जातीय विभेद र छुवाछुत अन्त्य सबैको साझा दायित्व : सभामुख अर्याल


काठमाडौं : सभामुख डोलप्रसाद (डीपी) अर्यालले जातीय विभेद र छुवाछुतविहीन समाज निर्माण गर्दै हरेक नेपालीको मर्यादा, स्वाभिमान र समान अधिकारको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा दलित आयोगले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले दलित समुदायको अधिकार संरक्षण र प्रवद्र्धनमा थप सक्रिय भूमिका निर्वाह गर्दै जातीय विभेद र छुवाछुतविहीन समाज निर्माणमा लाग्नुपर्ने बताए ।
दलित समुदायले भोग्दै आएको समस्या, पीडा र चुनौतीप्रति पूर्णरूपले सचेत रहेको भन्दै उनले समस्याको गम्भीरतालाई महसुस गर्दै संसद यसको समाधानका लागि प्रतिबद्ध रहेको धारणा राखे ।

जातीय विभेद र छुवाछुतको अन्त्य केवल सरकार, आयोग वा कुनै एक निकायको जिम्मेवारी मात्र नभई राज्य, राजनीतिक दल, नागरिक समाजलगायत सबैको साझा दायित्व भएको उनले बताए । सभामुख अर्यालले सामाजिक चेतना, कानुनी कार्यान्वयन र आर्थिक सशक्तिकरण नभएसम्म पूर्ण परिवर्तन ल्याउन कठिन रहेको जिकिर गरे ।

दलित समुदायको मूल प्रवाहीकरण, सशक्तिकरण तथा समान सहभागिताका लागि आवश्यक कानून निर्माण, संशोधन र कार्यान्वयनको विषयमा संसद पूर्णरूपले गम्भीर रहेको समेत उनले बताए । कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले छुवाछुत, भेदभाव जस्तो गम्भीर अपराधको अन्त्य नहुँदासम्म सामाजिक न्याय प्राप्ति सम्भव नहुने बताइन् ।

समग्रमा छुवाछुत, भेदभाव लोकतान्त्रिक र न्यायिक समाजको बाधक भएकाले अन्त्यका लागि हातेमालो गर्दै सशक्त अभियान सञ्चालन गर्न उनले अपील गरिन् । उनले दलित, अति सीमान्तरकृत, पछाडि पारिएका समुदायको संरक्षण र सशक्तिकरण र विकासको लागि मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताइन् ।

नेपालमा दलित समुदायमाथि हुँदै आएको जातीय भेदभाव तथा छुवाछूत प्रथाको अन्त्य गर्ने प्रणसहित २०६३ साल जेठ २१ गते तत्कालीन व्यवस्थापिका संसद्ले ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरेको थियो । उक्त दिनको स्मरणमा त्यसयता नेपालमा हरेक वर्ष जेठ २१ मा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउने गरिएको छ । सरकारले जातीय विभेद र छुवाछुत अन्त्यको घोषणा गरे पनि समाजमा दलित समुदायमाथि अझै पनि विभेद र बहिष्करण भोग्दै आएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.