको समेत थापाले जानकारी दिए।
यस्तै तीनपाटन गाउँपालिकाको नागरिक उपचार सहायता कोष परिचालन विधेक २०८०, तीनपाटन गाउँपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०८० समेत सभाको बैठकबाट सर्वसम्मत रूपमा पारित भएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को सर्वोत्कृष्ट कर्मचारीको रुपमा योजना तथा अनुगमन शाखाका कर्मचारी (सहायक पाँचौंस्तर) का सुरेश कुमार बराल र उत्कृष्ट कर्मचारीका रूपमा पशुसेवा शाखाका नापसेप्रा सहायक चौथो रामबहादुर बस्नेतलाई पुरस्कृत गरेको छ।
उनीहरूलाई क्रमशः एक महिना र आधा महिना बराबरको तलब रकमले पुरस्कृत गर्ने निर्णय भएको हो। न्यायिक समिति, अनुगमन समितिको वार्षिक प्रतिवेदन लगायत अन्य प्रशासनिक विषयमा समेत महत्वपूर्ण निर्णय गरिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !