किन हटेन संसद्को अवरोध ?

किन हटेन संसद्को अवरोध ?
सुन्नुहोस्

काठमाडौं : ठूला तीन दलका नेता आइतबार प्रधानमन्त्रीले ‘आत्मालोचना’सहित संसद्मा बोल्ने र विपक्षी एमालेले अवरोध नगर्ने सहमति गरी सिंहदरबारबाट छुट्टिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्को अवरोध हटाउने सहमति जुटेको खबर संसद् भवन बानेश्वरमा रहेका सांसदहरूबीच पनि पुग्यो। 

एमाले अध्यक्ष ओली एकछिनपछि संसद् भवन पुगे। त्यहाँ रहेका एमाले नेताहरूले प्रधानमन्त्रीको सचिवालयबाट प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा जारी प्रेस विज्ञप्ति ओलीलाई दिए। भ्रष्टाचारका ठूल्ठूला घटनालाई सरकारले अघि बढाएका कारण विपक्षीले संसद् अवरोध गरेको भन्ने विज्ञप्तिको भाषालाई लिएर ओली आक्रामक बने। उनले तुरुन्तै दाहाललाई फोन गरे। प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिबारे पनि संसद्मा स्पष्ट पार्नुपर्ने माग दाहालसँग गरे। 

तर, दाहालले उक्त प्रेस विज्ञप्तिबारे ‘सकारात्मक’ जवाफ दिएनन्। त्यसपछि ओलीले सचिवालयको विज्ञप्तिबारे पनि स्पष्ट नभई संसद् अवरोध खुल्न नसक्ने ‘चेतावनी’ दिए। दाहालले एमालेको चेतावनीपछि सभामुख देवराज घिमिरेलाई फोन गरी प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित गरिदिन आग्रह गरे। 

‘प्रधानमन्त्रीको अभिव्यक्तिले देशकै शिर निहुरियो भनेर एमालेले संसद् अवरोध गरेको हो,’ एमालेका एक शीर्ष नेताले भने, ‘प्रधानमन्त्रीको सचिवालयले त भ्रष्टाचारीलाई जोगाउन एमालेले संसद् अवरोध गरेको भनेर उल्टै हामीमाथि संगिन आरोप लगाएर विज्ञप्ति जारी गरेको रहेछ। प्रतिपक्षीमाथि यति गम्भीर आरोप लगाउँदा हामी चुप बस्न सक्छौं त ?’ सचिवालयले जारी गरेको विज्ञप्तिबारे प्रधानमन्त्रीले स्पष्ट नपारेसम्म संसद्को अवरोध नफुक्ने एमालेका ती नेताले बताए। 

भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली धाएको भन्ने दाहालको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गर्दै आएको छ। सिंहदरबारमा भएको तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्रीले ‘आत्मालोचनासहित आफ्नो अभिव्यक्ति सच्याउने’ र एमालेले संसद्को अवरोध फिर्ता लिने सहमति जुटेको थियो। 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले तीन शीर्ष नेताबीचको कुराकानीमा प्रधानमन्त्रीले आत्मालोचनासहित स्पष्टीकरण दिने सहमतिपछि एमाले संसद् सुचारु गर्न सहमत भएको सुनाए। तर, प्रधानमन्त्रीले आफ्नो सचिवालयको विज्ञप्तिका विषयमा स्पष्ट गर्न समय माग गरेपछि संसद् बैठक अर्को दिन सारिएको ज्ञवालीले बताए।

एमालेकै प्रमुख सचेतक पदम गिरीका अनुसार शीर्ष नेताहरूबीच छलफल हुँदा प्रधानमन्त्रीले ‘भविष्यमा यस्तो नदोहोरिने आश्वस्त पार्छु’ भने। ‘मौका दिऊँ भनेर सहमति भयो तर उहाँ आफैंले संसद् सार्नुभयो’, उनले भने। गिरीका अनुसार प्रधानमन्त्रीका प्रेस सल्लाहार गोविन्द आचार्यले निकालेको विज्ञप्तिका विषयमा पनि क्षमायाचना गर्नुपर्ने सर्त एमालेले राखेपछि संसद् सारिएको हो। त्यस विज्ञप्तिमा मिटरब्याजीको समस्या समाधान गर्ने विधेयक पारित हुने स्थिति रोक्न एमालेले संसद् अवरुद्ध गरेको उल्लेख गरिएको थियो। यस्तो अशोभयनीय र गैरजिम्मेवार विज्ञप्तिका विषयमा पनि जवाफ दिनुपर्ने अडान एमालेले राखेको हो। 

‘पार्टी अध्यक्षले विज्ञप्तिबारे फोनबाट यसलाई पनि सम्बोधन गर्नुपर्छ भन्नुभयो। पछि प्रधानमन्त्री स्वयंले सभामुखलाई संसद् सार्न विज्ञप्ति निकाल्न भन्नुभयो’, गिरीले भने। 

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बीचमा सहमति भए पनि प्रमुख प्रतिपक्ष दलको नेता सहमतिबाट पछाडि हटेको बताए। ‘शीर्ष नेताहरूबीच संसद्को अवरोध हटाउने सहमति भएको कुरा आएको थियो। तर, उहाँ पछाडि हट्नु भो’, उनले भने। के कारणले पछि हटे भन्ने प्रश्नमा पाण्डेले भने, ‘प्रधानमन्त्रीको स्वकीय सचिवालयले निकालेको प्रेस नोटको कुरा उठाएर रोकियो।’ 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले जवाफ दिने र संसद् खुलाउने सहमति भए पनि एमालेलाई ‘अरू’ जवाफ चाहिएको बताए। ‘एमालेलाई जवाफ पुगेन’, उनले भने।  

प्रधानमन्त्री आफैंले संसद् बैठक सारेको राप्रपा सचेतक ज्ञानेन्द्र शाहीले बताए। ‘आज (आइतबार)को बैठक प्रतिपक्षले सारेको होइन। बैठकमा जवाफ दिन समय माग्नुभो। विपक्षले रोकेको होइन्। के जवाफ आउँछ भनेका थियौं, रोकियो’, उनले भने। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.